२२ जनाको मृत्युपछि सुडानबारे बोल्यो राष्ट्रसंघ

हिमाल प्रेस २४ असार २०८० २१:२५
8
SHARES
२२ जनाको मृत्युपछि सुडानबारे बोल्यो राष्ट्रसंघ

वाद मदानी (सुडान)- सुडानको एक आवासीय क्षेत्रमा भएको शनिबार हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले प्रतिक्रिया दिएको छ।

सुडानको आवासीय क्षेत्रमा सर्वसाधारणको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले सुडान ‘पूर्ण गृहयुद्ध’को संघार पुगेको प्रतिक्रिया दिएको हो।

राजधानी खार्तूमको भगिनी सहर ओमदुरमानमा शनिबार भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो। साथै ठूलो संख्यामा सर्वसाधारण घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले बताएको थियो।

सुडानका प्रतिद्वन्द्वी जनरलहरूबीच करिब तीन महिना लामो युद्धपछि भएको सो हवाई आक्रमण आक्रोश भड्काउने पछिल्लो घटनाका रूपमा लिइएको छ। द्वन्द्वमा करिब तीन व्यक्तिको मृत्यु भएको छ, पीडितहरू यौन हिंसामा पनि परेका छन्।

व्यापक लुटपाट भएको भन्दै संयुक्त राष्ट्रसंघले डार्फर क्षेत्रमा मानवता विरुद्धको सम्भावित अपराध रहेको भन्दै चेतावनी दिएको छ।

अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ। एएफपीले सम्पर्क गरेका स्थानीयबासिन्दाले पनि हवाई आक्रमणको पुष्टि गरेका छन्।

तर आइतबार सशस्त्र बलले एक वक्तव्य जारी गर्दै वायु सेनाले ओमदुरमानमा कुनै पनि शत्रुतापूर्ण लक्ष्यको सामना नगरेको बताएको छ।

युद्ध सुरु भएदेखि नै अर्धसैनिक बलले आवासीय क्षेत्रमा आधार खडा गरेका छन्। उनीहरूमाथि सर्वसाधारणलाई घरबाट निकालेको आरोप लाग्दै आएको छ।

मध्यखार्तूमस्थित राष्ट्रपति भवन नजिकै आइतबार थप हवाई आक्रमण हुनुका साथै शहरको दक्षिणमा मेसिनगन भिडन्त र तोप र गोलाबारी भएको प्रत्यक्षदर्शीले बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ओमदुरमानमा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भन्दै घटनाले राष्ट्रसंघलाई चिन्तित बनाएको बताएका छन्। ‘युद्धले सुडानलाई पूर्ण गृहयुद्धको संघारमा पुर्‍याएको छ,’ उनले भनेका छन्, ‘यसले पूरै क्षेत्रलाई अस्थिर बनाएकोमा राष्ट्रसंघ चिन्तित बनेको छ।’ रासस/एएफपी

प्रकाशित: २४ असार २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =