सत्तापक्षीय सांसदको आरोप : सभामुख दलका कारिन्दा जस्ता

हिमाल प्रेस २३ जेठ २०८० ७:३१
10
SHARES
सत्तापक्षीय सांसदको आरोप : सभामुख दलका कारिन्दा जस्ता

काठमाडौँ- नेकपा माओवादीका सांसदहरूले सदन सञ्चालनमा सभामुख देवराज घिमिरेको भूमिका तटस्थ नरहेको आरोप लगाएका छन्। उनीहरूले सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरुलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको आरोप लगाएका हुन्।

माओवादीका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधिसभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको आरोप लगाए। उनले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर रहेको टिप्पणी गरे।

पौडेलले भने, ‘प्रचलित र स्थापित मान्यताअनुसार प्रधानमन्त्रीले जवाफ दिइसकेपछि पूर्वप्रधानमन्त्रीलाई तत्कालै त्यसको खण्डन गर्न सभामुखले समय दिनु संसदीय प्रणाली, प्रक्रियाविपरीतको कुरा हो।’ प्रमुख प्रतिपक्षी दलका नेतालाई विशेष समय लिएर अर्को कुनै दिन बोल्न दिनुपर्नेमा सभामुखबाट त्यस्तो नगरिएको आरोप उनको छ।

‘सभामुखले बुझी–बुझी हो, अनुभव कम भएर हो वा कसैप्रति लोयल्टी भएर हो उहाँले संसदीय प्रणाली, प्रक्रिया र हाम्रो स्थापित मूल्य, मान्यताभन्दा फरक ढंगले जुन अभ्यास गराउनुभयो त्यो शोभनीय थिएन।’

अर्का सांसद लेखनाथ दाहालले भने, ‘सभामुखको भूमिका सभामुखको जस्तो थिएन। उहाँको तटस्थ भुमिका हुनुपर्ने। संसद् नियमावलीको मातहतमा रहेर आफ्नो सदन सञ्चालन गर्नुपर्ने त्यो देखिँदैनथ्यो। उहाँ एउटा अमुक पार्टीको कारिन्दा जस्तो र असाध्यै संसदलाई अराजक ढंगले, असभ्य र अशिष्ट ढंगले पेस हुनको निम्ति मलजल गरेको जस्तो देखिन्थ्यो।’

उनले सभामुखलाई संविधान र संसद् नियमावलीको मातहतमै रहेर सदन सञ्चालन गरिदिन आग्रह गरे।

दाहालले भने, ‘सदन सञ्चालनका बेला सभामुखले तटस्थता अपनाउनुपर्छ। अमुक पार्टीलाई प्रश्रय दिने, अराजकतालाई प्रश्रय दिने, अनुशासनहीनतालाई प्रश्रय दिने र सदन सञ्चालन गर्दाखेरी बेथितिलाई प्रश्रय दिने भूमिकाबाट सभामुख पछाडि फर्किनुपर्छ।’

अराजकताको जबाफ फर्काउने चेतावनी

सांसद दाहालले एमाले सांसदहरुको संसद्‌मा प्रस्तुति असाध्यै अराजक र अशिष्ट भएको टिप्पणी गरे। उनले भने, ‘उहाँहरूको प्रस्तुति असाध्यै अराजक, अशिष्ट छ। सोमबारको सदनको उपस्थिति र उहाँहरुको प्रस्तुति, गतिविधि देख्दा अत्याचार देखिन्थ्यो।’

केही सांसदहरूले छाती फुलाएर कुस्ती खेल्न वेलमै आएको पनि उनले बताए। सबै खालका अराजकताहरुको जबाफ संविधान, प्रतिनिधिसभा नियमावली र अनुशासनभित्र रहेर दिने उनको भनाइ छ।

दाहालले भने, ‘हामी त स्वाभावैले संविधानको मातहतमा रहेर, संसद् नियमावलीको मातहतमा रहेर, अनुशासनको जगबाट ती सबैखाले अराजकतालाई जवाफ दिन्छौँ। सदनभित्र केही माननीयज्यूहरू त लौ आओ कुस्ती खेल्न भनेर छाती खोलेर वेलमै आएको पनि यहाँले देख्न सक्नुहुन्छ। त्यहाँ भन्दा अराजकताको पराकाष्ठा केही हुन्छ?’

एमाले सांसदहरूले प्रधानमन्त्रीको हुर्मत लिएको पनि दाहालले बताए। ‘प्रधानमन्त्री बोल्दै गर्दा बोल्नै नदिने, हुर्मत लिने, सरकारका तर्फबाट आफ्ना कुरा राख्न नदिने जुन खालको गतिविधि देखिन्छ यो उहाँहरुको असंसदीय चरित्रको पराकाष्ठा हो।’ एमालेले सरकारले गर्न लागेको सकारात्मक काम र सकारात्मक परिणामको ईर्ष्या गरेको आरोप पनि उनले लगाए।

प्रकाशित: २३ जेठ २०८० ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =