कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजार रोजगारी दिने अभियान चलाइने

हिमाल प्रेस २१ जेठ २०८० १७:४९
कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजार रोजगारी दिने अभियान चलाइने

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख तिलक परियारले आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वार्षिक १० हजार जनालाई रोजगारी दिने अभियान थालिने बताए।

नीति तथा कार्यक्रम ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरूप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन लक्षित रहेको छ। विगतदेखि कार्यान्वयमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै प्रदेशलाई अर्गानिक प्रदेशको रूपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फ प्रांगारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ।

सुर्खेत विमानस्थल विस्तार

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनः ल्याएको छ। यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको सट्टामा भेरीगंगामा नयाँ विमानस्थल बनाउने भनेका थिए।

तर, निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने बताएको भन्दै सुर्खेत विमानस्थल नै विस्तार गरिने भएको हो। विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा आकाशे पुल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। आगामी आर्थिक वर्षमा आकाशे पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन तयार गरिने प्रदेश प्रमुख परियारले बताए।

वीरेन्द्रनगरका सडकहरूमा ट्राफिक बत्तीको व्यवस्थापनका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुंगे पुल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: २१ जेठ २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =