सुडानमा ५६ जनाको मृत्यु, ६ सय घाइते

हिमाल प्रेस ३ वैशाख २०८० १५:५४
2
SHARE
सुडानमा ५६ जनाको मृत्यु, ६ सय घाइते

खार्तुम- सुडानको राजधानी खार्तुममा शनिबारदेखि गोलीबारीमा ५६ जना सर्वसाधारणको मृत्यु भएको छ। सुडानको विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको भिडन्तमा ५६ जनाको मृत्यु भएको र ६ सय जनाभन्दा बढी घाइते भएका छन्।

आइतबार बिहानैदेखि पनि खार्तुममा भिडन्त भइरहेको प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै अनतर्राष्ट्रि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। विद्रोही समूह आरएसएफले राष्ट्रपति कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजनलगायतका महत्त्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन्। खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज आइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ। सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ।

प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौँ सुरक्षाकर्मीको मृत्यु भएको र ६ सय जना घाइते भएका बताएको छ। दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पुर्‍याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको संख्या बढ्नसक्ने बताएको छ।

कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन्। पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहम्मद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै हिंसा अन्त्य गर्न आग्रह गरे। रासस/एएफपी

सुडानको राजधानी खार्तुममा गोली हानाहान

प्रकाशित: ३ वैशाख २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =