उत्तरी नाकाबाट पनि भित्रिन थाल्यो मल

हिमाल प्रेस ७ जेठ २०८० १२:२२
2
SHARE
उत्तरी नाकाबाट पनि भित्रिन थाल्यो मल तातोपानी नाका। फाइल तस्बिर

काठमाडौँ- उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएको छ। तातोपानी नाकाबाट पछिल्लो साता करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ।

सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताए। उनका अनुसार ट्रान्सपोर्टले यसअघि नै ३५ सय टन कृषि समग्री र ४ हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकेको छ। चीनमा कोभिडका कारण रोकिएको मल अहिले आएको हो।

तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन छ। बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको सत्यालले जानकारी दिए। तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टेनर भित्रिएका छन्।  उनले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भए पनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताए। सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने उनको भनाइ छ।

भन्सारमा आएको मलको परीक्षण र इनपेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने सत्यालले बताए।  रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत ल्याइएको हो।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो साता रासायनिक मल आयात भइरहेको जानकारी दिए। उनले चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताए। उनले पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए।

तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य भए पनि अहिलेसम्म दुई अर्ब ५४ करोड अर्थात् ४५ प्रतिशत मात्रै राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ। आयातको अवस्था हेर्दा कम्तीमा ६२ प्रतिशतसम्म राजस्व संकलन हुने अवस्था देखिएको छ।

तातोपानी भन्सार व्यवस्थापनको जिम्मवारी पाएको ट्रान्सिल ट्रमिनल्सका प्रवन्धक अनिरुद्र थापाले पछिल्लो एक सातादेखि दैनिक ८ कन्टेनर रासायनिक मल आयात भइरहेको जानकारी दिए।

उत्तरी नाकाबाट पनि रासायनिक मल भित्र्याएकाले किसानले समयमै प्रयोग गर्न पाउने देखिएको छ। चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो। भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको छ। भूकम्पपछि ठप्प तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा एकतर्फ रुपमा सञ्चालनमा आइरहेको थियो। गत मे १ देखि आयातनिर्यातका लागि नाका सञ्चालनमा आएको छ।

प्रकाशित: ७ जेठ २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =