जावलाखेललाई रोक्यो मनाङले, एनआरटी र फ्रेन्ड्सबीच बराबरी

हिमाल प्रेस ३१ वैशाख २०८० २०:२३
8
SHARES
जावलाखेललाई रोक्यो मनाङले, एनआरटी र फ्रेन्ड्सबीच बराबरी

काठमाडौँ- उत्तरार्द्धमा दुई गोल खाएपछि जावलाखेल युथ क्लब आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरीमा रोकिएको छ। सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेललाई रोक्न मनाङले १० मिनेटभित्र दुई गोल गरेको थियो। भिषण गुरुङले ८१ औँ मिनेटमा पहिलो गोल गरे भने थपिएको समयमा सुमित श्रेष्ठले मनाङको दोस्रो गोल गरे।

मनाङसँगको बराबरीपछि पनि जावलाखेल शीर्षस्थानमै छ। यद्यपि जावलाखेलले दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडमाथि दबाब बढाउने मौका गुमायो। जावलाखेलको १८ खेलबाट ३१ अंक छ भने एक खेल कम खेलेको चर्च ब्वाइजसँग ३० अंक छ। आउँदो मंगलबार सातदोबाटो युथ क्लबलाई पराजित गरे चर्च ब्वाइजले शीर्षस्थानमाथि दुई अंकको अग्रता कायम गर्नेछ।

च्यासल रंगशालामा जावलाखेलले पहिलो हाफको ३४ औँ मिनेटमा अग्रता लिएको थियो। यो गोल मनाङका गोलरक्षक दीप कार्कीको गल्तीका कारण सम्भव भयो। मनाङका रक्षक कुमार चौधरीले निराजन धामीका लागि लामो पास निकालेका थिए। निराजनले हेडर त गरे तर बल जावलाखेलका फुलब्याक राहुलले पाए। राहुलले दिएको वान टच पास विनोद केसीले भटे।

त्यसपछि विनोदले एन्कोटो सिनोस मासओबीलाई लामो पास दिए। बल भेट्न दौडदै गरेका मासओबीलाई रोक्न दीप कार्की १८ यार्ड बक्सबाहिर आइपुगे। तर बल क्लियर गर्ने उनको प्रयास असफल भयो। त्यसपछि बल मासओबीले भेटे र खाली पोस्टमा गोल गोल गरे।

जावलाखेलले दोस्रो गोल गर्न ७५ औँ मिनेटसम्म पर्खनु पर्‍यो। यसपालि पनि जावलाखेलले मनाङको गल्तीकै कारण गोल गर्नसक्यो। मनाङका कोफी टिमोथी कौडोले भिषण गुरुङलाई ब्याक पास दिएका थिए। तर विशाल तामाङले भिषणबाट बल खेसेर हिसुब थपलियाका लागि थ्रु-बल निकाले। बीचमै प्रवेश कुँवरले बल क्लियर गर्न खोजे। तर उनले क्लियर गरेको बल फोडे फोफानाले बल भेटे र हिसुबलाई पास दिएर हिसुबले फोफानाबाट आएको बललाई सजिलै गोलमा परिणत गरे।

दोस्रो हाफमा निरन्तर दबाब सिर्जना गरेको मनाङले अन्ततः गोल फर्कायो। गोलको मुभ गोलकर्ता भिषणबाटै सुरु भएको थियो। उनले जावलाखेलका विनोद र अब्दुल मजिद शामाटेको बीचबाट बलसँग अघि बढेका थिए। त्यसपछि विशाल तामाङलाई बिट गरेका उनले कौडोलाई पास दिएका थिए। कौडोले बल नरोकी ‘ब्याकहिल’ पास निकाले। जसलाई भिषणले वान टचमा गोलमा परिणत गरे।

मनाङलाई बराबरीमा पुर्‍याउन कमल थापा र सुमितले वान-टु पास खेलेका थिए। रक्षापंक्तिबाट आएको बललाई कमलले सुमितका लागि पास निकालेका थिए। त्यसपछि सुमितले १८ यार्ड बक्सबाहिरबाटै प्रहार गर्दै सुन्दर गोल गरे।

खेलपछि जावलाखेलका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मनाङले अत्यधिक दबाब दिएको स्वीकार गरे। ‘जित्दा जित्दै पनि हारियो। मनाङले एकदमै दबाब र्जिना गर्‍यो। यसअघि हामीले कुनै पनि टिमबाट यत्तिको दबाब खेप्नु परेको थिएन। यसकारण यो एक अंकमा पनि खुसीसाथ चित्त बुझाएका छौँ,’ सुनिलले भने। पहिलो एघारमै पर्ने दुई खेलाडी अनुपस्थित भएका कारण पनि मनाङसँग प्रतिस्पर्धा गर्न सजिलो नभएको सुनिलको भनाइ थियो। छिरिङ लामा र सुनिल खड्का मनाङविरुद्धको खेलमा थिएनन्।

मनाङका मुख्यप्रशिक्षक विष्णु गुरुङले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका कारण एक अंक प्राप्त गर्न सकेको प्रतिक्रिया दिए। ‘पहिलो हाफमा पनि हामीले गोलका अवसर सिर्जना गरेको हो। तर फितलो फिनिसिङका कारण गोल भएन। दोस्रो हाफमा हामीले राणनीति परिवर्तन गरेनौँ तर पाएका मौकालाई खेर जान दिएनौँ,’ विष्णुले भने।

मनाङले लगातार चौथो बराबरी खेलेको हो। यी सबै खेल मनाङले किरण श्रेष्ठलाई प्रतिस्थापन गरेका विष्णुको प्रशिक्षणमा खेलेको हो। ‘आगामी दुई-तीन खेलपछि हामी लयमा आउने आशा छ,’ विष्णुको भनाइ थियो। मनाङ हाल २२ अंकसहित सातौँ स्थानमा छ। आठौँ स्थानको न्युरोड टिम एनआरटी र नवौँ स्थानको नेपाल एपीएफ क्लबको पनि २२-२२ अंक छ। यद्यपि एपीएफले मनाङ र एनआरटीभन्दा एक खेल कम खेलेको छ।

एनआरटीले आफ्नो १८ औँ खेलमा आइतबार फ्रेन्ड्स क्लबसँग २-२ को बराबरी खेल्यो। एन्फा कम्पलेक्समा २-१ ले पछि परेको एनआरटीका लागि निकोलस सर्ज सङले ८९ औँ मिनेटमा बराबरी गोल गरेका थिए। यिनै सङले ८४ औँ मिनेटमा गोल गरेपछि एनआरटीले अघिल्लो खेलमा २-० को स्थितिलाई उल्टाउँदै एफसी खुमलटारलाई ३-२ ले पराजित गरेको थियो।

एनआरटीविरुद्ध फ्रेन्ड्सले पहिलो हाफको २८ औँ मिनेटमा पहिलो गोल गरेको थियो। राफिक अमनिुको गोलले अघि बढेको फ्रेन्ड्सका अमित तामाङले ५८ औँ मिनेटमा आत्मघाती गोल गरे। आठ मिनेटपछि अमितकै गोलका कारण फ्रेन्ड्सले २-१ को अग्रता स्थािपत गर्‍यो। एनआरटीका जिन एनिसेट बौमीले ८० औँ मिनेटमा पेनाल्टी खेर फालेपछि फ्रेन्ड्स जितको नजिक पुग्यो। तर निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सङले गोल गरेपछि खेल बराबरीमा सकियो।

बराबरीपछि एनआरटी आठौँ स्थानमा उक्लिएको छ। सुरुवाती प्रदर्शनका कारण रेलिगेसनको दाबेदार मानिएका एनआरटी हाल आठौँ स्थानमा उक्लिएको छ। फ्रेन्ड्स भने ११ औँ स्थानमा छ। फ्रेन्ड्ससँग १८ खेलबाट २० अंक छ। १२ औँ स्थानको संकटा, १३ औँ स्थानको नेपाल पुलिस क्लब र पुछारको खुमलटारले क्रमशः २०, १९ र १७ अंक जोडेका छन्।

प्रकाशित: ३१ वैशाख २०८० २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =