पारिले सुकाएको वारि

भारतीय बजारको छायामा ब्रह्मदेव

पदमराज भट्ट ५ जेठ २०८० १२:०१
210
SHARES
पारिले सुकाएको वारि ब्रह्मदेव बजार।

राणाकालमा सुदूरपश्चिम क्षेत्रका व्यापारी पैदल यात्रा गरी भारतको काशीपुर बजारसम्म पुग्थे। फर्रोखाबादबाट ल्याएको कपडा १५ देखि २० दिन हिँडेर डडेल्धुरा, बैतडी, बाजुरा, अछामसम्म बिक्री गर्न लैजान्थे। काशीपुरका व्यापारी पनि सामान बेच्न मात्रै होइन पैसा उठाउन पनि पहाडी बस्तीसम्म धाउँथे। भारत-नेपाल यात्राको एउटा केन्द्र थियो ब्रह्मदेव बजार।

जानकारहरूका अनुसार सहिद भीमदत्त पन्तसँग जोडिएको यो बजार विक्रम संवत १९९० सम्म निकै व्यस्त थियो। अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि बजारमा उपभोक्ताको भीड लाग्थ्यो।

भारतको टनकपुरमा रेलगाडी आइपुगेको थिएन। कुमाउँतिर जाने पहाडी राजमार्गको ट्रयाक बल्ल खुल्न थालेको थियो। श्रद्धालुहरू भीरमा बाबियो समातेर पूर्णागिरि माताको दर्शन गर्न पुग्थे। टनकपुरमा रेलमार्ग आएपछि व्यापारीको चहलपहल हुन थाल्यो। अनि टनकपुरमण्डी दिन दुगुना रात चौगुना प्रगतिमार्गमा लम्कन थाल्यो। त्यसको प्रभावले ब्रह्मदेव बजार पनि विस्तार हुँदै गयो। साथै सिद्धनाथमा आउने दर्शनार्थीका कारण ब्रह्मदेव रातिसम्म व्यस्त हुन्थ्यो।

पहाडी क्षेत्रमा मानिस उकालीओराली छिचोल्दै १०/१२ दिन लगाएर किनमेलका लागि ब्रह्मदेव पुग्थे। टिनका टिन घिउ बोकेर टनकपुर पुर्‍याउँथे। त्यही घिउ बेचेर नुनतेल किनेर फर्कनेको विश्रामस्थल ब्रह्मदेव बजार अहिले भने केही महिनामात्रै चलायमान हुन्छ।

सिद्धबाबा मन्दिर।

ब्रह्मदेव कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिममा पर्छ। महाकाली तटमा रहेको त्यो बजारमा सडकको दायाँबायाँ लहरै घर छन्। ती घरमा कोहीले होटल चलाएका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाई तथा फलफूल पसल राखेका छन्।

केही साना पक्की र केही कच्ची घर रहेको ब्रह्मदेवले चिनिने यो बजारको इतिहास पुरानो छ। २००७ सालपछि भीमदत्तले आन्दोलन गरेर गरिबका लागि नुन बाँडेको सहरका रूपमा यसको पहिचान छ।

पहाडी जिल्लामा सडक विस्तार र महेन्द्रनगरमा बजार स्थापना भएपछि बह्मदेव छायामा परेको बूढापाकाहरू बताउँछन्। इतिहासबाहेक अब ब्रह्मदेवसँग सिद्धबाबा मन्दिर मात्रै छ। यो बजार बहुचर्चित महाकाली सन्धिअन्तर्गतको टनकपुर ब्यारेजको साक्षी हो।

अहिले भने बूढापाकाले भनेजस्तो नुन र घिउ ओसार्नेको लर्को त यहाँ देखिँदैन न त बजारमै बाक्लो चहलपहल छ। सिद्धबाबाको दर्शन गर्न आउने दर्शनार्थी ब्रह्मदेव बजारका ग्राहक हुन्। ती पनि अधिकांश भारतीय हुन्छन्।

बजारमा ३० वर्षदेखि कपडा व्यापार गर्दै आएका वसन्त जोशी भन्छन्, ‘सिद्धबाबाको दर्शन गर्न आउने दर्शनार्थी नै यहाँका ग्राहक हुन् तीमध्ये ९५ प्रतिशत भारतीय हुन्छन्।’

बजारमा व्यापार निकै घटेको छ। पहिला सुनेजस्तो व्यापारव्यवसाय नरहेको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्त बताउँछन्। उनका अनुसार विगतमा जुत्ता, चप्पल र चिनियाँ सामग्रीको माग धेरै हुन्थ्यो। अहिले ती सामान भारतमै पाइन थालेपछि यहाँ व्यापार कम हुन थालेको छ।

उनी भन्छन्, ‘अहिले विगतको जस्तो कारोबार हुँदैन। यहाँ पाइने सामान भारतमा सहजै पाइन्छ।’ उनी पनि सिद्धबाबामा लाग्ने मेलाकै कारण बजारको अस्तित्व रहेको बताउँछन्।

भारतको उत्तराखण्डस्थित पूर्णागिरिको दर्शन गरेपछि ब्रह्मदेवस्थित सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने विश्वास छ। सोही कारण पूर्णागिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन्। फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना लाग्ने पूर्णागिरि मेलाको समय यहाँका एउटै व्यापारीले लाखौँको कारोबार गर्छन्। तर मेला बाहेकको समयमा भने यो बजार सुनसान रहने व्यवसायी बताउँछन्। पन्त भन्छन्, ‘पूजासामग्री बेचेर कतिन्जेल धान्न सकिएला र?’

ब्रह्मदेव बजार।

तीन महिना लाग्ने मेलाको आम्दानीले वर्षभरि चल्नुपर्ने गुनासो व्यापारीको छ। ‘तीन महिना मेलाको आम्दानीले वर्षभरि चल्नुपर्छ,’ अर्का व्यवसायी दलबहादुर चन्द भन्छन्, ‘अन्य समयमा यहाँको व्यापार व्यवसाय प्रायः शून्य हुन्छ।’

दक्षिण र पश्चिमतर्फ भारतका कालिका, माता पूर्णागिरि र सिद्धनाथ देवताका मन्दिर छन्। यसले ब्रह्मदेव आध्यात्मिक थलो पनि हो।

ब्रह्मदेवलगायत अन्य नजिकका बासिन्दा दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर छन्। किनमेलका लागि भारतको उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने बनबासा तथा खटीमा बजार जाने गरेको भीमदत्त नगरपालिका-९ की महिला सदस्य अञ्जली बोहरा बताउँछिन्।

भीमदत्तसँग जोडिएको इतिहास

कुरा २००९ सालको हो। कञ्चनपुरको ब्रह्मदेवमा भन्सारका कर्मचारीले कालोबजारी गरी नुनको कृत्रिम अभाव सिर्जना गरे। यो कुरा भीमदत्त पन्तलाई स्वीकार्य भएन। पन्तको अगुवाइमा घुस्याहा कर्मचारीविरुद्ध आन्दोलन भयो। गोदामका नुन सर्वसाधारणलाई वितरण गरेपछि भीमदत्त गरिबका प्रिय भए। किसान नेता पन्तको २०१० साउन १० गते टाउको काटी हत्या भएको थियो।

२०७२ फागुन १९ गते सरकारले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको हो। पन्तको नेतृत्वमा भएको आन्दोलनमा घुस्याहा कर्मचारीलाई बोरामा हालेर महाकाली नदीमा बगाएको सुनेको बताउँछन् पूर्वप्रधानपञ्च धर्मराज जोशी।

यसरी बसेको थियो बजार

प्राचीन कत्युरी वंशजका राजा ब्रह्मदेवका नामबाट ब्रह्मदेव स्थापना भएको मानिन्छ। ब्रह्मदेव डोटी क्षेत्रमा चौधौँ शताब्दीमा राज्य गर्ने कत्युरी वंशजका पाल राजाका पूर्वज हुन्। तत्कालीन डोटी राज्यकालमा पहाडी बाटो भएर व्यापार गर्ने बजार थियो ब्रह्मदेव।

पंखगराज चटौत (उपाध्याय)को सिद्धनाथ महात्म्य पुस्तकअनुसार राजा ब्रह्मदेवको पाला कुनै प्रकारको मण्डी (बजार) थिएन। जनतालाई दैनिक उपभोग्य सामग्री खरिदमा समस्या थियो। राजाले यो कुरा थाहा पाए। अहिलेको ब्रह्मदेव मण्डीभन्दा दुई किमि टाढा खल्ला र ब्रह्मदेवको बीचमा पर्ने पुरानो ब्रह्मदेव ठाउँमा बजार बसाल्ने निर्णय भयो।

उच्च कर्मचारीको अदुरदर्शिताका कारण पुरानो ब्रह्मदेव मण्डीको स्थान बजारका लागि चयन गरिएको थियो। केही समयपछि प्राकृतिक विपत्तिका कारण बजार सार्न बाध्य हुनुपर्‍यो। सिद्धबाबाबाट राजालाई सपनामा बजार सार्नू भन्ने आदेश भयो। सपनामा दिएको आदेशअनुसार राजा ब्रह्मदेवले श्रावण शुक्ल पूर्णिमाका दिन उक्त शुभ कार्य सम्पन्न गरेका थिए। त्यसपछि राजा ब्रह्मदेव नामबाट ब्रह्मदेव बजार भनेर चिनिन थालेको हो।

भारतको टनकपुरबाट नेपाली बजार ब्रह्मदेव जोड्न महाकालीमा डुंगा चल्थ्यो। भन्सार पनि सोही स्थानम थियो। राणाकालीन समयमा ब्रह्मदेव बजार आगलागीबाट क्षति भएको जानकारहरू बताउँछन्। आगलागी भएर सरकारलाई चिठी लेखेको र दरबारबाट ६ महिनापछि आगो निभाउनु भनेर चिठी आएको आचार्य घनश्याम लेखक बताउँछन्। उनी भन्छन्, ‘आगलागीपछि ब्रह्मदेव सुस्ताउँदै गएको हो। पहाडतिर सडक विस्तारपछि त पूरै छायामा परेको छ।’

खल्ला क्षेत्रमा ५० झ्याले दरबारको अवशेष।

खल्ला क्षेत्रमा ५० झ्याले दरबारका केही अवशेष मात्रै बाँकी छन्। तर ऐतिहासिक महत्त्व रहेको दरबार क्षेत्रको संरक्षण हुन नसकेको नगर कार्यपालिका सदस्यसमेत रहेकी वडा नं ९ की महिला सदस्य अञ्जली बोहरा बताउँछिन्। ऐतिहासिक स्थलको संरक्षण गर्ने दायित्व स्थानीय तहको भए पनि चालु आर्थिक वर्षमा नगरपालिकाले बजेट अभावमा केही गर्न नसकेको उनको भनाइ छ। उनी भन्छिन्, ‘नगर कार्यपलिकामा कुरा राख्दा बजेट नभएको जानकारी पाएकी छु।’

भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष गगनसिंह कार्की पनि बजार विस्तारका लागि कुनै योजना नभएको सुनाउँछन्। बजार पहिलेकै अवस्थामा ल्याउन सम्भव नभएको उनको भनाइ छ। मेलाका समयमा मात्रै चहपहल देखिने भएकाले पनि नगरपालिकाको योजनामा ब्रह्मदेव नपरेको हो।

कार्कीले भने, ‘ब्रह्मदेव बजार नजिकै भारतीय बजार टनकपुर छ। सोही कारण ब्रह्मदेव बजारलाई पहिलेकै अवस्थामा फर्काउन गाह्रो छ।’ भारतीय बजारमा उपभोग्य सामान सस्तो पाइने भएकाले पनि स्थानीय उतै आकर्षित छन्।

ब्रह्मदेव बजारको इतिहाससँग जोडिएको ५० झ्याले दरबार संरक्षणका लागि भने पहल भइरहेको नगरपालिकाले जनाएको छ। दरबार क्षेत्रमा तारबार मात्र लगाइएको छ।

प्रकाशित: ५ जेठ २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =