प्रधानन्यायाधीश नियुक्त नभएपछि लगातार आन्दोलनमा बार

हिमाल प्रेस २१ वैशाख २०८० ८:१९
6
SHARES
प्रधानन्यायाधीश नियुक्त नभएपछि लगातार आन्दोलनमा बार

काठमाडौँ- लामो समयसम्म प्रधानन्यायाधीश नियुक्ति नभएको भन्दै नेपाल बार एसोसिएसन लगातार आन्दोलनमा छ।
नेपाल बार एसोसिएसनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहने भएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबारदेखि आन्दोलनमा उत्रिएको बारको आन्दोलन पाँचौ दिनमा पनि जारी रहने भएको हो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार नेपाल बारका सबै ९० इकाइहरूले एक साथ आन्दोलन गरिररहेका छन्। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु हुँदैन तबसम्म आन्दोलन जारी नै रहनेछ।

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको हो, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन। त्यसमा राजनीतिक खिचातानी भएको छ। तर अब बिलम्ब नगरी प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ।’

उनले भने, ‘यदि कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा जानेछ।’ उनका अनुसार आगामी शुक्रबारसम्म माग पूरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुदैँ आएको छ। यसअघि पनि बारले प्रधानन्यायाधीश नियुक्तिका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराइसकेको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रधानन्यायाधीश नियुक्तिका लागि १० दिने अल्टिमेटम दिएको थियो। सोही मिति गुज्रिएपछि बारले आन्दोलन थालेको हो।

प्रधानन्यायाधीश नियुक्ति भने तत्काल हुने सम्भावना छैन। संवैधानिक परिषद्मको बैठकमा दलहरूबीच सहमति नबन्दा प्रधानन्यायाधीश नियुक्ति रोकिएको हो। १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले चलाइरहेका छन्।

 

प्रकाशित: २१ वैशाख २०८० ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =