जावलाखेलकाे रोमाञ्चकारी लय जारी, राेकियाे मछिन्द्र; आर्मी खुमलटारसँग स्तब्ध

हिमाल प्रेस २ वैशाख २०८० २०:५१
6
SHARES
जावलाखेलकाे रोमाञ्चकारी लय जारी, राेकियाे मछिन्द्र; आर्मी खुमलटारसँग स्तब्ध

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्साङ्दी क्लब लगातार दोस्रो पटक पराजित भएको छ। मनाङलाई ३-० ले हराएर जावालाखेल युथ क्लब शनिबार सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो। शनिबार नै भएको अर्को खेलमा मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम (एनआरटी) ले रोक्यो। यो बराबरीका कारण मछिन्द्रले शीर्ष तीनमा छिर्ने अवसर गुमायो।

च्यासल रंगशालामा जावलाखेललाई मनाङमाथि जित दिलाउन एन्कोटो सिनास मासोअबीले दुई र फोडे फोफानाले एक गोल गरे। पहिलो हाफको चौथो मिनेटमा मासोअबीले गोल गरेपछि परेको मनाङ आतिरिक्त समयमा दुई गोल खान पुग्यो। निर्धारित समय सकिएपछि थपिएको ६ मिनेटभित्र सुरुमा फोफाना र त्यसपछि मासोअबीले गोल गरका थिए।

गत मंगलबार त्रिभुवन आर्मी फुटबल क्लबसँग हारेको जावालाखेलका लागि लिगमा यो पाँचौँ जित हो। नौ खेलबाट जावालाखेलको १७ अंक भएको छ। जुन दोस्रो स्थानको सातदोबाटो युथ क्लबभन्दा एक अंक र पराजित मनाङभन्दा दुई अंकले बढी हो।

जावलाखेलभन्दा एक अंक कम खेलेको सातदोबाटो आइतबार नेपाल पुलिस क्लबलाई हराए शीर्षस्थानमा फर्कनेछ। तेस्रो स्थानको मनाङसँग नौ खेलबाट १५ र चौथो स्थानको चर्च ब्वाइज युनाइटेडसँग १४ अंक छ।

सुरुवाती दुई खेलमा च्याम्पियन मछिन्द्र र एनआरटीलाई पराजित गरेको जावलाखेलले पाँचौँ चरणमा थ्रीस्टार क्लब र छैटौँ चरणमा सातदोबाटो युथ क्लबलाई पन्छाएको थियो। जावलाखेलले नौ खेल खेल्दा दुईमा बराबरी गरेको छ भने अन्य दुईमा हार व्यहोरेको छ।

लिगमा सर्वाधिक १५ गोल गरेको जावलाखेलका लागि मासोअबी र फोफाना निर्णायक साबित भइरहेका छन्। यी दुईले क्रमशः ६ र पाँच गोल गरिसकेका छन्।

उता मनाङ भने जितविहीन बनेका खेल संख्या अब तीन पुगेको छ। गत बुधबार सातदोबाटोसँग १-० ले पराजित मनाङ त्यसअघि थ्रीस्टारसँग १-१ को बराबरी खेल्न बाध्य भएको थियो। सुरुवाती सात खेलमा नहारेको मनाङले कुल चार खेल जितेको छ।

दशरथ रंगशालामा एनआरटीका स्टेफन जुनिउर गुइमबोसले ६७ औँ मिनेटमा लामो दूरीबाट लोभलाग्दो गोल गरेपछि मछिन्द्र चौथो पटक बराबरी गर्न बाध्य भयो। मछिन्द्रले अग्रता पहिलो हाफको ३९ औँ मिनेटमा गरेको थियो। रक्षक ओमोलाजा नुराइन करिमले ‘भली गोल’ गरेका थिए।

जावलाखेल र त्रिभुवन आर्मीसँग लगातार हारेर लिगको सुरुवात गरेको मछिन्द्र त्यसपछिका सात खेलमा अपराजित छ। मुख्य प्रशिक्षकमा किशोर कुमार केसी नियुक्त भएपछि लगातार दुई जित दर्ता गरेको मछिन्द्र शनिबार पनि विजयी भएको भए तेस्रो स्थानमा उक्लिने थियो। मछिन्द्रसँग  हाल नौ खेलबाट १३ अंक छ।

असफल रणनीति

बराबरीपछि माछिन्द्रका मुख्य प्रशिक्षक किशोर कुमार केसीले दोस्रो हाफमा रणनीति सफल नहुँदा जितबाट वञ्चित हुनु परेको प्रतिक्रिया दिए। ‘पहिलो हाफमा एनआरटीले राम्रो खेल्यो। तर सुरुमा गोल हामीले गर्‍यौँ। दोस्रो हाफमा यो अग्रतालाई बचाउने र काउन्टर अट्याकमा गोल थप्ने रणनीति थियो। त्यसमा असफल भयौँ,’ किशोरले भने।

किशोरले गोलको खाता खोल्न नसकिरहेका चेन्चो ग्याल्ट्सेनबारे पनि टिप्पणी गरे। ‘मलाई लाग्छ उनले गोलका पर्याप्त मौका पाएका छैनन्। गोल हुने खालका पास उनलाई दिन सक्यो भने गोल गर्छन् होला,’ किशोरले भने। भुटानी कप्तान चेन्चोले मछिन्द्रबाट लगातार चार खेल खेलिसकेका छन्। मछिन्द्रले गत मंलगबार खुमलटारलाई ७-३ ले हराउँदा पनि चेन्चोले गोल गर्न सकेनन्।

उता एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भाग्यले साथ नदिँदा बराबरीमा रोकिनु परेको जिकिर गरे। ‘धेरै मौका पाएका थियौँ तर एकभन्दा बढी गोल गर्न सकिएन। भाग्यले साथ दिएन भन्नुपर्ला,’ राजुकाजीले भने, ‘उसो त हाम्रो अग्रपंक्तिको समस्या सुल्झिएको छैन। पुनरागमन गर्न गोल गरिरहेका छौँ तर पर्याप्त गोल भएको छैन।’

रेफ्रीकाे आलाेचना

खेल सकिने बेलामा मछिन्द्रका खेलाडी र रेफ्रीबीच भनाभन भएको थियो। जसकारण रेफ्री श्याम दनुवारले ओलावाले अफिजलाई दोस्रो पटक पहेलो कार्ड देखाएका थिए। थपिएको समय सकिनै लाग्दा मछिन्द्रका खेलाडीरू कर्नर माग्न रेफ्री श्यामसामु पुगेका थिए।

त्यसलगत्तै भनाभनको स्थिति सिर्जना भयो। आक्रोशित देखिएका ओलावालेलाई सुरुमा श्यामले पहेलो कार्ड देखाए। स्थिति साम्य हुनुको सट्टा झन् उग्र भएपछि श्यामले ओलावालेलाई दोस्रो पटक पहेलो हुँदै रातो कार्ड देखाएका थिए। रेफ्रीमाथि बारम्बार झम्टिएका ओलावालेलाई मछिन्द्रका अरु खेलाडीले तानेर लगेका थिए।

पहेलो कार्ड पाएपछि यसबारे रेफ्रीसँग सोध्न जाँदा ओलावालेलाई सहायक रेफ्री मधुकर आचार्यले दुव्र्यवहार गरेको किशोरको दाबी थियो। ‘खेलाडीले कार्ड किन दिएको वा कर्नर किन नदिएको भनेर सोध्दा दुव्र्यवहार गर्न आवश्यक छैन। रेफ्रिहरूले सही ढंगमा खेल खेलाए हुने,’ निराश देखिएका किशोरले भने।

उता एनआरटीका मुख्य प्रशिक्षक राजुकाजीले पनि रेफ्रीप्रति असन्तुष्टि पोखे। ‘सामान्यतया म रेफ्रीहरूको आलोचना गर्दिनँ। आलोचना गरेर केही हुने होइन जस्तो लाग्छ। तर म के भन्न चाहन्छु भने, नेपालमा फुटबल विकास गर्ने हो भने केही कुरा परिवर्तन गर्न आवश्यक छ। त्यसमा रेफ्रीहरू पनि पर्छन्,’ राजुकाजीले भने।

राजुकाजीले नेपाली रेफ्रिहरूले अनावश्यक रुपमा खेल रोकेको रोकै गर्ने पनि राजुकाजीको जिकिर गरे। ‘फाउल नलिँदा पनि हुने स्थितिमा पनि खेल रोकिइन्छ। जबकि अन्तर्राष्ट्रिय फुटबलमा सकेसम्म खेललाई जारी रहन दिइन्छ। रेफ्रीको एउटा गलत निर्णयले अंक गुम्छ। यसरी अंक गुम्दा रेलिगेसन क्षेत्रमा रहेका एनआरटी जस्ता टिमलाई धेरै ग्राहो हुन्छ,’ राजुकाजीले भने।

स्तब्ध भयो आर्मी

दशरथ रंगशालामा शनिबार साँझ नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब खुमलटार युवा क्लबसँग ३-२ ले स्तब्ध बन्यो। आफ्नो पछिल्लो खेलमा मछिन्द्रसँग लज्जास्पद पराजय भोगेको खुमलटारले आर्मीविरुद्ध आठौँ मिनेटमा अग्रता लिएको थियो।

मेसुको ओलोमौउले गोलले पछि परेको आर्मी १० मिनेटपछि खेलमा फर्कियो। आर्मीलाई बराबरीको स्थितिमा पुर्‍याउन नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए। बराबरीपछि खुमलटार रोकिएन। ओलौमोउले २७ र रेजिन सुब्बाले ५४ औँ मिनेटमा गोल गरे।

आर्मीले ९० औँ मिनेटमा गोल त ग¥यो तर हार भने टरेन। भरत खवासको स्थानमा मैदान प्रवेश गरेका सुशान्त चौधरीले आर्मीको दोस्रो गोल गरेका थिए।

लिगमा तेस्रो पटक बराबरीमा रोकिएपछि आर्मी नवौँ स्थानमा सीमित छ। आर्मीले नौ खेल खेल्दा तीनमा जित हात पारेको छ भने तीनमा पराजय भोगेको छ। आठ खेल खेलेको संकटाको पनि १२ अंक छ। गोल अन्तरमा अघि रहेकाले संकटा अंक तालिकामा आर्मीभन्दा एक स्थानमाथि छ।

उता खुमलटारले तेस्रो पटक जित दर्ता गरेको हो। पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको खुमलटारले चौथो चरणमा हिमालयन शेर्पालाइए २–१ ले पन्छाएको थियो। त्यसपछि भने खुमलटार जितविहीन थियो।

खुमलटार अब १० औँ स्थानमा उक्लिएको छ। नौ खेलबाट १० अंक बनाएको खुमलटार रेलिगेसन क्षेत्रबाट पाँच अंकले टाढा छ। रेलिगेसनमा रहेका फ्रेन्ड्स र नेपाल पुलिस क्लबको क्रमशः पाँच र चार अंक छ।

प्रकाशित: २ वैशाख २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =