लम्किन पाएन चर्च ब्वाइज, समदुरीमा मछिन्द्र

हिमाल प्रेस १३ जेठ २०८० २२:२९
44
SHARES
लम्किन पाएन चर्च ब्वाइज, समदुरीमा मछिन्द्र

काठमाडौँ- दशरथ रंगशालाको हिलाम्मे मैदानमा खेल ६८ मिनेटमा पुग्दै थियो। बल लिएर अघि बढेका चर्च ब्वाइज युनाइटेडका मिलन राईलाई संकटा क्लबका आन्द्रे बियिकले लेफ्ट विंगमा लडाए। रेफ्रीले चर्च ब्वाइजलाई फाउल दिन कन्जुस्याई गरेनन्। फ्रिकिक प्रहार आइपुगे कमल श्रेष्ठ। जो चर्च ब्वाइजका पहिलो रोजाइका ‘सेटपिस टेकर’ हुन्।

कमलले प्रहार गर्ने फ्रिकिकले गोलको अवसर सिर्जना गर्ने अपेक्षा थियो। तर त्यसो भएन। बरु उल्टै संकटाका लागि काउन्टर अट्याक गर्ने अवसर बन्यो। कमलको फ्रिकिकलाई संकटाका निशान खड्काले ब्लक गरिदिए। बल भेटे आयुष घलानले। त्यसपछि पास दिए जुनियर एन्केंगेलाई।

बल लिएर तीव्र गतिमा दौडिएका जुनियरले युसुफ आट्रिसलाई पास दिए। युसुफले चर्च ब्वाइजका रक्षक मनोज राईलाई सजिलै बिट गर्दै प्रहार गरे। उनको प्रहार लिग लिडरका गोलरक्षक यभेस प्रिसोले रोक्नै सकेनन्। खेल अन्ततः संकटाले १-० ले जित्यो।

लेबनानका आट्रिसले सहिद स्मारक ए डिभिजन लिगमा गरेको यो पाँचौँ गोल हो। आट्रिस यस्ता खेलाडी हुन् जो अन्य क्लबमा रहेका अफ्रिकी स्ट्राइकर जस्तो चम्किँन सकेका छैन। उनले पाएका मौका खेर फालिरहने स्ट्राइकरको छवि बनाएका छन्। तर अब आट्रिसमाथि अब कुनै गुनासो बाँकी नरहन सक्छ। किनभने उनले यस्तो गोल गरेका छन्, जसले संकटालाई रेलिगेसनबाट बचाउन सक्छ। यति मात्र कहाँ हो र, यो गोलले त आखिरमा चर्च ब्वाइजलाई च्याम्पियन बन्नबाट रोक्न पनि सक्छ। उपाधि होडमै फरक पार्नसक्छ।

शनिबारकाे याे खेलमा संकटालाई हराएको भए चर्च ब्वाइजले शीर्षस्थानमाथि पाँच अंकको अग्रता कायम गर्न सक्थ्यो। किनभने दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबले शनिबार नै त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो। तेस्रो स्थानको जावलाखेल युथ क्लब त एपीएफ क्लबसँग २-० ले हार्‍यो नै।

आफूलाई पछ्याइरहेका क्लबहरू हारेको दिन जित दर्ता गर्न नसक्दा चर्च ब्वाइज उपाधिको नजिक पुग्ने अवसर गुमायो। २२-२२ खेल खेलिसक्दा चर्च ब्वाइजको ३८, मछिन्द्रको ३६ र जावलाखेलको ३४ अंक छ। मछिन्द्रलाई रोक्ने आर्मीको ३० र शीर्ष चारका क्लबभन्दा एक खेल कम खेलेको सातदोबाटो युथ क्लबको २९ अंक छ। एपीएफ र हिमालयन शेर्पा क्लबले पनि २९-२९ अंक नै पुर्‍याएका छन्।

यी त भए उपाधि होडका कुरा। अब चर्चा फेरि यही नतिजाको। लिगमा संकटा छैटौँ पटक विजयी भएको हो। अझ भन्दा नयाँ मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारको प्रशिक्षणमा पहिलो खेल, पहिलो जित। सल्यान खड्गीले राजीनामा दिएपछि ‘टेक्निकल एनलिस्ट’ को भूमिकामा रहेका रवीन्द्रले प्रशिक्षण सम्हाल्न सुरु गरेका हुन्।

जितपछि संकटा १३ औँबाट ११ औँ स्थानमा उक्लिएको छ। २२ खेलबाट २६ अंक बनाएको संकटा रेलिगेसनबाट सुरक्षित छैन। तर शीर्षस्थानको क्लबलाई हराएकाले संकटाको आत्मविश्वास बढेको हुनुपर्छ। संकटाले अब चार खेल खेल्न बाँकी छ। आगामी बुधबार थ्रीस्टार क्लबको सामना गर्ने संकटा त्यसपछिका तीन खेलमा रेलिगेसनबाट बच्न संघर्षरत विपक्षीसँग भिड्नेछ। ती विपक्षी हुन्, एफसी खुमलटार, फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटी।

जितपछि रविन्द्रले बाँकी सबै खेल महत्त्वपूर्ण हुने प्रतिक्रिया दिए। ‘अंक तालिका कसिलो छ। त्यसकारण बाँकी सबै खेल महत्त्वपूर्ण छन्,’ उनले भने। संकटा रेलिगेसन क्षेत्रबाट दुई अंकले माथि छ। शीर्ष चारबाट चाहिँ जम्मा चार अंकले तल। अब लगातार दुई खेल जिते संकटा अंक तालिकाको मध्यभागमा पुग्ने स्थिति छ। अंक तालिकाको यो समीकरण यसपालिको लिगको चरित्र व्याख्या गर्न सक्षम छ।

संकटाले लिगमा जति खेल हारेको छ, त्यति नै खेलमा बराबरी गरेको छ। मतलब आठ-आठ। रविन्द्र बराबरीलाई पनि हार जत्तिकै घातक मान्छन्। ‘अंक बाँड्नु भनेको अंक गुमाउनु जस्तै हो। किनभने अंक तालिका नै त्यस्तै छ,’ रविन्द्रले थपे।

आफ्ना खेलाडीले चर्च ब्वाइजविरुद्ध व्यक्तिगत नभई सामूहिक प्रदर्शनमा ध्यान दिएको रविन्द्रको भनाइ थियो। उनले आक्रामक खेल्ने योजना पनि सफल भएको बताए। गोलकर्ता आट्रिस, आयुष लगायतका खेलाडी पूर्ण रुपमा फिट नभएकाले पनि अफ्ठ्यारो परिरहेको रविन्द्रको भनाइ थियो। आट्रिस र आयुष पूरा खेल खेल्न नसक्ने भएकैले दोस्रो हाफमा मैदान प्रवेश गरेको रविन्द्रको प्रष्टोक्ति थियो।

पराजित चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जन स्वाभाविक रुपमा निराश देखिए। ‘पहिलो हाफमा मिडफिल्डले बल नियन्त्रणमा राख्न सकेन। पहिलो हाफमै दुई खेलाडी परिवर्तन गर्नुपर्दा गाह्रो भयो,’ बालगोपालले भने, ‘शीर्षस्थानमा हुँदा यस्तो नतिजा ठिक होइन। जित लयलाई जारी राख्नुपर्छ।’

चर्च ब्वाइजले पहिलो हाफको २० र २३ औँ मिनेटमा खेलाडी परिवर्तन गरेको थियो। साइमन लिम्बु र शुसिल शाह चोटका कारण मैदान छाड्न बाध्य भएका थिए। साइमनलाई आशिष चौधरी र शुसिललाई विवेक पौडेलले प्रतिस्थापन गरेका थिए।

समस्या फिनिसिङमा

शनिबार दिउँसो दशरथ रंगशालामै एपीएफसँग हारेपछि जावलाखेलका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले अग्रपंक्तिमा कमजोरी देखिन थालेको प्रतिक्रिया दिए। ‘लगातार चार बराबरी खेलेका थियौँ। जसको कारण खराब फिनिसिङ थियो। आज हारियो। यी नतिजाले उपाधि जित्ने लक्ष्यमा असर गर्छन्,’ सुनिलले भने।

जावलाखेल यसअघि मनाङ मस्र्याङ्दीसँग २-२, एनआरटीसँग १-१, संकटासँग २-२ र मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो। क्लबका उच्च गोलकर्ता एन्कोटो सिनोस मासओबीले मनाङ र संकटाविरुद्ध एक-एक गोल गरेका थिए। एपीएफविरुद्ध भने उनी मात्र होइन अरु दुई फरवार्ड हिसुब थपलिया र फोडे फोफाना पनि फितलो देखिए।

एपीएफलाई आठौँ जित दिलाउन अर्मान्ड बिडौम र आभाष लामिछानेले एक-एक गोल गरेका थिए। शरण विक्रम सिंह बस्नेतको लामो पासमा बिडौमले एक्रोब्याटिक गोल गरेका थिए। अफ्रिकी देश चाडका बिडौमले विभागीय टिमका लागि आठौँ लिग गोल गरेका हुन्।

बिडौमको गोलमा २३ औँ मिनेटमा अघि बढेको एपीएफले पहिलो हाफ सकिने बेलामा अग्रता दोब्बर बनायो। जावलाखेलका खेलाडीले निरन्तर खराब क्लियर गरिरहेपछि एपीएफको दोस्रो गोल सम्भव भएको थियो। मुभ भने कप्तान नवीन लामाको क्रसबाट सुरु भएको थियो। नवीनको क्रससँग बिडौम कनेक्ट हुन सकेनन्। जावलाखेलले बल नियन्त्रणमा राख्न सकेन। जसकारण एपीएफका युवराज खड्काले प्रहार गर्ने मौका पाए। उनको प्रहार जावलाखेलका इश्वर गुरुङले ब्लक गरे। रिबाउन्डमा आएको बललाई आभाषले जाली चुमाए।

रेलिगेसनबाट बच्न संघर्षरत क्लबसँगै फेरि एक पटक हारेपछि जावलाखेलका सुनिल निराश देखिए। च्याम्पियन मछिन्द्रलाई हराएर सिजनको सुरुवात गरेको थ्रीस्टार, सातदोबाटो युथ क्लब, मनाङ, चर्च ब्वाइज जस्ता क्लबलाई हराएको छ। तर सुरुबाटै अंक तालिकामा पछि परेका फ्रेन्ड्स, खुमलटार, हिमालयन शेर्पालगायतसँग हारेको छ। यी क्लबहरुसँग हार्नुलाई जावलाखेलको मुख्य कमजोरी मानेका छन्, सुनिलले।

‘यो हाम्रो कमजोरी हो। स्वीकार गर्नुपर्छ। यही कारण जावलाखेलको उपाधि सम्भावना अब अरु टिमको नतिजा हेरेर हात्र भन्न सकिने भयो। अरु टिमको नतिजा हेरौँ अनि उपाधिका लागि प्रतिस्पर्धा गर्न सकिन्छ कि सकिँदैन भनेर थाहा हुन्छ। त्यही अनुसार योजना बनाउनुपर्छ,’ सुनिलले भने।

एपीएफ र जावलाखेलले खेलको उत्तराद्र्धमा एक-एक खेलाडी गुमाएका थिए। एपीएफका कप्तान नवीन र जावलाखेलका सस्टिच्युट अब्दुलअजिज निशोनबेइभले ८४ औँ मिनेटमा रातो कार्ड पाएका थिए। खराब ट्याकल गरेवापत नवीनलाई रेफ्री प्रकाशनाथ श्रेष्ठले रातो कार्ड दखाएका थिए। नवीनले लडाएपछि आक्रोशित देखिएका अब्दुलअजिज झगडा गर्न तम्सिएपछि उनलाई पनि रातो कार्ड दिइएको थियो।

प्रकाशित: १३ जेठ २०८० २२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =