सदनमा आरोपप्रत्यारोप, ‘मन्त्री बनेर मानव तस्कर गर्ने हामीबीचमै!

हिमाल प्रेस २४ वैशाख २०८० १८:३२
18
SHARES
सदनमा आरोपप्रत्यारोप, ‘मन्त्री बनेर मानव तस्कर गर्ने हामीबीचमै! प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा संसद्‌मा प्रतिपक्षी र सत्तापक्षीय सांसदबीच चर्काचर्की भएको छ। संघीय संसद्को आइतबार सुरु भएको दुवै सदनको बजेट अधिवेशनको पहिलो बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी काण्ड, एनेसल काण्ड, ललिता निवास प्रकरणका विषयलाई लिएर एकअर्कामाथि आरोपप्रत्यारोप लगाएका हुन्।

प्रतिनिधिसभा बैठकमा जसपाकी सांसद रञ्जुकुमारी झाले सांसद, मन्त्रीहरू बनेर मानव तस्कर गर्ने हामीबीचकै मान्छे हो भन्दा बडो दुःख लागेको बताइन्। उनले भनिन्, ‘बडो दुःख लागेको छ, हाम्रै बीचका व्यक्तिहरू मानव तस्करमा लागिसक्यो।’ उनले यस्ता विषयलाई पक्षविपक्ष बनाउन नहुने बताइन्।

कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभा बैठकमा सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न संसद्को ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘म नभएको दिनमा मेरो विषयमा पनि विभिन्न प्रश्न उठेका छन्। एउटा नारीले आफ्नो हैसियतमा बसेको असह्य हुँदो रहेछ। मैले केही बिराएको छैन। म डराउँदिनँ।’ उनले आफ्ना पति (कांग्रेस सभापति शेरबहादुर देउवा) को सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको बताइन्।

नेकपा एमालेका सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कसले दबाब दियो भनी प्रश्न गरे। उनले उक्त दबाब सार्वजनिक गर्न मागसमेत गरे।

थापाले क्यान्टोनमेन्टको भ्रष्टाचार र कमानसिंह लामा प्रकरणबारे पनि आफूले फिल्म हेर्न चाहेको बताए। प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भ्रष्टाचार प्रकरणबारे फिल्म देखाउन बाँकी रहेको बताएका थिए।

‘टेलिभिजनमा प्रधानमन्त्रीले भुटानी शरणार्थीको छानबिनमा दबाब छ, तर म दबाब स्वीकार गर्दिनँ भन्नुभएको सुनेँ,’ उनले भने, ‘दबाब कोसँग हो। उहाँलाई त्यो खुलाउन सभामुखलाई समय दिन माग गर्दछु।’

उनले आफूलाई जनताले जिताएर पठाएकोले उनीहरुको आवाज उठाएको भन्दै क्यान्टोमेन्टमा भएको भ्रष्टाचारको फिलिम हेर्न चाहेको बताए। ‘कोही पनि नक्कली भुटानी बनेर जान चाहाने व्यक्ति अपराधी हो,’ उनले भने, ‘त्यसमा रुवाबासी नगरौँ। जोजो संलग्न छन्, नछाडौँ, निर्दोषलाई नफसाइयोस्।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सबै भ्रष्टाचारका लागि सर्वदलीय छानबिन समिति गठन गर्न आग्रह गरे। उनले नेता उम्किने र कर्मचारी फसाउने काम भएको बताए।

‘सर्वदलीय भ्रष्टाचार भइरहेको छ। कर्मचारी फसाउने काम भइरहेको छ। जस्तै : सुडान घोटलामा तीन जना आईजी जेल गए,’ उनले भने, ‘अरू नेता चोखो भए। मसँग डकुमेन्ट छ। मुख्य सचिवको साइन छ। अडियो आइरहेको छ। बहालवाला सचिव थुनामा छ, मन्त्री कसरी चोखो हुन्छ?’

नेपाली कांग्रेसका रामहरि खतिवडाले आफू दोषी प्रमाणित भए राजनीतिक जीवनबाट अलग हुने घोषणा गरे। उनले भने, ‘मेरो नाम राखेर पूर्वप्रधानमन्त्रीको नाम जोडेर फलानाको पनि छानबिन हुनुपर्छ अनुरोध गरेको पाएँ। यदि त्यस्तो देखिए म सजाय भोग्नुका साथै राजनीति जीवनबाट बाहिरिन तयार छु। भ्रष्टाचारीलाई लुकाउनेलाई के कारबाही हुन्छ?’

माओवादीका माधव सापकोटाले प्रतिपक्ष दलहरूलाई  नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरे। उनले आरोपित एमालेका सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरामा बुझाउन पनि आग्रह गरे।

एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको बताए। उनले एमालेले सोही विषय यसअघि नै राष्ट्रियसभा बैठकमा उठाएको पनि स्मरण गराए।

उनले आफ्नो दल  भ्रष्टाचार र अनियमितता छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा दृढ रहेको बताए। उनले भने, ‘वाइडबडी काण्ड, बाँसबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरूको प्रवेशलगायतको विषयमा पनि छानबिन गर्नुपर्छ।’

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षीय व्यक्तिहररूलाई उन्मुक्ति दिने दूषित मनशाय देखिएको बताए। उनले आरोपितहरूको बयान लुकाउन लागिएको भन्दै पारदर्शी तरिकाले छानबिन गर्न माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नागरिकलाई  बिदेसिन नागरिकता त्याग्नसमेत बाध्य पार्ने राजनीतिक दलहरु भएको भन्दै शरणार्थी बन्न बाध्य पार्नेहरूलाई कारबाहीको माग गरे।

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले थुनामा रहेका आरोपितलाई सरकारी वकिलका अगाडि बयान फेर्न दबाब दिइएको बताए। कांग्रेसकी सांसद सरिता प्रसाईंले संसदमा पक्ष र विपक्ष भएर भ्रष्टाचारीलाई जोगाउन नपाइने धारणा राखिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको  भ्रष्टाचार आयोग बनाएर छानबिन गर्न माग गरे। एकीकृत समाजवादीका मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन सरकारले नै आपराधिक काम गरेको आरोप लगाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसदमा सत्तापक्ष र विपक्षीले भ्रष्टाचारको मात्रै कुरा गरिरहेको भन्दै गणतन्त्र यही दिनका लागि ल्याएको हो भनी प्रश्न गरे।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाणमाथि पक्राउ पुर्जी जारी हुन नसकेको हो भन्दै सरकारसँग प्रश्न गरेका थिए। उनले भने, ‘आरजु देउवाले अढाई करोड र बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणले ६ करोड बुझेको  भन्ने अडियो प्रकरण आएको छ। उनीहरूलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन।’

प्रकाशित: २४ वैशाख २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =