सडक कालोपत्रपछि रोकियो बसाइँसराइ

हिमाल प्रेस २२ मंसिर २०८० ९:३२
16
SHARES
सडक कालोपत्रपछि रोकियो बसाइँसराइ

धनकुटा- विकट क्षेत्र कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका मानिसहरू हर्षित भएका छन्।

धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ।

स्थानीय मार्से गाउँका शंकर ओझाले भने,‘यस सडकले गाउँपालिका वडा नं. ५ साविक तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लगाएको छ। यो सडक हाम्रो गाउँका लागि कोशेढुंगा सावित भएको छ। सडक नहुँदा हाम्रो ठाउँ जिल्लाको कर्णाली भनेर चिनिन्थ्यो।’

कच्ची सडक हुँदा सवारी साधनलाई आवतजावत गर्न समस्या थियो। सो समयमा स्थानीय भौगालिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँसराइ गर्न बाध्य थिए। उनले पछिल्लो समय कालोपत्र सडक बनेपछि बसाइँसराइ जान छाडेको र मानिसले कृषि तथा पशुपालन फार्म खोलेर उद्यामतिर लाग्न थालेको बताए।

‘पहिला सित्तैमा लैजाउ भनेरसमेत कसैले नलाने यस क्षेत्रको फलफूलसमेत सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन्,’उनले भने।

यस क्षेत्रका मानिस धनकुटाको सदरमुकाम धनकुटा बजारसम्म पुग्न छथरजोरपाटी-हिलेबजार हुँदै ३४ किमी घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी दिए।

छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासी कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकालीओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताए।

‘पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ’, उनले भने। गाउँमै कालोपत्र सडक आएपछि कुनै बेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर छ लाखभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेको उनले बताए।

साविक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार गरेर जानुपर्दथ्यो अथवा त्यसको विकल्पमा करिब १५ देखि १८ किमी हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो ।

अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन् । धरानबाट धनकुटा हुँदै भोजुर, सङ्खुवासभा र तेह्रथुम जाने सडकसमेत बजार बाहिरबाट गएको छ। यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ। रासस

प्रकाशित: २२ मंसिर २०८० ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =