आठ खेलमा जितविहीन थ्रीस्टार

हिमाल प्रेस ६ जेठ २०८० २१:५७
8
SHARES
आठ खेलमा जितविहीन थ्रीस्टार

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब लगातार आठौँ खेलमा जितविहीन बनेको छ। दशरथ रंगशालामा शनिबार साँझ सातबाटो युथ क्लबसँग २-० ले पराजित हुँदै थ्रीस्टारले खराब लयको शृंखलालाई जारी राख्यो।

थ्रीस्टारले पछिल्लो जित ११ औँ चरणमा हात पारेको थियो। त्यसबेला संकटा क्लबलाई हराएको थ्रीस्टारले गएका आठ खेलमध्ये तीनमा हार व्यहोरेको छ भने बाँकी खेल बराबरीमा टुंग्याएको छ। पाँच बराबरीमध्ये तीनमा थ्रीस्टारले गोल नै गरेको छैन।

उता सातदोबाटोले लिगमा आठौँ जित दर्ता गरेको हो। गत मंगलबार चर्च ब्वाइज स्पोर्ट्स क्लबसँग १-० को हार भोगेको सातदोबाटोलाई जित लयमा फर्काउन विलियम ओपोकु एसिडेउले दुई गोल गरे।

थ्रीस्टारसँग भिड्नुअघि पाँच खेलमध्ये एकमा मात्र जित हात पारेको सातदोबाटो अब शीर्ष चारमा फर्किएको छ। चौथो स्थानको सातदोबाटोले १९ खेलबाट २९ अंक छ। जुन शीर्षस्थानको चर्च ब्वाइजको भन्दा सात अंक कम हो। पाँचौँ स्थानको थ्रीस्टार र छैटौँ स्थानको त्रिभुवन आर्मी फुटबल क्लबले २६-२६ अंक बटुलेका छन्।

जितपछि सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले समयमै गोल गर्न सकेकाले तीन अंक हासिल गर्न सजिलो भएको बताए। ‘खेल दुवै टिमले उस्तै खेलेका हुन्। तर हामीले समयमै गोल गर्न सक्यौँ। थ्रीस्टारले पछिल्लो २० मिनेटमा असाध्यै दबाब सिर्जना गरेको हो। मिडफिल्डबाट लगातार बल हाम्रो बक्समा पु¥यायो। यद्यपि उसका आक्रमण सफल भएनन्,’ सनोजले भने।

सनोजले सातदोबाटो उपाधि होडमा भने फर्किनसकेको बताए। ‘यो खेल जितेर हामी शीर्ष चारमा फर्कन चाहन्थ्यौँ। यतिबेला हामी उपाधि दौडमा भने छैनौँ,’ सनोजले प्रस्ट पारे।

विलियमले पहिलो गोल पहिलो हाफको २४ औँ मिनेटमा गरेका थिए। निरज चौधरीले राइट विंगबाट दिएको क्रससँग दीपक राज सिंह ठकुरी ‘कनेक्ट’ नभएपछि बल पूर्ण चेम्जोङले ब्लक गर्न भ्याएका थिए। तर रिबाउन्डमा बल विलियमले भेटे र जाली चुमाए।

सातदोबाटोले दोस्रो हाफको पहिलो मिनेट नबित्दै अग्रता दोब्बर बनायो। यसपालि विलियमले फ्रिकिकमा गोल गरे। थ्रीस्टारका पिटर सेगुनले दीपकलाई लडाएपछि सातदोबाटोले फ्रिकिक पाएको थियो। १८ यार्ड बक्सको छेउमै फ्रिकिक पाउँदा विलियमले प्रहार गरेको ‘लो सट’ सुन्दर गोलमा परिणत भएको थियो।

दोस्रो हाफको सुरुवातमै गोल खाए पनि थ्रीस्टारले गोलका निकै अवसर सिर्जना गरेको थियो। पाएका अवसरलाई गोलमा परिणत गर्न नसकेको थ्रीस्टारलाई भाग्यले पनि साथ दिएन। थ्रीस्टारका दुई प्रहार पोस्टमा ठोक्किएका थिए। दिपेश गुरुङले ७५ औँ मिनेटमा र सन्नी व्यञ्जनकारले निर्धारित समय सकिएपछि गरेको प्रहार पोस्टमा ठोक्किए।

त्यसअघि दिपेशले बक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका गोलरक्षक अभिषेक बरालले रोेकेका थिए। दिपेश वान-भर्सेस-वानमा समेत गोल गर्नबाट चुकेपछि अर्का मिडफिल्डर लाकेन लिम्बुले बक्सबाहिरबाट प्रयास गरेका थिए। उनले ८५ औँ मिनेटमा गरेको प्रहार अभिषेकले पोस्टमाथिबाट बाहिर पठाइदिएका थिए।

हारपछि थ्रीस्टारका मख्य प्रशिक्षक मेघराज केसीले भाग्यले साथ नदिएको प्रतिक्रिया दिए। ‘आज हाम्रो दिन होइन रहेछ। त्यही भनेर चित्त बुझाउनु बाहेकको विकल्प छैन। हामीले गोलका अवसर सिर्जना नगरेको होइन। तर सबै अवसर खेर गए। जबकि सातदोबाटोले पाएको मौकामा गोल गरिहाल्यो,’ मेघराजले भने।

प्रकाशित: ६ जेठ २०८० २१:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =