‘प्रशिक्षकले क्लब परिवर्तन गर्न पाउने भए खेलाडीले पनि पाउनुपर्छ’

हिमाल प्रेस २३ वैशाख २०८० १९:४८
310
SHARES
‘प्रशिक्षकले क्लब परिवर्तन गर्न पाउने भए खेलाडीले पनि पाउनुपर्छ’ मनाङ मर्स्याङ्दी क्लबका नयाँ मुख्य प्रशिक्षक विष्णु गुरुङ (दायाँ)

काठमाडौँ- किरण श्रेष्ठले वैशाख १८ गते राजीनामा दिएपछि मनाङ मर्स्याङ्दी क्लब मुख्य प्रशिक्षकविहीन बनेको थियो। व्यक्तिगत कारणले पद त्यागेको भनिए पनि किरणले मनाङ छाड्नुको कारण प्रस्ट थियो, सहिद स्मारक ए डिभिजन लिगमा भइरहेको खराब प्रदर्शन। मनाङले लगातार ६ खेल हारेपछि किरण स्वाभाविक रुपमा दबाबमा थिए।

किरणले राजीनामा दिएको दुई दिनपछि मनाङ दशरथ रंगशालामा ओर्लियो, त्रिभुवन आर्मी फुटबल क्लबसँग भिड्न। गोलरक्षक प्रशिक्षक प्रवीण श्रेष्ठ ‘टचलाइन’ मा देखिएको खेलमा मनाङले आर्मीलाई १-० ले पराजित गर्‍यो। कोफी टिमोथी कौडेले आतिरिक्त समयमा गरेको गोलले मनाङको हार शृंखलालाई रोक्यो।

मनाङ आफ्नो १५ औँ खेल खेल्न शनिबार दशरथ रंगशाला फर्कियो। यसपटक ‘टचलाइन’ मा थिए, विष्णु गुरुङ। जो बिहीबार मात्र मनाङको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। उनको प्रशिक्षणमा पहिलो खेल खेल्दा मनाङले सातदोबाटो युथ क्लबलाई गोलरहित बराबरीमा रोकेको छ।

सातौँ चरणसम्म शीर्षस्थानमा रहेको मनाङ लगातारको हारले रेलिगेसन क्षेत्रतर्फ अघि बढेको थियो। १३ औँ चरणको समाप्तिमा मनाङले ओगटेको स्थान थियो, १२ औँ। तर सरासर दुई खेलमा अंक बटुलेपछि मनाङ हाल आठौँ स्थानमा छ। मनाङसँग कुल १९ अंक छ, जुन एक खेल कम खेलेको नेपाल एपीएफ क्लबसँग बराबर हो। उता सातदोबाटो भने २३ अंकका साथ चौथो स्थानमा यथावत् छ। शीर्ष दुईमा रहेका चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लबले १५-१५ खेलबाट क्रमशः २७ र २४ अंक बटुलेका छन्।

रेलिगेसन क्षेत्रबाट चार अंकले माथि रहेको मनाङ आउँदा खेलमा अधिकतम अंक बटुल्ने लक्ष्यका साथ अघि बढ्ने विष्णुको भनाइ थियो। ‘आज एक अंक हात पर्‍यो। यो नराम्रो अंक होइन। हामी यस्तो स्थितिमा छौँ कि हाम्रा लागि एक-एक अंकको महत्त्व छ। यसकारण एक अंक होस् वा तीन अंक, जति प्राप्त भए पनि हामी खुसी हुनेछौँ,’ विष्णुले भने, ‘अपराजित लयलाई कायम राख्नुछ। अहिले टिमलाई चाहिएको स्थिरता हो। प्रशिक्षकका रुपमा मेरो लक्ष्य स्थिरता र आउँदा खेलमा अधिकतम अंक बटुल्नु नै हो।’

खेलाडी हुँदा मनाङबाट खेल्ने सपना पूरा नभए पनि प्रशिक्षकका रुपमा यो क्लबलाई नेतृत्व गर्ने अवसर पाएकोमा खुसी लागेको विष्णुको भनाइ थियो। ‘खेलाडी हुँदाको सपना पूरा भएन। अब आएर प्रशिक्षण दिने अवसर पाएको छु। क्लब व्यवस्थापनले मलाई दुई वर्षको समय दिएको छ। नेपाली फुटबलमा एउटा क्लबले प्रशिक्षकलाई दुई वर्षको समय बिरलै दिन्छ,’ विष्णुले भने।

लामो समय थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेलेको पोखरेली विष्णु पोखराकै किरणको स्थानमा लिइरहँदा आइपर्ने चुनौतीबारे जानकार छन्। ‘प्रशिक्षकको कुर्सीमा बसेपछि नतिजा नै मुख्य शर्त हो। सोचेजस्तो नतिजा नआए दबाबमा परिन्छ नै,’ विष्णुको भनाइ थियो।

ए डिभिजन लिगमा विष्णुको यो दोस्रो सिजन हो। गत सिजन उनी संकटा क्लबको मुख्य प्रशिक्षक थिए। यसपालि उनलाई एफसी खुमलटारले प्राविधिक निर्देशक बनाउको थियो। तर त्यो पदबाट राजीनामा दिँदै विष्णु मनाङ सरेका हुन्। मनाङले विष्णुलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गर्दैगर्दा अखिल नेपाल फुटबल संघ एन्फाले मान्यता दिन्छ वा दिँदैन भन्ने अन्योल थियो।

किनभने एन्फाको प्रतियोगिता नियमावलीमा प्रशिक्षकको स्थान्तरणबारे केही खुलाइएको छैन। यद्यपि एन्फाको नियम अनुसार सिजनको बीचमा खेलाडी भने एक क्लबबाट अर्कोमा सर्न पाउँदैनन्। विष्णु खुमलटारमा प्रशिक्षकको भूमिकामा नभई प्राविधिक निर्देशकका रुपमा कार्यरत रहेकाले क्लब स्थान्तरण गर्न पाउने तर्क अघि सारिएको छ।

यो विषयमा विष्णुलाई शनिबारको ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा सोधियो। उनले सबै प्रक्रिया क्लब व्यवस्थापनले पूरा गरेको जवाफ दिए। सिजन जारी रहँदा प्रशिक्षकले क्लब परिवर्तन गर्न पाउने भए खेलाडीको हकमा किन फरक नियम? यसबारे विष्णुको धारणा मागियो।

‘व्यक्तिगत रुपमा मेरो धारणा खेलाडीले क्लब परिवर्तन गर्न पाउनु पर्छ भन्ने हो। किनभने राम्रा खेलाडी पनि बेन्चमा बस्न बाध्य भइरहेका हुन्छन्। उनीहरु अर्को क्लब गए खेल्न पाउने सम्भावना हुन्छ। छोटो विश्राम पाइने यो लिगमा खेलाडी स्थान्तरण फाइदाजनक हुन्छ। यसो भए स्थान्तरणमार्फत खेलाडीको संख्या बढाउन सकिन्छ, भएका खेलाडीले पर्याप्त आराम पाउन सक्छन्,’ विष्णुले भने।

सातदाबाटो युथ क्लबका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ पनि खेलाडी स्थान्तरणका विषयमा विष्णुसँग सहमत देखिए। ‘यदि प्रशिक्षकले क्लब परिवर्तन गर्न पाउँछन् भने खेलाडीले पनि पाउनु पर्छ। यसो हुँदा एउटा क्लबको बेन्चमा सीमित खेलाडीले अर्को क्लबमा गएर खेल्नसक्छ। यो विकल्प खुला हुनुपर्छ,’ सनोजले भने।

प्रकाशित: २३ वैशाख २०८० १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =