तातोपानी नाकाबाट मान्छे आवतजावतमा अझै प्रतिबन्ध

हिमाल प्रेस १९ वैशाख २०८० १३:१४
2
SHARE
तातोपानी नाकाबाट मान्छे आवतजावतमा अझै प्रतिबन्ध तातोपानी नाका। फाइल तस्बिर

काठमाडौँ– नेपाल-चीन व्यापारिक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा आए पनि मान्छेको आवतजावतमा भने प्रतिबन्ध रहेको छ। २०७२ को भूकम्पपछि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाकाबाट सोमबारदेखि दुईतर्फी आयातनिर्यात खुला भएको हो।

आयातनिर्यात सञ्चालनमा आए पनि मानव आवतजावत प्रतिबन्ध रहेकाे तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए। उनले भने, ‘मानव आवतजावत तत्काल खोल्ने सम्भावना छैन।’

नाका दुईतर्फ सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको छ। सोमबार करिब ३७ लाख मूल्य बराबरको सामान निर्यात भएको केसीले बताए।

नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुसी लागेको बताए।

उनले सरकारले नेपाली सामान निर्यातका लागि कूटनीतिक पहल गर्न आवश्यक रहेकोमा जोड दिए। व्यवसायी विजय शेर्पाले तीन ट्रक मुढा र म्याट्रेस चीनले तामझाम गरेर लगेको जानकारी दिए। चीनबाट बिस्कुट, सलाई, मैदा, कस्मेटिक सामान माग भइरहेको उनको भनाइ छ।

अर्का निर्यात व्यवसायी अनिरुद्र थापाले लामो समयपछि तातोपानाी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रुपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरिएको बताए।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुला भएको हो। नाका दुवैतर्फ सञ्चालनमा आएसँगै नेपाल–चीन आयात र निर्यातमा सहजीकरण हुने भएको छ।

प्रकाशित: १९ वैशाख २०८० १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =