संविधानसभा सदस्य बस्नेतको निधन, कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने

हिमाल प्रेस २९ वैशाख २०८० ११:०४
6
SHARES
संविधानसभा सदस्य बस्नेतको निधन, कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज (शुक्रबार) आफ्नै निवास सिफलमा निधन भएको हो ।

२००२ मंसिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्षका क्रममा पटकपटक गरी ९ वर्ष जेल जीवन बिताएका थिए।

२०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक बीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए। उनको पार्थीव शरीर आज दिउँसो २ बजे श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।

उनको सम्मानमा नेपाली कांग्रेसले तीन दिन (वैशाख २९, ३० र ३१) पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने भएको छ। वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैबीच उनको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त  गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको बताएका छन्।

‘उहाँको निधनबाट नेपाली कांग्रेसले बहुआयामिक व्यक्तित्वलाई गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै,आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =