खेलाडीले ‘पर्याप्त पानी खान नपाउने’ ए डिभिजन लिग

हिमाल प्रेस ४ वैशाख २०८० २१:५३
82
SHARES
खेलाडीले ‘पर्याप्त पानी खान नपाउने’ ए डिभिजन लिग

काठमाडौँ- गुनासोबिनाको जीवन हुँदैन। फुटबल किन त्यसबाट अछुतो हुन्थ्यो र? झन् सहिद स्मारक ए डिभिजन लिग त गुनासोको बोझ बोकेरै अघि बढिरहेको छ। नवौँ चरणका खेल सकिँदा लिगमा धेरैथरीका गुनासा सुनिएका छन्। अव्यवस्थित क्यालेन्डर, खेलाडीले पर्याप्त आराम पाएनन्, रेफ्रीको स्तर भएन आदि।

यही सूचीमा थपिएको गुनासो अलि अचम्मलाग्दो छ। जुन हो, खानेपानीको अभाव। च्यासल रंगशालामा सोमबार दिउँसो चर्च ब्वाइज युनाइटेडसँगको खेलपछि थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले यो गुनासो पोखेका हुन्।

‘एन्फाले आज हामीलाई पर्याप्त पानी दिएन। हो, एन्फा अहिले आर्थिक संकटमा छ। तर खेल दौरान पानी नै उपलब्ध गराउन सक्दैन भने हामीलाई भने हुन्छ। म आफैँ पानीको प्रायोजक खोजिदिउँला। नत्र त विश्वको कुनै पनि लिगमा पानीको व्यवस्था नगर्ने भन्ने हुँदैन,’ मेघराजले भने।

खेल दिउँसो ३ बजेबाट सुरु भएको थियो। चर्को घाममा खेल्नु परेपछि स्वाभाविक रुपमा पानीकाे माग साबिकमा भन्दा बढी हुने भइहाल्यो। उपलब्ध गराइएको पानी सकिएपछि थ्रीस्टारको बेन्चबाट लिग आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खटाएका प्रतिनिधिहरूसँग थप पानी उपलब्ध गराउन अनुरोध गरिएको थियो। तर एन्फाका उनीहरूले ‘पानी छैन, सकिसक्यो’ भन्ने जवाफ फर्काएका थिए।

यस्तो जवाफले आक्रोशित बनेका थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज तथा अन्य अफिसियल र रंगशालामा उपलब्ध एन्फा अधिकारीहरु बीच भनाभन भएको थियो।

गोल त गर्नसक्नु भएन नि…
लिगका प्रत्येक खेलका लागि एन्फाले कोही न कोही अतिथि बोलाउँछ। जसको मुख्य काम म्यान अफ म्याचलाई पुरस्कार बाँड्ने हो। सोमबारको खेलका लागि नेकपा एमालेका नेता कर्ण थापा प्रमुख अतिथि बनाइएका थिए। उनीसँगै अन्य व्यक्तिहरू पनि ‘भीआईपी’ का रुपमा खेल हेरिहेका थिए।

एन्फाको प्रतिनिधिका रुपमा रंगशालामा उपस्थित हुनेलाई ‘एलओसी’ लेखिएको कार्ड दिइएको हुन्छ। ‘एलओसी’ कार्ड झुन्ड्याएर खेल हेरेका ‘एक व्यक्ति’ मेघराजको निशानामा परे। कारण थियो, ती व्यक्तिले प्रयोग गरेको वाक्य।

‘गोल त गर्न सक्नु भएन नि’ ती व्यक्तिले आफूलाई यसो भनेको मेघराजको भनाइ थियो। यद्यपि मेघराजले ती व्यक्ति को थिए भन्ने चाहिँ खुलाएनन्।

‘विश्वका धेरै देशमा राष्ट्रपति, प्रधानमन्त्री खेल हेर्न गइरहेको देखिन्छ। उनीहरू खेलपछि चुपचाप रंगशालाबाट बाहिरिन्छन्। यहाँ त चिन्दै नचिनेकाले मैदानभित्र छिरेर गोल किन भएन भनेर सोध्यै हिँड्छन्। फेरि एन्फाका पदाधिकारी कुर्सी बचाउन जसलाई मन लाग्यो त्यसलाई अतिथि बनाइरहेका छन्। कसलाई अतिथि बनाउने, कसले एलओसीको कार्ड पाउने, मैदानभित्र को को प्रवेश गर्न पाउने हो? यहाँ त केही नियमै छैन,’ मेघराजले आक्रोश पोखे।

चर्चब्वाइज हाबी
निकै अवसर पाउँदा पनि गोल गर्न नसकेपछि चर्च ब्वाइज युनाइटेड फेरि एकपल्ट बराबरीमा रोकियो। थ्रीस्टारसँगको यो बराबरी चर्च ब्वाइजका लागि जारी सिजनको छैटौँ बराबरी हो।

लिगमा एकमात्र अपराजित टिम चर्च ब्वाइजले सुरुवाती तीन खेलमा नेपाल पुलिस क्लब, खुमलटार युथ क्लब र हिमालयन शेर्पा क्लबलाई हराएको थियो। त्यसपछि लगातार ६ खेलमा चर्च ब्वाइजले बराबरी खेलेको छ। नौ खेलबाट १५ अंक बटुलेको चर्च ब्वाइज चौथो स्थानमा छ। तेस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लब, पाँचौँ स्थानको थ्रीस्टार छैटौँ स्थानको संकटा क्लबको पनि १५-१५ अंक नै छ। शीर्ष दुईमा रहेका जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले समान १७-१७ अंक बटुलेका छन्।

चर्चब्वाइजले पहिलो हाफमा मात्रै कम्तीमा ६ पटक आक्रमण बुनेको थियो। चौथो मिनेटमै गगनदीप सिंहले बक्सबाहिरबाट गरेको प्रहार थ्रीस्टारका गोलरक्षक ताहा मोहम्मदले मुस्किलले पन्च गरेर बाहिर पठाइदिएका थिए। पहिलो हाफकै २४ औँ मिनेटमा एरिक विष्टको शक्तिशाली फ्रिकिक बचाउन मोहम्मदलाई हम्मेहम्मे परेको थियो।

त्यसपछि आशिष चापागाईंले  ३६ औँ मिनेटमा थ्रीस्टारका गोलरक्षक बिट भइसकेपछि खाली रहेको पोस्टमा समेत गोल गर्न सकेनन्। मोहम्मदबाट बल पाएका रक्षक पिटर सेगुनले मिडफिल्डतिर पास निकाल्न खोजेका थिए। तर उनले प्रहार गरेको बललाई आशिषले नियन्त्रण लिँदै थ्रीस्टारको पोस्टमा प्रहार गरेका थिए। जुन थोरैले बाहिरियो।

त्यसको चार मिनेटअघि पनि आशिषले बक्सभित्रबाट गरेको प्रहारलाई थ्रीस्टारका योगेश गुरुङले ब्लक गरेका थिए। ४१ औँ मिनेटमा अनन्त तामाङको फ्रिकिक मोहम्मदले बचाएका थिए। दोस्रो हाफमा पनि आक्रमणलाई निरन्तरता दिएको चर्च ब्वाइजले गोल गर्न सकेन। उता थ्रीस्टारले भने दोस्रो हाफको उत्तरार्द्धमा केही मौका सिर्जना गरेको थियो। तर मनग्य नकर्मी, दीपेश गुरुङ र आदित्य शाक्यका प्रयास चर्चब्वाइजको रक्षापंक्तिले असफल बनाइदिएको थियो।

उपाधि आशा कायमै 

चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले वर्तमान लयले लिग नजिताउने प्रतिक्रिया दिए। ‘लगातार बराबरीमा रोकिनु परेको छ। नौ खेलमध्ये ६ बराबरीमा सकिएका छन्। यो च्याम्पियन बन्ने लय होइन,’ बालगोपालले भने।

चर्च ब्वाइजले सोमबारको समेत गरेर चार खेलमा गोल गर्न सकेको छैन। आफूहरू ‘अट्याकिङ थर्ड’ मा कमजोर भएकाले गोल हुन नसकिरहेको बालगोपालको भनाइ थियो। ‘खेल हामीले नियन्त्रणमा राख्यौँ। तर गोल गर्न सकेनौँ। हामी अट्याङि थर्डमा चुकिरहेका छौँ। यो पक्षमा सुधार गर्नैपर्छ,’ बालगोपालले भने।

टिमका मुख्य फरवार्ड अन्जन विष्टसँग रन्जित सिंह पान्द्रे चोटका कारण उपलब्ध नभएकाले पनि अग्रपंक्ति कमजोर देखिएको बनलागोपालको स्वीकारोक्ति थियो। यी दुवै खेलाडी अझै १० देखि १५ दिनसम्म मैदानबाहिरै रहने उनले जानकारी दिए।

प्रदीप हुमागाईं छाडेपछि चर्चब्वाइजको प्रशिक्षण सम्हालेका बालगोपालले उपाधि जित्ने आशा भने मारिसकेका छैनन्। ‘भर्खर नौ खेल सकिए। आधाभन्दा बढी खेल त बाँकी नै छन्। यसकारण हामीले आशा मारिसकेका छैनौँ,’ बालगोपालले भने।

उता थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराजले पछिल्ला पाँच खेलमा जस्तो प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए। ‘चर्च ब्वाइजको मिडफिल्डले खेल नियन्त्रणमा राख्यो। पहिलो हाफमा त चर्च ब्वाइज पूरै हाबी भयो। दोस्रो हाफमा भने हामीले सुधारिएको प्रदर्शन गर्‍यौँ। यस्तोमा हामी अंकमा खुसी हुन बाध्य भएका छौँ,’ मेघराजले भने।

मेघराजले लिगका सबै टिमको स्तर उस्तै रहेको पनि बताए। प्रिसिजन नहुनु, पर्याप्त तयारी गर्न नपाउनु र लिगमा स्थापित ५०-६० खेलाडी एकैपटक बाहिरिनुले सबै क्लबले उही स्तरको टिम बनाएको र समान प्रदर्शन गरिरहेको मेघराजको भनाइ थियो। ‘१४ टिमबीचको स्तरमा फरक छैन। अंकका हिसाबले शीर्ष सात टिमलाई बाँकीभन्दा बलिया छन् भन्ने पनि हुनसक्छ। तर ती सात टिम पनि उस्तै छन्,’ मेघराजले भने।

लिगमा सोमबारै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबमाथि ६-० को जित दर्ता गर्‍यो एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेन्ड्सका लागि रफिक अमिनुले दुई तथा एख्रोबेक उक्टामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले एक-एक गोल गरे।

लिगमा फ्रेन्ड्सको यो दोस्रो जित हो। चौथो चरणमा शीर्षस्थानको जावलाखेललाई २-१ ले हराएको फ्रेन्ड्सले पाँच खेलमा पराजय भोगेको छ। गत बिहीबार चर्च ब्वाइजसँग १-१ को बराबरी खेलेको फ्रेन्ड्स नवौँ चरण सकिँदा रेलिगेसन क्षेत्रबाट १२ औँ स्थानमा उक्लिएको छ। आठ अंक बटुलेको फ्रेन्ड्सभन्दा १३ औँ स्थानको न्युरोड टिम (एनआरटी) र १४ औँ स्थानको नेपाल पुलिस क्लब क्रमशः एक र तीन अंकले पछि छन्।

प्रकाशित: ४ वैशाख २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =