खुल्यो तातोपानी नाका, आएन सामान

हिमाल प्रेस ११ जेठ २०८० १३:१०
14
SHARES
खुल्यो तातोपानी नाका, आएन सामान कोदारी राजमार्गको सिन्धुपाल्चोकको बाह्रबीसे–तातोपानी खण्डमा गुडिरहेका गाडी।

काठमाडौँ- लामो समयदेखि बन्द रहेको नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी वैशाख अन्तिमबाट सञ्चालनमा आयो। तर सामान ओसारपसार भने सहज भइसकेको छैन। कारण हो, सडकको दुरावस्था।

नेपालतर्फको बाह्रबीसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिम बढाएको छ, जसकारण व्यवसायीहरूहले सामान आयात गर्नै छाडेका छन्। सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरूले अर्को नाकाबाट सामान आयात गर्ने गरेका छन्।

सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरूले बर्सेनि सास्ती भोग्नु परिरहेको छ। तातोपानी क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरु भएसँगै सडकमार्ग जीर्ण बन्ने गर्छ।

नेपाल–चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले सधैँ ग्रसित छ। चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण भासिने गरेको छ।

व्यवसायीहरूले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबीसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।

तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए। उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा ‘साइड’ दिने ठाउँसमेत नहुने अवस्था रहेको बताए। उनले कन्टेनर बेलाबेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत बताए।

दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ। व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रूपमा गुड्न सक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भए पनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सकेको छैन।

व्यवसायी विजय शेर्पाले बाह्रबीसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताए।सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको उनको भनाइ छ।

चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवसायीहरू नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन्। व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौँसम्म ल्याउनका लागि सडक जीर्ण भएकाले असहज भइरहेको बताए।

उनले सरकारले तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताए। उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए। सडक जीर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौँ पुर्‍याउँदा बढ्ने गरेको उनी बताउँछन्।

तोतापानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारीसाधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ। तातोपानी नाका सहज रूपमा सञ्चालनमा आए पनि सडक मार्गको अवस्था नाजुक र जीर्ण भएकाले सामान ढुवानीमा समस्या हुँदै आएको छ। कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षायाममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ। -नेपाल न्युज एजेन्सी

प्रकाशित: ११ जेठ २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =