चोट र बिमारको चपेटामा परेकाे मछिन्द्र, शीर्षस्थान पुग्दा नफुर्किएको चर्च ब्वाइज

हिमाल प्रेस २७ वैशाख २०८० २१:५०
52
SHARES
चोट र बिमारको चपेटामा परेकाे मछिन्द्र, शीर्षस्थान पुग्दा नफुर्किएको चर्च ब्वाइज

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल। दिउँसो ३ बजेको घाम। एन्फा कम्पलेक्सको कृत्रिम मैदान त्यसै पनि तातो, घामले झन् तात्तिने भइहाल्यो। शारीरिक हाउभाउ हेर्दा लाग्थ्यो, मछिन्द्र यो खेलका लागि न शारीरिक रुपमा तयार छ, न त मानसिक रुपमै।

नतिजा २-१ ले चर्च ब्वाइजको पक्षमा गयो, जुन अनपेक्षित थिएन। विजयी टिमका लागि पहिलो हाफमा अन्जन विष्ट र दोस्रो हाफमा कमल श्रेष्ठले एक-एक गोल गरे। अन्जनले कमलको कर्नरमा हेडर गोल गरेका थिए।

दोस्रो गोल पनि कर्नरकै कारण सम्भव भयो। कमलले प्रहार गरेको कर्नरबाट आएको बल मछिन्द्रका गाेलरक्षक प्रदिप भण्डारीले फुत्काए। गोललाइनमा उभिएका ओमोलाजा करिमले पनि क्लियर गर्न नसकेपछि मछिन्द्र दोस्रो गोल खान पुग्यो।

उनै करिमले मछिन्द्रका लागि एक गोल फर्काए। बल लिएर चर्च ब्वाइजको क्षेत्रमा पुगेका आन्द्रेस नियालाई प्रान्किलिन कुएटे टल्लाले लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो। जसलाई करिमले गोलमा परिणत गरे। ६५ औँ मिनेटमा बराबरी गोल गरेपछि मछिन्द्र ब्युँतिने विश्वास थियो। तर मछिन्द्रले गोल थपेन बरु खायो।

मछिन्द्र तीन मुख्य खेलाडीबिना मैदान उत्रिएको थियो। कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठ ज्वरो आएका कारण बुधबारको खेल खेल्न सकेनन्। रक्षक देवेन्द्र तामाङ पूर्णरुपमा फिट छैनन् भने विमलको कुर्कुच्चामा चोट लागेको छ। यी तीन खेलाडी मछिन्द्रका मेरुदण्ड हुन्। किनभने उनीहरुको खेल्ने स्थान नै गोलरक्षकदेखि ‘नम्बर १०’ सम्म छ। लिगमा ‘स्क्वाड डेप्थ’ भएको टिम हो, मछिन्द्र। तर विशाल, देवेन्द्र र विमल बराबरका खेलाडी मछिन्द्रको बेन्चमा छैनन्।

मुख्य खेलाडी गुमाएर मात्र मछिन्द्र समस्यामा परेको होइन। मैदान उतारिएका कयौँ खेलाडीमै फिटनेसको कमी छ। त्यसमाथि आरामको कमी त छँदैछ। उसो त लिगका अरु टिम पनि पुग्दो आरामबिनै खेलिरहेका छन्। तर सामूहिक भए पनि समस्या त समस्या नै हो।

पहिलो रोजाइका गोलरक्षक र रक्षक नहुँदा मछिन्द्र मात्र होइन हरेक टिमलाई मानसिक रुपमा दबाब हुन्छ। अझ त्यस्तो टिमसँग खेल्दा जोसँग घरेलु फुटबलकै सम्भवतः सर्वाधिक ठूला स्टार (अन्जन विष्ट) छन्। तीव्र गतिमा खेल्दै गोल गर्न सिपालु विंगर (आशिष चौधरी) छन्। बेन्च पनि त्यस्तै बलियो। जहाँ आशिष चापागाईं छन्। जसले फ्रेन्ड्स क्लबविरुद्धको जितमा निर्णायक गोल गरेका थिए।

ढिलोगरी नयाँ सिजनको लिगमा होािएका अन्जनले पाँच खेलमा पाँच गोल गरिसकेका छन्। गत शनिबार न्युरोड टिम एनआरटी विरुद्ध ह्याट्रिक गरेका अन्जनलाई रोक्न मछिन्द्रले पक्कै योजना बनाएको थियो। तर दुर्भाग्यवश मछिन्द्रसँग महत्त्वपूर्ण स्थानमा सही खेलाडी थिएनन्। मुख्य प्रशिक्षक किशोर केसीले मिडफिल्डर पुजन उपरकोटीलाई रक्षक बनाएर खेलाउनु पर्‍यो। गोलरक्षक प्रदीप भण्डारी त दोस्रो रोजाइका भइगए।

यसपल्ट उसै पनि मिडफिल्डमा स्वाभाविक खेल देखाउन नसकिरहेका पुजन रक्षापंक्तिमा चलेनन्। चर्च ब्वाइजका मौसम सुब्बा, जोसेफ ओउसु र आशिष पुजनमाथि हाबी भइरहे। सुस्त गतिमा खेलेका पुजनले विपक्षी टिमको तीव्रता थेग्नै सकेनन्। दोस्रो हाफको ६१ औँ मिनेटमा रक्षक सुरज विक मैदान छिरेपछि मिडफिल्डमा सरेका पुजनले न त बल होल्ड गर्न सके न त गोलमुभ नै बनाउन सके। शारीरिक हाउभाउ हेर्दा पुजन थकित देखिन्थे। यस्तो लाग्थ्यो उनमा ‘म्याच फिटनेस’ को कमी छ।

मुख्य रक्षक नभएपछि गोलरक्षकको आत्मविश्वास केही हदसम्म कम भइहाल्छ। त्यसाथि प्रदीपका लागि त यो पहिलो खेल थियो। मछिन्द्र लिग च्याम्पियन बन्दा निर्णायक साबित भएका आन्द्रेस निया र फरवार्ड ओलावा पनि चर्च ब्वाइजविरुद्ध ऊर्जाविहीन देखिए। ‘बक्स–टु–बक्स’ खेल्ने नियाले चर्च ब्वाइजको क्षेत्रमा कमै मात्रामा बल पुर्‍याए। पुर्‍याएका बेला फाइनल थर्ड पास उपलब्ध गराउन ढिलो गर्थे।

अरुबेला फुर्तिका साथ ‘प्लेमेकर’ को भूमिका निभाउने उत्सव राई यो खेलमा भने फिक्का देखिए। विंगबाट लगभग शून्य गोल मुभ बनाएका प्रशान्त अवस्थीले दोस्रो हाफ खेल्न पाएनन्। उनको स्थान लिएका सौरभ लिम्बुकाे खेलमा प्रभाव देखिएन। न त कप्तान छिरिङ गुरुङले सदाको जस्तो ओभरल्यापमा गएर क्रस नै गर्ने गरे।

खेलपछिको पत्रकार सम्मेलनमा उपस्थित मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीको मुहार मलिन थियो। ‘मछिन्द्रलाई बिमारले सताएको छ। कोही खेलाडी घाइते छन्, कोही बिरामी। पहिलो रोजाइका खेलाडी उपलब्ध नभएपछि जुनियर खेलाडीलाई मौका दिएको हो। तर उनीहरुले खेल जित्न निर्णायक प्रदर्शन गर्नै सकेनन्। दुःख लागेको छ,’ किशोरले भने।

गत सिजन जावलाखेल युथ क्लबमा रहेका किशोर यसपालि मछिन्द्र सरेका हुन्। प्रवेश कटुवालल राष्ट्रिय टिमतिर लागेपछि किशोरले सातौँ खेलबाट मछिन्द्रको जिम्मा लिएका थिए। किशोर मुख्य प्रशिक्षक बन्दा मछिन्द्रसँग तीन अंक थियो। त्यसपछिका तीनमध्ये दुई खेल जितेर मछिन्द्रले सम्हालिने संकेत गर्‍यो। चर्च ब्वाइजसँग हार्नुअघि मछिन्द्र पाँच खेलमा अपराजित थियो। चर्च ब्वाइजसँग हारे पनि मछिन्द्रको चौथो स्थान सुरक्षित छ। सातदोबाटो युथ क्लब मंगलबार संकटासँग हारेकाले मछिन्द्र चौथो स्थानमै रहेको हो। १६ औँ चरण सकिँदा मछिन्द्रको २४ र पाँचौँ स्थानको सातदोबाटोको २३ अंक छ।

मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइजले शीर्षस्थानमाथि तीन अंकको अग्रता कायम गरेको छ। चर्च ब्वाइज र दोस्रो स्थानको जावलाखेल युथ क्लबले क्रमशः २७ र ३० अंक बटुलेका छन्। तेस्रो स्थानको थ्रीस्टार क्लबले हालसम्म २५ अंक जम्मा गरेको छ।

चर्च ब्वाइजसँग हारेपछि मछिन्द्र अब शीर्षस्थानबाट ६ अंकले पछि परेको छ। यद्यपि किशोरले लिग जित्ने लक्ष्य त्यागेका छैनन्। तर लक्ष्य पूरा गर्न चोटले व्यवधान पुर्‍याउन सक्ने उनको शंका छ। आफ्ना खेलाडीहरुले गरिरहेका गल्तीका कारण पनि उनी निराश छन्। ‘यदि बल समात्ने आत्मविश्वास छैन भने, बाहिर फाल्ने हो। गोलकिपिङमा यो आधारभूत ज्ञान हो। तर आज हाम्रा गोलरक्षकले त्यति पनि गरेनन्,’ किशोरले भने, ‘हाम्रा मुख्य स्ट्राइकर ओलावाले हुन्। तर उनी पनि निर्णायक पोजिसनमा पुग्दा फितलो देखिइरहेका छन्।’

मछिन्द्रले सोचे जस्तो प्रदर्शन गर्न नसक्नुमा किशोरले खेल तालिकालाई पनि दिए। ‘आज खेल्यौँ। भोलि रेस्ट। पर्सी अभ्यास। अनि भोलिपल्ट खेल। यस्तो कसिलो तालिका छ। यसले गर्दा पनि खेलाडी घाइते र थगकित भइरहेका छन्,’ किशोरले भने।

‘फुर्किन आवश्यक छैन’

यसैपालि शीर्ष श्रेणीको लिगमा उक्लिएको चर्च ब्वाइजले १६ मध्ये आठ खेल जितेको छ। ६ खेलमा बराबरीमा रोकिएको चर्च ब्वाइजले हारेको खेल संख्या जम्मा दुई हो। चर्च ब्वाइजलाई त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेलबाहेक अरुले पराजित गर्न सकेका छैनन्।

यी दुवै हार चर्च ब्वाइजले बालगोपाल महर्जन मुख्य प्रशिक्षक बनेपछि व्यहोरेको हो। बालगोपालको प्रशिक्षणमा खेल्दा चर्च ब्वाइजको अपराजित यात्रा अन्त्य भए पनि लिग उपाधि दाबेदार बनेको पक्का हो।

चर्च ब्वाइजलाई लगातार चौथो जित दिलाएपछि बालगोपाल स्वाभाविक रुपमा प्रशन्न देखिए। शीर्षस्थानमा फर्किए पनि आफ्नो टिम अहिल्यै फुर्किहाल्न नहुने प्रतिक्रिया दिए। ‘शीर्षस्थानमा फर्किएका छौँ। तर औधी खुसी हुनु हुँदैन। किनभने लिगमा जतिबेला जे पनि हुनसक्छ। खेलाडी थाक्दै गइरहेका छन्। जुनसुकै बेला लय बिग्रन सक्छ,’ बालगोपालले भने।

चच ब्वाइजले यसअघि मछिन्द्रसँग बराबरी खेलेको थियो। यसपालि भने जितको लक्ष्यसहित मैदान ओर्लिएको बालगोपालको भनाइ थियो। ‘खेलाडी प्रतिबद्ध छन्। सबै मिलेर यो लयलाई कायम राख्नुछ। मछिन्द्र लगायत धेरै टिमका खेलाडीहरु घाइते भइरहेका छन्। हाम्रा पनि केही खेलाडी घाइते छन्। तर उनीहरु लामो समय मैदानबाहिर रहने छैनन्,’ बालगोपालले थपे।

एन्फाका अनुसार यो खेलमा कुल १३ सय दर्शक उपस्थित थिए। एन्फा कक्पलेक्स जस्तो सानो ‘भेन्यु’ मा दिउँसो घाममा खेल खेलाइनु, टेलिभिजनमा लाइभ नहुनु लगायतका विषयमा पनि बालगोपालले टिप्पणी गरे। उसै पनि लिगमा कम दर्शक आइरहेका बेला उपाधि दाबेदारबीचको खेल दशरथ रंगशालामा साँझमा नगराएर दिउँसोको घाममा एन्फा कम्पलेक्समा गराउनु ठिक नभएको बालगोपालको भनाइ थियो।

‘निराशाजनक स्थिति छ। एस्ट्रो टर्फमा त्यो पनि दिउँसोको घाममा खेलाएको छ। गर्मी महिनामा दिउँसो एस्ट्रो टर्फमा झनै तात्तिन्छ। यस्तोमा खेल्दा खेलाडीको प्रदर्शनमा ह्रास आउँछ,’ बालगोपालले भने, ‘दर्शन आइरहेका छैनन्। यत्तिको महत्त्वपूर्ण खेल दिउँसोको सट्टा साँझमा दशरथ रंगशालामा खेलाउनु पर्ने हो। दर्शक कसरी तान्ने भनेर सोच्नु पर्ने हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =