पानी परेपछि महोत्तरीका किसान खुसी

हिमाल प्रेस ९ चैत २०८० १३:२९
10
SHARES
पानी परेपछि महोत्तरीका किसान खुसी

महोत्तरी- किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन। समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ। मंगलबार मध्यरातयता झरी जसरी परेको पानीले किसानको मुहारमा खुसी छाएको हो।

मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ। पानीबिना ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट र लहरा अहिले एक/दुई दिनमै लहलहाएका छन्। त्यसैगरी, झपक्क मज्रेका (मञ्जरी खिलेको, फूल लागेको) आँप, लिची र रूखकटहरसहितका रूख पानीले जालो र कालो धब्बा पखाली दिएपछि चहकिला देखिएका छन्।

यसपालि पूरै हिउँद पानी नपरी बित्दा छट्पटिएका किसानमा अब बालीनाली अनुकूल हुने आश जागेको छ। ‘वर्षाको पानीको जादू दुई दिनमै तरकारीका लहरा कति फेरिए’,बारीका फर्सी, लौका, काँक्रा र घिरौँलाका लहलहाएका लहरा देखाउँदै भङ्गाहा–४ रामनगरका किसान मोहन खाँ थारू भन्छन्,‘अब चाहिँ पछिको मौसम ठिकठिकै रहे वैशाखी तरकारीले मनमाफिक उत्पादन दिने आश जगायो।’

त्यसैगरी, फलफूलखेतीका किसानले पनि पछिल्लो वर्षा अमृत बनेको प्रतिक्रिया दिएका छन्। पछिल्लो वर्षाले जालो, धब्बा पखाल्नसँगै जरामा पर्याप्त चिस्यान पुगेको हुँदा मधुवा (डढुवारोग) को प्रकोप पनि कम हुने किसानको विश्वास छ। अहिलेको वर्षा राम्ररी टिकोला लाग्न, टिकोला बढाउन, डाँठ दह्रो बनाउन अमृत नै भएको कुशवाहा बताउँछन्। पानी परेलगत्तै फलफूलका रूख फेरिएपछि किसानले राहत महसुस गरेका छन्।

जिल्लामा बर्दिबास नगरपालिकाका–३, ४, ५, ७, ९, १०, ११, १२ र १३ का ४० भन्दा बढी बस्ती फलफूल र तरकारीखेतीका पकेट क्षेत्र मानिन्छन्। यसैगरी, गौशाला, भङ्गाहा, मटिहानी, बलवा, मनराशिशवा र पिपरासहितका स्थानीयतहका बस्तीमा फलफूल खेती निकै छ। पछिल्लो वर्षाले खासगरी आँप र लिचीलाई अमृतकै काम गरेको आम किसानको प्रतिक्रिया छ।

प्रकाशित: ९ चैत २०८० १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =