पूर्वगृहमन्त्री खाण बिरामी परेपछि बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

हिमाल प्रेस १ जेठ २०८० २०:५३
4
SHARES
पूर्वगृहमन्त्री खाण बिरामी परेपछि बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिरामी भएको बताएपछि उनीसँगको बयान रोकिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई सञ्चो नभएको जानकारी गराएपछि आजका लागि खाणसँगको बयान रोकिएको हो।

कार्यालयले सोही प्रकरणमा मुछिएर अनुसन्धानका लागि सोमबार नै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ।

जिल्ला सरकारी वकिलकाे कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बयानकै क्रममा खाणले सञ्चो नभएको जानकारी गराएपछि उनीसँगको बयान रोकिएको बताए। ‘बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ,’ न्यौपानेले भने।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर संगठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ। कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन बाँकी थियो। सोमबार बिहानदेखि नै खाणसँगको बयान सुरु गरिएको थियो। तर खाणले सञ्चो नभएको बताएपछि उनीसँगको बयान रोकेर कार्यालयले रायमाझीसँग बयान लिन थालेको हो।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिइए वकिलको कार्यालयले जानकारी दिएको छ। उक्त घटनामा अहिलेसम्म खाण, रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएका तीन आरोपी अझै फरार छन्।

यसअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट ४ दिनको म्याद थप गरिएको छ। आइतबार पक्राउ परेका रायमाझीको हकमा सोमबार तीन दिनको म्याद थप गरिएको छ।

शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो। त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए। त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो।

वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए। त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका डा. राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् ।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध २० वटा जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =