रहेनन् सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङ

हिमाल प्रेस १० माघ २०७९ २२:५१
8
SHARES
रहेनन् सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङ

बुटवल- नेपाली भूमि ‘सुस्ता बचाउ अभियान’ का संयोजक गोपाल गुरुङको मंगलबार बेलुका निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको हो।

गुरुङको मष्तिष्कघात भएपछि पुस ८ गतेदेखि मेडिकल कलेजमा उपचार भइरहेको थियो। अवस्था नाजुक भएपछि केही दिनदेखि भेन्लिेटरमा राखेर उपचार भइरहेकोमा बेलुका निधन भएको गोपाल गुरुङ बचाउ अभियानका सदस्य पत्रकार श्यामलाल पोखरेलले बताए।

गुरुङको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलनका लागि अभियान सुरु गरिएको थियो।

देशको भूमि जोगाउन जीवन मरणको लडाइँ लड्दा पनि राज्य पक्षले केही सहयोग नगरेकोमा परिवारले गुनासो गरेका छन्।

नेपाल प्रहरीको हबल्दारबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध अभियान चलाएका थिए। २०६२ सालदेखि भारतीयले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही २०६२ साल जेठ १७ गते गुरुङको अगुवाइमा सुस्ता बचाउ अभियान नामक समिति गठन गरिएको थियो।

भारतीय अतिक्रमणबारे नेपाल सरकारलाई पटक–पटक लिखित रुपमा जानकारी गराएका गुरुङलाई भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो।

अतिक्रमणविरुद्व भारतीय पक्षको विरोध गर्दा गोपाल गुरुङले धेरैपटक ज्यान मार्ने धम्की पनि खेपेका थिए। गुरुङको निधनले राष्ट्रले एक जना असल र इमानदार नागरिक गुमाएको भन्दै विभिन्न संघसंस्थाले दुुःख व्यक्त गरेका छन्।

प्रकाशित: १० माघ २०७९ २२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =