नख्खु-भैंसेपाटी सडकखण्ड जेठभित्र सम्पन्‍न गर्ने भौतिकमन्त्री ज्वालाको दाबी

हिमाल प्रेस ८ जेठ २०८० ११:२३
6
SHARES
नख्खु-भैंसेपाटी सडकखण्ड जेठभित्र सम्पन्‍न गर्ने भौतिकमन्त्री ज्वालाको दाबी

काठमाडौँ– भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैंसेपाटी सडकखण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन्। सोमबार मन्त्रालयको टोलीले सडकखण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

आफू मन्त्री हुँदा यस सडकखण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको उनको भनाइ छ। अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै उनले अब नख्खु-भैंसेपाटी क्षेत्रका बासिन्दाहरूले लामो समयसम्म धूलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे।

अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने पनि उनले जनाए। यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे।

‘यो सडकबारे म भौतिक, पूर्वाधार तथा यातायातमन्त्री भइसकेपछि एउटा बहसको विषय थियो। यसभन्दा पहिला पनि त्यतिबेलाका मान्य मन्त्रीज्यूले निरीक्षण गर्नुभएको थियो। यो २६ करोडको ठेक्का लागेको र पछिल्लो समयमा अलि धेरै चर्चा बहसको विषय थियो। म आउनेवित्तिकै हाम्रो टिम बसेर यो सडकलाई धूलोमुक्त गर्नु हो। त्यसका लागि छिटोभन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था छ,’ उनले भने।

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नयाँ बजेट प्रस्तुत भएपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने उनले स्पष्ट पारे।

आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तीव्रता दिने बताउँदै उनले सरकारले महत्त्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =