कीर्तिमानबारे सोचे पागल हुन्छु : एर्लिङ हालान्ड

हिमाल प्रेस २१ वैशाख २०८० १०:००
12
SHARES
कीर्तिमानबारे सोचे पागल हुन्छु : एर्लिङ हालान्ड

काठमाडौँ- एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा ३५ औँ गोल गर्दा म्यानचेस्टर सिटीले वेस्टहयाम युनाइटेडमाथि ३-० को जित दर्ता गरेको छ। यो जितले सिटीलाई शीर्षस्थानमा फर्कायो। अब सिटी र आर्सनलबीच एक अंकको फरक छ। त्यसमाथि सिटीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ।

बुधबार राति नै भएको अर्को खेलमा लिभरपुलले फुलहमलाई १-० ले पन्छायो। लिगमा लगातार पाँचौँ जित हात पारेपछि लिभरपुल अब पाँचौँ स्थानमा उक्लिएको छ।

रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको वेस्टह्यामलाई हराउन सिटीका लागि सजिलो भएन। सिटीले तीनवटै गोल दोस्रो हाफमा मात्र गर्न सक्याे। इत्तिहादमा सिटीको पहिलो गोल रक्षक नाथन आकेले गरे। दोस्रो गोल भने हालान्डको नाममा रह्यो। सिटीका लागि हालान्डले ५१ औँ गोल गरेका हुन्। निर्धारित समय सकिनै लाग्दा फिल फोडन पनि गोलकर्ताको सूचीमा थपिए।

गत आइतबार फुलहमविरुद्ध गोल गरेसँगै हालान्डले प्रिमियर लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको थिए। अब भने सर्वाधिक गोलको कीर्तिमान हालान्डकाे नाममा मात्र रहनेछ। किनभने यसअघिका कीर्तिमानधारी आन्ड्रिउ कोल र एलन सियररले ३४-३४ गोल मात्र गरेका थिए।

सन् १९९३/९४ सिजनमा काेलले न्युकासल युनाइटेडका लागि ४० खेलमा ३४ गोल गरेका थिए। त्यसको एक सिजनपछि ब्लाकबर्न रोभर्स लिग विजेता बन्दा सियररले ४२ खेलमा ३४ गोल गरे। तर हालान्डले ३१ खेलमै कोल र सियररले राखेको कीर्तिमान भंग गरेका हुन्।

प्रिमियर लिग पुगेकै सिजन कीर्तिमान राखे पनि हालान्डले यसबारे नसोचिरहेको प्रतिक्रिया दिए। ‘यी कीर्तिमानबारे म सोच्दिनँ। सोच्न थाले भने म पागल हुन्छु। बरु म घर जान्छु, भिडियो गेम खेल्छु, केही खान्छु अनि सुत्छु,’ जितपछि हालान्डले भने।

नर्वेका यी २२ वर्षीय स्ट्राइकरले मैदान छाड्दा सिटीका अन्य खेलाडीले ताली बजाएर ‘गार्ड अफ अनर’ दिएका थिए। हालान्डको यो अनुपम सफलतालाई लिएर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि दंग देखिए। हालान्डलाई उनका साथीहरूले दिएको सम्मानको पनि ग्वार्डिओलाले प्रशंसा गरे।

‘फुटबलमा विशेष सफलता पाएका बेला खुसीयाली मनाउनु पर्छ। परिस्थितिलाई विशेष बनाउनु पर्छ। हामी सबै हालान्डको सफलतामा खुसी छौँ। भविष्यमा यो कीर्तिमानमा सुधार हुने नै छ। सायद सुधार हालान्ड आफैँले गर्नेछन्,’ ग्वार्डिओलाले भने।

च्याम्पियन टिमको मैदान पुग्दा वेस्टह्यामसँग कप्तान डेक्लान राइससहित अन्य केही खेलाडी थिएनन्। मिडफिल्डरद्वय राइस र टोमस सौचेक अनि नायफ अगुर्ड बिरामी भएका कारण टिममा नपरेका हुन्। वेस्टह्यामले यसअघि नै केही खेलाडी चोटका कारण गुमाइसकेको थियो। यसकारण मोयसले सिटीसँगको खेलमा गोलरक्षकबाहेक पाँच खेलाडी मात्र बेन्मा राख्न पाए।

पेनाल्टी गोलले बचायो लिभरपुललाई
एनफिल्डमा लिभरपुलले पहिलो हाफको ३९ औँ मिनेटमा पेनाल्टी पाएको थियो। उरुग्वेली स्ट्राइकर डार्विन नुनेजलाई रक्षक इसा डियोपले लडाएपछि लिभरपुललाई पेनाल्टी दिइएको थियो। जसलाई सलाहले खेर जान दिएनन्।

यो जितपछि लिभरपुलले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको दूरी चार अंकमा झा¥यो। लिभरपुलसँग ३४ खेलबाट ५९ र युनाइटेडसँग त्यति नै खेलबाट ६३ अंक छ। पराजित फुलहम भने ४५ अंकसहित १० औँ स्थानमा छ।

घरेलु टिमविरुद्ध फुलहमले पटक पटक आक्रमण बुनेको थियो। तर फुलहमका गोल प्रयास लिभरपुलका गोलरक्षक एलिसनले विफल बनाइरहे। रक्षकहरूको प्रदर्शन भनेजस्तो नरहँदा एलिसन लिभरपुलको अग्रता बचाउन निर्णायक साबित भए।

हालको लय शीर्ष चारका लागि पर्याप्त हुने ठेगान नभए पनि यसले आगामी सिजनका लागि जग निर्माण गरिरहेको लिभरपुलका प्रशिक्षक योगर्न क्लपको भनाइ थियो। ‘हाल हामीले जसरी खेलिरहेका छौँ, यसले हामीलाई अर्को सिजन मद्दत गर्नेवाला छ। यसकारण म मेरा खेलाडीहरूसँग खुुसी छु,’ क्पलपले भने।

प्रकाशित: २१ वैशाख २०८० १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =