ए डिभिजन लिग : अंकतालिकाको शिरदेखि पुछारसम्मै तीव्र प्रतिस्पर्धा

हिमाल प्रेस २२ वैशाख २०८० २१:३६
66
SHARES
ए डिभिजन लिग : अंकतालिकाको शिरदेखि पुछारसम्मै तीव्र प्रतिस्पर्धा

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग जारी रहँदा निकै सुनिने गरेको तर्क हो, लिगको स्तर घट्यो। क्लबका प्रशिक्षकहरूले नै यस्तो जिकिर गरिरहेको छन्। राष्ट्रिय टिम र घरेलु लिगमा स्थापित खेलाडीहरूको ठूलो संख्या बाहिरिएपछि यस्तो जिकिर भइरहेको हो।

लिगको स्तर घटेको हो कि होइन? यसको पक्ष वा विपक्षमा दर्जनौँ तर्क प्रस्तुत हुन सक्छन्। सहमति र असहमति जनाउन सकिन्छ। तर लिग रोमाञ्चकारी भइरहेकोमा भने शंका गर्ने ठाउँ छैन। कम्तीमा अंकतालिका रोमाञ्चको प्रमाण हो।

शीर्षस्थानका लागि जुन स्तरको प्रतिस्पर्धा भइरहेको छ, त्यही स्तरको प्रतिस्पर्धा रेलिगेसन क्षेत्रमा पनि देखिएको छ। कतिसम्म भने अहिले पुछारमा रहेको फ्रेन्ड्स क्लबले शनिबार थ्रीस्टार क्लबलाई हराए नवौँ स्थानमा पुग्नेछ। फ्रेन्ड्ससँग १४ खेलबाट १५ अंक छ। एक खेल बढी खेलेको नेपाल पुलिस क्लबसँग पनि १५ अंक नै छ। शुक्रबार हिमालयन शेर्पा क्लबसँग हारेपछि नेपाल पुलिस क्लबले तीन स्थानमाथि उक्लिने मौका गुमायो।

दशरथ रंगशालामा पुलिसलाई हराउन हिमालयन शेर्पाका अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले एकएक गोल गरे। पुलिसका तर्फबाट सौजन राईले एक गोल फर्काए।

शुक्रबार भएको अर्को खेलमा एफसी खुमलटारले शीर्षस्थानको जाउलाखेल युथ क्लबलाई ४-२ ले स्तब्ध बनायो। खुमलटारको जितमा स्टिफन समिर बिनोङले ह्याट्रिक गरे। पहिलो हाफको २० औँ र थपिएको समयमा गोल गरेका बिनोङले ५१ औँ मिनेटमा तेस्रो गोल गरे। खुमलटारका अर्का विदेशी फरवार्ड पियर जिन मारी मेसुके ओलौमौउले ९० मिनेट कटेपछि गोल गरे।

पहिलो हाफको ४३ औँ मिनेटमा रोहित सुब्बाले आफ्नै पोस्टमा गोल गर्दा जावलाखेल बराबरीको स्थितिमा पुगेको थियो। तर लगत्तै ओलोमौउले गोल गरेपछि खुमलटार खेलमा अघि बढ्यो। विनोद केसीले दोस्रो हाफको निर्धारित समय सकिएपछि गोल गरे पनि हार टार्न पर्याप्त भएन।

खुमलटारको यो जितले जावलाखेलको उपाधि लक्ष्यमा धक्का त पुग्यो नै, रेलिगेसन क्षेत्रकै समीकरण पनि परिवर्तन गरिदियो। कमसेकम हालका लागि। तीन खेलपछि जित हात पारेको खुमलटार अब ११ औँ स्थानमा उक्लिएको छ। १३ औँ चरणको समाप्तिमा खुमलटार १३ औँ स्थानमा थियो।

लगातार चौथो खेलमा जितविहीन बनेको जावलाखेल शीर्षस्थानमा यथावत् छ। १४ खेलबाट २४ अंक जम्मा गरेको जावलाखेलको शीर्षस्थान सुरक्षित भने छैन। किनभने दोस्रो स्थानकोे चर्च ब्वाइज युनाइटेडको पनि २४ अंक छ, त्यो पनि एक खेल कम खेलेर। शीर्ष पाँचमा रहेका अन्य तीन क्लब पहिलो स्थानबाट टाढा छैनन्। तेस्रो स्थानको थ्रीस्टार, चौथो स्थानको सातदोबाटो युथ क्लब र पाँचौँ स्थानको मछिन्द्र क्लबसँग क्रमशः २३, २२ र २१ अंक छ। यी तीन क्लबले पनि जावलाखेलको भन्दा एक-एक खेल कम खेलेका छन्।

चर्च ब्वाइज, थ्रीस्टार र सातदोबाटो शनिबार मैदान ओर्लिदैँछन्। चर्च ब्वाइजले १० औँ स्थानको न्युरोड टिम एनआरटीको सामना गर्नेछ भने थ्रीस्टारको भेट अर्को ललितपुरे क्लब फ्रेन्ड्ससँग हुनेछ। सातदोबाटोलाई मनाङ मस्र्याङ्दी क्लबले चुनौती पेश गर्नेछ। मछिन्द्र भने आइतबार नेपाल एपीएफ क्लबसँग आमनेसामने हुनेछ। यी खेलका नतिजाले शीर्ष पाँचमा हलचल ल्याउन सक्छन्।

जसरी दोस्रोदेखि पाँचौँ स्थानसम्मका क्लबको नजर शीर्षस्थानमाथि छ, त्यसरी नै शीर्ष पाँचभित्र छिर्ने लक्ष्यमा छैटौँ स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र आठौँ स्थानको एपीएफको छ। आर्मी र एपीएफले क्रमशः २० र १९ अंक बटुलेका छन्। गत बुधबार मनाङसँग हारेको आर्मी आइतबार संकटा क्लबसँग भिड्दैछ।

मौका गुमाएको पुलिस

यसपालिको लिगमा सर्वाधिक सुरुवात गरेको क्लब हो, पुलिस। पहिलो अंक बटुल्नै पुलिसले पाँचौँ खेलसम्म पर्खनु पर्‍यो। लगातार हार व्यहोरिरहेपछि पुलिस स्वतः रेलिगेसनको दाबेदारमा गनिन थाल्यो। औसत टिम निर्माण गरेर लिगमा होमिएको पुलिसले आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दा पनि अचम्म मानिएन। कारण उही, औसत खेलाडी।

प्रत्येक खेलमा हारको नतिजा खेप्नु परे पनि मुख्य प्रशिक्षक चेतन घिमिरे भने कहिल्यै पराजित मानसिकतामा देखिएनन्। रेलिगेसनबाट बच्न सकिन्छ भन्ने आत्मविश्वास उनले देखाइरहे। उनी यसरी आत्मविश्वासी हुनुको कारण थियो, पुलिसले भित्र्याउन लागेका विदेशी खेलाडी।

हरेक हारपछि पत्रकार सम्मेलनमा विदेशी खेलाडी ल्याउने प्रक्रिया चलिरहेको बताउने चेतनले सातौँ चरणको खेलमा घानाका दुई खेलाडीलाई मैदान उतारे। पहिलो पटक विदेशी खेलाडी खेलाएको खेलमा पुलिसले ‘रेलिगेसन राइभल’ फ्रेन्ड्सलाई ३- १ ले पन्छायो। नयाँ सिजनको लिगमा पहिलो जित दर्ता गर्दा पुलिसमा हर्ष छाउने नै भयो। विदेशी खेलाडी मोसेस ग्याबाह टुमले गोलको खाता खोल्नु गतिलो बोनस भयो।

लिगमा लगत्तै थ्रीस्टारसँग हारे पनि पुलिसले त्यसपछिका ६ खेलबाट ११ अंक बटुल्यो। विदेशी खेलाडीको बलमा एकाएक लयमा फर्किएको पुलिसले सातदोबाटो र आर्मीलाई गोलरहित बराबरीमा रोक्यो भने मनाङ, खुमलटार र जावलाखेललाई पराजित गर्‍यो। पुलिसले कायम गरेको चार खेलको अपराजित शृंखला शुक्रबार भने भत्कियो। अपराजित लय कायम रहेकाे भए पुलिस अंक तालिकाकाे मध्यभागतिर अघि बढ्ने थियाे।

उसो त पराजित पुलिसले हिमालयन शेर्पाविरुद्ध गोलको पर्याप्त मौका सिर्जना गरेको थियो। तर १८ यार्ड बक्समा फितलो टच लिन नछाडेका पुलिसका खेलाडीले बारम्बार मौका खेर फाले।

हिमालयन शेर्पाविरुद्ध पुलिसले चार विदेशी खेलाडीलाई पहिलो एघारमा राखेको थियो। पुलिसका मुख्य प्रशिक्षक चेतनले दोस्रो हाफको उत्तराद्र्धमा विदेशी खेलाडीको स्थानमा विदेशी खेलाडी नै छिराए। गोलका बग्रेल्ती अवसर खेर फालेका सर्ज डिकाको स्थानमा भारतका मोहम्मद आशिक शौकाथली मैदान प्रवेश गरेका थिए। तर खेलाडी परिवर्तनले पनि पुलिसको फिनिसिङमा परिवर्तन ल्याएन।

यस्तो लाग्थ्यो, पुलिसका स्वदेशी र विदेशी खेलाडीबीच मौका खेर फाल्ने प्रतिस्पर्धा चलिरहेको छ। पहिलो हाफको ३० औँ मिनेटमा गोल गरेका सौजनले ४५ मिनेटभित्रै ह्याट्रिक गर्नसक्थे, यदि कमजोर फिनिसिङमा नअड्किएको भए। गोल गरेको केही मिनेटपछि र पहिलो हाफ सकिनै लाग्दा सौजनले रिबाउन्ड बल पाएका थिए। दुवै पटक बक्सभित्रबाट प्रहार गर्न पाएका सौजनले गोल थप्न सकेनन्।

दोस्रो हाफमा भने मौका खेर फाल्न विदेशी खेलाडीले तछाडमछाड गरे। एहम्मद हिजागीले दोस्रो हाफको इन्जुरी समयमा वान भर्सेस वानमा पनि गोल गर्न सकेनन्। उनले मोसेसको क्रस नियन्त्रणमा लिँदा हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी आफ्नो क्षेत्रबाट बाहिर आइसकेका थिए।

यस्तोमा हिजागीले गरेको ‘चिप’ प्रहार किशोरले ब्लक गरिदिए। १५ मिनेटअघि मोसेसको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो। कसैको निगरानीमा नरहेका मोसेसलाई सौजन्यले क्रस उपलब्ध गराएका थिए। खेल उत्तराद्र्धमा रहँदा मोसेसले १८ यार्ड बक्स वरपर निकै पटक बल पाए। तर उनी हिमालयन शेर्पाका लागि ‘थ्रेट’ साबित भएनन्।

‘रेलिगेसनबाट बच्नेमा ढुक्क’
लिग १५ औँ चरणमा आइपुग्दा आठौँ पराजय भोगे पनि पुलिसका मुख्य प्रशिक्षक चेतनले रेलिगेसनबाट बच्ने आशा नमारेको प्रतिक्रिया दिए। ‘अझ धेरै खेल बाँकी छन्। यसकारण रेलिगेसनबाट उम्किने विश्वास छ,’ चेतनको भनाइ थियो।

हारे पनि आफ्ना खेलाडीले स्तरीय प्रदर्शन गरेको पनि चेतनले बताए। विदेशी खेलाडीको आगमनपछि टिम सन्तुलित भएको चेतनको स्वीकारोत्ति थियो। ‘विदेशी खेलाडी र बाँकी खेलाडीबीच तालमेल मिलिरहेको छ। समग्र प्रदर्शन सन्तुलित देखिन्छ। विदेशी खेलाडीका कारण नेपाली खेलाडीमा पनि मनोबल बढेको छ,’ चेतनले भने, ‘आजको प्रर्दशन नराम्रो थिएन। बस् गोल भएन। पाएका ५- ६ मौका खेर गए। कमजोर फिनिसिङका कारण हारियो।’

उता हिमालयन शेर्पाका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले हालको लयलाई जारी राख्न आवश्यक रहेको बताए। हिमालयन शेर्पा पछिल्ला पाँच खेलमा अपराजित छ। ‘पाँच खेलमा हारेका छैनौँ। यो लयलाई जारी राख्नुपर्छ। फुर्किनु हुँदैन। किनभने एक खेल हारे मात्र पनि अंक तालिकामा निकै तल परिने अवस्था छ,’ सुमनले भने, ‘लिगका सबै टिमको स्तर १९/२० छ। स्तरमा धेरै फरक नभएपछि जसले जसलाई पनि हराउन सक्छन्। यस्तोमा प्रत्येक खेलमा मेहनत गर्दै जाने हाम्रो लक्ष्य हो।’

प्रकाशित: २२ वैशाख २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seventeen =