धनकुटाका २ हजार ५ सय बढी दुग्ध किसानलाई प्रोत्साहन

हिमाल प्रेस १५ वैशाख २०८० २०:५०
4
SHARES
धनकुटाका २ हजार ५ सय बढी दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा– धनकुटाका २ हजार ५ सय ८३ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम पाउने भएका छन्। कोशी पदेश सरकारले अनुदान स्वरूप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत दिन लागिएको हो।

जिल्लाका ४ स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई एक करोड ५० लाख रकम वितरण गरिने पशुसेवा कार्यालयका प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिए। चालु आर्थिक वर्षभर किसानले उत्पादन गरेको दुधको प्रतिलिटर २ का दरले प्रोत्साहन रकम दिइने उनले जानकारी दिए।

हालसम्म जिल्लाका १७ वटा सहकारीमार्फत पहिलो चरणको प्रोत्साहन रकम वितरणको काम सकिएको कार्यालयका अधिकृत पुष्प दाहालले जानकारी दिए। सबैभन्दा धेरै छथर जोरपाटी गाउँपालिकाअन्तर्गत १९ सहकारीमार्फत १ हजार १ सय ५९ किसानले प्रोत्साहन रकम पाउनेछन्।

महालक्ष्मी नगरपालिकाअन्तर्गत ९ वटा सहकारीमार्फत ५ सय ८७ र धनकुटा नगरपालिकाका ५ वटा सहकारीमार्फत ५ सय ९८ किसानले रकम पाउनेछन्। यस्तै पाख्रिबास नगरपालिकाको ४ सहकारी संस्थामार्फत २ सय ३९ किसानले प्रोत्साहन रकम पाउने कार्यालयले जनाएको छ।

शुक्रबार धनकुटा नगरपालिका-३ स्थित दुग्ध उत्पादक सहकारीका १ सय ४८ किसानलाई २ लाख १० हजार सात सय ८ रकम प्रदान गरिएको छ। किसानलाई प्रदेशसभा सदस्य निरन राई, धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनाल, पशुसेवा कार्यालय धनकुटाका प्रमुख ढुंगानाले प्रोत्साहन रकम वितरण गरेका छन्।

गत आर्थिक वर्षमा धनकुटामा ८० करोड २१ लाख ५० हजार बराबरको १६ हजार ४३ मेट्रिङक टन दुध उत्पादन भएको थियो। कार्यालयको तथ्यांकअनुसार हाल जिल्लामा १ सय २३ गाईफार्म र ६ वटा भैंसीफार्म सञ्चालित छन्। जिल्लामा उत्पादित ५० प्रतिशत दुध जिल्लाबाहिर निकासी हुनेगरेको कार्यालयको तथ्यांक छ। -रासस

प्रकाशित: १५ वैशाख २०८० २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =