पाल्पा रामपुरका किसानलाई अनुदानमा धानको बिउ

हिमाल प्रेस २४ जेठ २०८० ७:१७
8
SHARES
पाल्पा रामपुरका किसानलाई अनुदानमा धानको बिउ फाइल तस्बिर।

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बिउ वितरण गरेको छ। धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो।

नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बिउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए। अनुदानमा बिउ पाएपछि किसान खुसी भएका छन्। बजारका एग्रोभेटमा महँगो मूल्य तिरेर बिउ खरिद गर्न बाध्य किसानलाई कम मूल्यमा अनुदानमा बिउ पाउँदा राहत पुगेको छ।

‘दोब्बर तेब्बर मूल्य तिरेर बाहिरबाट खरिद गर्नुपरेको थियो, नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको छ, यसबाट बिउ खरिदमा हामीलाई आर्थिक भार परेन,’ स्थानीय शारदा रेग्मीले भनिन्।

यस वर्ष २० टन धानको बिउ वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख रामहरि पाण्डेयको भनाइ छ।

उनका अनुसार वितरित धानमध्ये साँवा मन्सुली ५ हजार ६ सय किलो, रामधान १ हजार ९१ किलो र सावित्री धान १३ हजार ६ सय ४५ किलो नगरका एक हजार ४१ किसानलाई वितरण गरिएको छ।

नगरपालिकाले वितरण गरेको धानमध्ये सावित्री प्रतिकिलो ६० तथा साँवा मन्सुली र रामधान जातको धान प्रतिकिलो ६५ रुपैयाँ मूल्य पर्छ। धान वितरणका लागि नगरपालिकाले ६ लाख रकम विनियोजन गरेको थियो। बाहिर बजारका एग्रोभेटमा प्रतिकिलो ९० देखि १ सय दशसम्ममा किसानले बिउ किन्ने गरेका छन्। रामपुर नगरपालिकाभित्र करिब १ हजार ८ सय हेक्टर धान खेती सिञ्चित जमिन छ।

किसानको सहजता, कृषि शाखामा कर्मचारी कम, व्यवस्थापनलाई सजिलो बनाउने नगरपालिकाले एकहप्ते सूचना निकालेर किसान एग्रोभेटमार्फत सम्झौता गरी बिउ वितरण कार्य गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताउँछन्।

अघिल्ला वर्षमा नगरपालिकाले कृषि शाखामार्फत एकै पटक किसानलाई बोलाएर बिउ वितरण गर्ने गर्थ्यो। एकै पटक सबै किसान आउन नभ्याउने भएकाले सजिलो बनाउन यसवर्ष एग्रोभेटलाई जिम्मेवारी दिइएको हो।

कृषिजन्य उत्पादन र प्रवर्द्धनका लागि नगरपालिकाले उन्नत बिउबिजन, विभिन्न प्रविधि वितरण, तालिम, गोष्ठी, अनुदानजस्ता कार्यक्रम गरिरहेको मेयर रमण थापाले बताए।

प्रकाशित: २४ जेठ २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =