लुम्बिनी विकास कोषका कर्मचारीहरूको सक्रियतामा सरसफाइ अभियान सुरु

हिमाल प्रेस ९ वैशाख २०८० १८:१४
24
SHARES
लुम्बिनी विकास कोषका कर्मचारीहरूको सक्रियतामा सरसफाइ अभियान सुरु

लुम्बिनी– लुम्बिनी विकास कोषले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी सरसफाइ अभियान ०८० को सुरुवात गरेको छ। शनिबार कोषले एक समारोहबीच अभियान सुरु गरेको हो। शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरिएको छ।

‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले अभियान सुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। उनले अन्तर्राष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरूसमेत जागरुक हुनुपर्ने बताए।

कोषले नियमित रूपमा सफाइ गर्दै आए पनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फाहोर चुनौतीपूर्ण बनेको छ। शनिबार कोषका पदाधिकारी र कर्मचारीहरू हातमा कुँचो बोकेर उक्त फोहोर डम्पिङ साइटजस्तै बनेको क्षेत्रमा सफाइ गरेका छन्।

यसअघि पटक-पटक होटल व्यवसायी र स्थानीयलाई फोहोर नफाल्न आग्रह गरिए पनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैंले सरसफाइ अभियान सुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताए। ‘पवित्रस्थलमा फोहोर फाल्दा त्यसले राम्रो सन्देश दिँदैन,’सदस्य सचिव शाक्यले भने,‘फोहोर व्यवस्थापन गर्नुपर्छ, तर रातको समयमा लुकी-लुकी कोषको कम्पाउन्डमा नफाल्न होटल व्यवसायीहरूलाई आग्रह गर्दछौं।’

लुम्बिनीमा नियमित रूपमा नै सफाइ अभियान चलिरहेको तर अभियानले सबैलाई सक्रिय बनाउने उनले बताए। लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेटअगाडि फोहोरका विषयमा पटक-पटक छलफल भए पनि यसको दीगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताए।

सरसफाइ अभियानमा सदस्य सचिव शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भीमबहादुर बस्नेत, प्रशासन अधिकृत चुरामणि भट्टराईसहित कोषका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू खटिएका थिए।

साथै सरसफाइमा स्थानीय होटल व्यवसायी, आमा समूह, शसस्त्र प्रहरी र नेपाल प्रहरीकोसमेत सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =