चीनलाई उछिन्दै भारत बन्यो विश्वकै सर्वाधिक जनसंख्या भएको देश

हिमाल प्रेस ६ वैशाख २०८० १५:३७
8
SHARES
चीनलाई उछिन्दै भारत बन्यो विश्वकै सर्वाधिक जनसंख्या भएको देश

संयुक्त राष्ट्रसंघ- विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत बनेको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो। युएनएफपीएका अनुसार भारतमा चीनको भन्दा २९ लाख बढी जनसंख्या पुगेको छ।

युएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको उल्लेख छ। त्यस्तै चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख उक्त रिपोर्टमा उल्लेख छ।

युएनएफपीएको प्रतिवेदनको जनसांख्यिकी सूचकमा उक्त तथ्यांक समावेश गरिएको छ। सन् १९५० देखि संयुक्त राष्ट्रसंघले जनसंख्याको तथ्यांक संकलन गर्न थालेको हो। त्यसयता भारतको जनसंख्याले चीनलाई पहिलो पटक उछिनेको यो नै पहिलो पटक हो। गत वर्ष चीनको जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थालेको र सोही अवधिमा भारतको जनसंख्या बढेको द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्टमा उल्लेख छ।

प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ। चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ। भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ।

विज्ञहरूका अनुसार भारतलाई अहिले जनसांख्यिकी लाभ पुगेको छ। उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवाको संख्या बढी भएको देशले विकासलाई अघि बढाउन मद्दत गर्ने विज्ञहरूको भनाइ छ। देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर युवाको संख्याले नै प्रदान गर्ने विज्ञहरूको भनाइ छ।

देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ। कोभिड–१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ। रासस/पिटिआई

प्रकाशित: ६ वैशाख २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =