छोरीको स्मृतिमा लन्डनस्थित अस्पतालमा वार्ड बनाइदिने ती नेपाली राजदूत

सन्तोष खडेरी २ वैशाख २०८० १८:१८
1.2k
SHARES
छोरीको स्मृतिमा लन्डनस्थित अस्पतालमा वार्ड बनाइदिने ती नेपाली राजदूत जनरल कृष्णशमशेर र पत्नी शाहज्यादी तारा दिव्यश्वेरीदेवी। अस्पतालमा थपिएको कक्ष उद्घाटनसम्बन्धी डेली मिरर २७ अक्टोबर १९३६ मा प्रकाशित समाचार।

नेपाली राजदूतले दिवंगत छोरीको सम्झनामा लन्डनको अस्पतालमा एउटा कक्ष (वार्ड) बनाइदिएका थिए। झट्ट सुन्दा अचम्म लाग्न सक्छ, किनकि अहिले हामी नेपालीको त्यस्तो हैसियत छैन। हाम्रो अर्थतन्त्र रेमिट्यान्स र वैदेशिक अनुदानमा चलेको छ। त्यसैले विदेशको अस्पतालमा नेपालीले वार्ड बनाइदिएको कुरा पत्याउन कठिन भएको हो।

तर ८३ वर्षअघि फर्कने हो भने त्यो कुरा नपत्याई सुखै छैन। सत्यचाहिँ के हो भने नेपालीहरू सम्पन्न भएर लन्डनमा दान दिएका होइनन्। आमनेपालीको आर्थिक अवस्था त त्यतिबेला पनि दयनीय थियो। तर राणा शासक सम्पन्न थिए। तिनै सम्पन्न राणा शासकका सन्ततिले त्यो पुण्य काम गरेका रहेछन्। जुन अहिले पनि चर्चायोग्य छ।

२९ वर्षसम्म शासन गरेका चन्द्रशमशेरका सन्तानलाई आर्थिक समस्या थिएन। सम्पन्नमध्ये केहीचाहिँ दानवीर थिए। तिनै दानवीर हुन् लेफ्टिनेन जनरल कृष्णशमशेर जबरा।

कृष्णशमशेर राणा प्रधानमन्त्री चन्द्रशमशेर र उनकी जेठी बडामहारानी लोकभक्तदेवीका तर्फबाट जन्मिएका पाँचौँ पुत्र एवं छैटौँ सन्तान हुन्। चन्द्रशमशेरको जेठी बडमहारानीका तर्फबाट एक छोरी र पाँच छोरा जन्मिएका थिए। चन्द्रकी पहिलो सन्तान छोरी खगेश्वरीदेवीको विवाह बझाङी राजा जयपृथवीबहादुर सिंहसँग भएको थियो।

लोकभक्ततर्फका छोराहरूमध्ये जेठा मोहनशमशेर र माइँला बबरशमशेरबाहेक अन्य तीन छोराको विवाह शाहज्यादीहरूसँग भएको थियो। साइँला केशरशमशेरको विवाह राजा पृथ्वीवीरविक्रम शाहकी जेठी छोरी एवं राजा त्रिभुवनकी दिदी राजकुमारी लक्ष्मी दिव्यश्वेरीसँग भएको थियो। त्यस्तै काइँला सिंहशमशेरको विवाह अर्की शाहज्यादी रमा दिव्यश्वेरीसँग भएको थियो। कान्छा कृष्णशमशेरको विवाह शाहज्यादी तारा दिव्यश्वेरीसँग भएको थियो।

कृष्णशमशेर र तारा दिव्यश्वेरीका तर्फबाट छोरा जन्मिएको जानकारीमा छैन। उनीहरूको एउटा छोरी थिइन्। उनकी छोरी मैयाछत्र राजेश्वरीदेवीको पोलियोका कारण सन् १९३४ को २३ मेमा निधन भएको थियो। (गोरखापत्र, १ जुन १९३४)

नेपालमा स्वास्थ्य उपचारको राम्रो बन्दोबस्त थिएन। आज पनि सबैका लागि उपचार सेवा सहज छैन। दलका नेताहरू उपचारका लागि विदेश पुग्ने गर्दछन्। आठ दशकपहिले पनि सत्तारुढ राणा परिवारलगायत सम्पन्नशालीहरू उपचारका लागि भारतका कलकत्ता र बम्बईसम्म पुग्थे। भारतमा उपचार हुन नसके बेलायतबाट चिकित्सक डाकेर उपचार गरिन्थ्यो। कृष्णशमशेरको छोरीको उपचार बम्बईमा भएको थियो। बम्बईमा रहेका चिकित्सकले उपचार गर्न नसकेपछि बेलायतको अक्स्फोर्डस्थित डब्ल्यूएमओ (विङफिल्ड मोरिस अर्थोडक्स) अस्पतालका चिकित्सक झिकाइएको थियो। तर पनि उनको रोग निको हुन सकेन।

त्यति नै बेला लन्डनमा नेपालको लिगेसन स्थापना भएको थियो। सन् १९३४ को मेमा लन्डनमा नेपालको पहिलो लिगेसन खुलेको हो। लिगेसनमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरका छोरा उत्तरतर्फका कमान्डिङ जनरल बहादुरशमशेर जबरा पहिलो राजदूत भएर खटिएका थिए।

करिब १० महिनापछि सन् १९३५ फेब्रुअरीमा नेपाली लिगेसनको जिम्मेवारी सम्हाल्न कृष्णशमशेरलाई लन्डन पठाइएको थियो। उतिबेला अहिलेजस्तो महिनौँसम्म दूतावास नेतृत्वविहीन हुँदैनथ्यो। दोस्रो राजदूतको जिम्मेवारी सम्हाल्ने गरी कृष्णशमशेर लन्डन गएका थिए। पहिलो राजदूतसँगसँगै बसेर बुझ्न र सिक्न उनलाई ६ महिनापहिले नै पठाइएको थियो। सोही जुलाईमा राजदूत बहादुरशमशेर फर्किएपछि कृष्णशमशेरले राजदूतको जिम्मेवारी सम्हालेका थिए।

राजदूतको जिम्मेवारी सम्हालेको वर्ष दिनभित्र अर्थात् सन् १९३६ को मार्च २३ मा कृष्णशमशेरले लन्डनको अक्स्फोर्डस्थित अस्पतालमा वार्ड थप गरिदिएका थिए। उनले पत्नी तारा दिव्यश्वेरीका साथ अस्पताल पुगेर सहयोगको घोषणा गरेका रहेछन्। सहयोग गर्नुको कारण सोही अस्पतालले आफ्नी छोरीको उपचारमा संलग्न भएकाले रहेछ। अक्स्फोर्डस्थित डब्ल्यूएमओ  अस्पतालका हाउस सर्जन डा. जिआर ग्रिडलस्टोन कृष्णशमशेरकी छोरीको उपचार गर्न बम्बई पुगेका थिए।

दिवंगत छोरीको स्मृतिमा एउटा कक्ष थप्नु बम्बई अस्पताल र चिकित्सकप्रतिको सम्मान थियो कि!

उक्त कक्ष निर्माणका लागि कृष्णशमशेरको चार हजार पाउन्ड स्ट्रलिङ खर्च भएको थियो। त्यस वार्डको नाम ‘नानी’ राखिएको थियो। साथै उनले थप दुई सय पचास पाउन्ड स्ट्रलिङ त्यहाँका नर्सहरूको हार्ड टेनिस कोर्टका लागि प्रदान गरेका थिए। राजदूत दम्पतीले नयाँ टेनिस कोर्टको अवलोकन पनि गरेका थिए। (वेस्टर्न मोर्निन न्युज २४ मार्च १९३६)

त्यो सहयोगका कारण बेलायतमा कृष्णशमशेरको दानवीर छवि कायम भयो। उक्त कदमबाट त्यहाँका थुप्रै अंग्रेज बालबालिकाले स्वास्थ्योपचार पाएका थिए। उनले सहयोग घोषणा गरेको करिब ६ महिनापछि अक्टोबरमा नयाँ कक्षको उद्घाटन भएको थियो। (दी डेली मिरर २७ अक्टोबर १९३६)

कृष्णशमशेरको उक्त कदमबाट नेपाली कूटनीतिक नियोग सामाजिक कार्यमा समेत संलग्न हुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह भयो। लन्डनमा चारवर्षे कार्यकाल सम्पन्न गरी फर्किएपछि कृष्णशमशेर विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहे। दोस्रो विश्वयुद्धमा भारतको सहयोगार्थ पठाइएका नेपाली सेनाको दलप्रमुखमा प्रधानमन्त्रीको हजुरिया जनरल रहेका बहादुरशमशेर दिल्लीमा खटिएपछि जुद्धशमशेरले कृष्णशमशेरलाई आफ्नो हजुरिया जनरलमा नियुक्त गरेका थिए।

दिल्लीबाट बहादुरशमशेर फर्किएपछि कृष्णशमशेरलाई प्रधानमन्त्रीले भारतमा खटिएका नेपाली सेनाको दलप्रमुख भई दिल्ली पठाएका थिए। प्रधानमन्त्री पद्मशमशेरको पालामा कृष्णशमशेर वैदेशिक मामिला हेर्ने प्रधानमन्त्रीका मुख्य सहयोगी थिए भने पछि हजुरिया जनरलसमेत भए। बिस्तारै उनका लागि राणा व्यवस्था असहज हुन थाल्यो। उच्च रक्तचापको कारण देखाउँदै कृष्णशमशेर स्वेच्छिक रूपमा रोलक्रमबाट बाहिरिएका थिए। त्यसपछि उनी नेपाल छाडेर बैंग्लोरमा गएर बसे।

कृष्णशमशेर राणाहरूमा उदार र दानवीर मानिन्थे। उनले नेपालमा पनि थुप्रै दानचन्दा र सहायता प्रदान गरेका थिए। नेपाल छाडी बैंग्लोर जाँदा अहिलेको राष्ट्रपति कार्यालय रहेको शीतल निवास सरकारलाई उपहार दिने व्यक्ति तिनै कृष्णशमशेर हुन्। उनले १४० रोपनी क्षेत्रफलमा फैलिएको दरबारसहित फर्निचर, दुई वटा बग्गी, एउटा मोटरकारसमेत सरकारलाई दिएका थिए। त्यति मात्र होइन उनले दरबार स्टेट गेस्ट हाउसका रूपमा प्रयोग होस् भनेर त्यसको मर्मतसम्भारका लागि ३ लाख २२ हजार ८०२ रुपैयाँ सरकारलाई उपलब्ध गराएका थिए।

२०११ सालमा नेपालमा आएको बाढीपहिरोबाट क्षति भएपछि गठन गरिएको राष्ट्रिय दुःख निवारण कोषमा कृष्णशमशेर दम्पतीले ५० हजार रुपैयाँ सहयोग गरेका थिए। यस्तै २०१३ ताका उनले इन्जिनियर कलेज खोल्न ८ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

कृष्णशमशेरले दान दिएको शीतल निवासको नालीबेली

प्रकाशित: २ वैशाख २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =