सुस्ताको पीडा

गुगल म्यापमा नेपाली भूमि भारततर्फ देखिँदा बैंकले पत्याएनन् ऋण

हिमाल प्रेस ११ वैशाख २०८० १२:१५
86
SHARES
गुगल म्यापमा नेपाली भूमि भारततर्फ देखिँदा बैंकले पत्याएनन् ऋण नवलपरासीको सुस्ता क्षेत्र। तस्बिर : मुक्ति तिवारी

नवलपरासी- गुगल म्यापले सुस्ताको नेपाली भूभाग भारतमा देखाइदिँदा सुस्ताबासी थप समस्यामा परेका छन्।  सुस्ता गाउँपालिका–३ का केही भूभाग, नारायणी पारिका केही भाग र वडा नम्बर ४ को अधिकांश भूभाग गुगल नक्सामा भारतको बिहारमा देखिएपछि बैंकहरूले कर्जा दिन नमानेको स्थानीय बासिन्दाको गुनासो छ।

त्यस्ता जमिनको राजस्व असुली र किनबेच भने भइरहेको छ। कर्जा प्रवाहका क्रममा गर्नुपर्ने धितो मूल्यांकन गर्न स्थानीय तहका कर्मचारी जान मान्दैनन् भने बैंकहरूलाई पनि माथिल्लो तहबाट ऋण नदिनू भन्ने निर्देशन छ।

बैंकका अधिकारीहरूले भूमि भारतमा देखिएकाले लागानी गर्न नसकिने जवाफ दिने गरेको सुस्ता–१ का नारायण थारू बताउँछन्। उनी भन्छन्, ‘राजस्व चल्छ, किनबेच हुन्छ तर बैंकले कर्जा दिँदैन। यो भन्दा अन्याय के हुन सक्छ?’

बैंकका कर्मचारी पनि गुगल म्यापमा भूमि भारतमा देखिँदा ऋण प्रवाहमा समस्या भइरहेको स्वीकार गर्छन्। अनुदान वा सहुलियतपूर्ण ॠण केही सीमित व्यक्तिहरूको व्यवसाय हेरेर लगानी गरिए पनि भूमि गुगल म्यापमा देखाउँदा कर्जा प्रवाह गर्न समस्या देखिएको एनएमबी बैंक सुस्ता शाखाका ॠण अधिकृत रामानन्द साहुले बताए।

यस विषयमा पीडित स्थानीयले बैंकिङ नियमावली संशोधन गर्नुपर्ने, सीमा क्षेत्रबाट तीन किलोमिटरसम्ममा उद्योगी व्यवसायीलाई कर्जा प्रवाहको वातावरण मिलाइदिनु पर्ने मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएका छन्। उनीहरूको माग सुनुवाइ भएको छैन। बैंक तथा वित्तीय संस्थाहरूले धितो मूल्यांकन गरी कर्जा प्रवाह नगरिदिँदा सुस्तावासी साहु, महाजन र मिटरब्याजी साहुसँग जान बाध्य छन्। मिटरब्याजका कारण कैयौँ विपन्न घरबारविही बनेका छन्।

बैंकले ऋण नदिँदा किसान र व्यवसायी मर्कामा परेकाले सरकारले दीर्घकालीन रूपमा समस्या समाधान गरी सुस्तावासीलाई राहत दिनुपर्ने बताउँछन् सुस्ताका समाजसेवी रवीन्द्र जैसवाल। उनी भन्छन्,  ‘एक त आफ्नो भूमि भारतमा देखिएको छ, अर्को कुरा सीमा विवादलगायतका समस्या सुस्तामा छ। हामीलाई राज्यले नै पीडित बनायो।’

सुस्तामा सामान्य जीविकोपार्जन गर्दै आएका नागरिकको पहुँचमा अझै पनि बैंक तथा वित्तीय संस्थाहरूको पहुँच छैन। कर्जा प्रवाह नहुँदा कुनै व्यवसाय गरेर जीवनस्तर उकास्न चाहनेले कुनै अवसर पाएका छैनन्। विद्यार्थी पनि ऋण नपाएका कारण उच्चशिक्षा हासिल गर्न नपाएको गुनासो गर्छन्।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने यस विषयमा बैंकहरूसँग निरन्तर छलफल भइरहेको र समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए।

उनले भने, ‘सीमा विवाद र अतिक्रमणबाट सधैँ सास्ती खेपेका सुस्तावासी थप पीडामा छन्। कूटनीतिक रूपमा पहल भई फिल्ड प्रमाणीकरण हुनुपर्ने र गुगल म्याप सच्याउनुपर्ने माग हामीले राख्दै आएका छौँ।’

प्रकाशित: ११ वैशाख २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =