मुलुकको आर्थिक अवस्था खस्कँदै जानुमा सत्तागठबन्धन मुख्य दोषी : ईश्‍वर पोखरेल

हिमाल प्रेस १४ वैशाख २०८० १५:०४
16
SHARES
मुलुकको आर्थिक अवस्था खस्कँदै जानुमा सत्तागठबन्धन मुख्य दोषी : ईश्‍वर पोखरेल

जनकपुरधाम– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सत्तागठबन्धन फेरबदल वा टुट्न सक्ने बताएका छन्।

बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन्। वर्तमान सत्तागठबन्धन मुलुकका लागि दुर्भाग्य रहेको उनको भनाइ छ।

‘यो गठबन्धन टिकाउ छैन, के परस्थिति सिर्जना हुन्छ त्यसअनुसार नै हाम्रो भूमिका हुन्छ यद्यपि सरकार बनाउने र बिगार्ने खेतीपातीमा एमाले लाग्दैन,’उनले भने, ‘वर्तमान गठबन्धन लोकतन्त्रको हितमा छैन। यो गठबन्धनले लोकतान्त्रिक मूल्य-मान्यताको धज्जी उडाई रहेको छ। संविधानको हितविपरीत काम गरिरहेको छ।’

मुलुकको अर्थतन्त्र अहिले दिनदिनै खस्कँदै जानुमा सत्तागठबन्धन नै मुख्य दोषी रहेको उनले आरोप लगाए। वर्तमान राष्ट्रिय राजनीतिमा दुई ध्रुव देखापरेको बताउँदै राष्ट्रिय स्वाभिमान र देश बनाउने ध्रुवको नेतृत्व एमालेले गरिरहेको उनले दाबी गरे।

वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरीत रहेको उनले तर्क गरे।

प्रकाशित: १४ वैशाख २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =