कृष्णशमशेरले दान दिएको शीतल निवासको नालीबेली

सन्तोष खडेरी ७ भदौ २०७९ १०:१६
758
SHARES
कृष्णशमशेरले दान दिएको शीतल निवासको नालीबेली जनरल कृष्णशमशेर र १९९० सालअघिको शीतल निवास।

काठमाडौँ- नेपालका अधिकांश सरकारी भवन राणाकालमा निर्माण भएका हुन्। भूकम्पका कारण केही भवनको अस्तित्व सकिएको छ। केही भवन भने बेलाबेलामा मर्मतसम्भार गरेर उच्च सरकारी कार्यालयका रूपमा प्रयोग भइरहेका छन्।

यसरी प्रयोगमा रहेका केही भवन हुन्, सिंहदरबार, शीतल निवास, हरिहरभवन,  बागदरबार आदि। हरिहरभवन २०७२ को भूकम्पपछि काम नलाग्ने अवस्थामा पुग्यो। बागदरबारमा काठमाडौँ महानगरपालिका बसेको छ। यहाँ तिनै दरबारमध्ये शीतल निवास निर्माण गर्नुको कारण र त्यसलाई कसरी सरकारीकरण गरियो भन्नेबारेमा चर्चा गरिएको छ।

सन् १९०१ मा चन्द्रशमशेर जबरा दाजु देवशमशेरलाई पदच्युत गरी प्रधानमन्त्री एवं श्री ३ महाराज बनेका थिए। आफूले सत्तामा सम्हालेको एक वर्षपछि उनले आफ्ना लागि एउटा भव्य दरबार निर्माण गर्न लगाए।

सन् १९०४ मा निर्माण सम्पन्न चन्द्रशमशेरको सोही दरबारलाई पछि उनले सिंहदरबार नामकरण गरे। सन् १९२० मा चन्द्रशमशेरले उक्त दरबार सरकारी प्रयोजनका लागि बहालवाला र त्यसपछि प्रधानमन्त्री हुनेको सरकारी प्रधानमन्त्री कार्यालय/आवास बनाइदिए। सोही दरबार अहिले मुलुकको प्रमुख प्रशासनिक केन्द्रका रूपमा कायम छ।

प्रधानमन्त्रीको सिंगो परिवार अटेको सिंहदरबारलाई चन्द्रशमशेरले सरकारका नाममा दिएपछि सोही वर्ष जेठी रानीपट्टिका दुई छोराका लागि महाराजगन्जमा दुईवटा नयाँ दरबार बनाउन थालेका थिए। जेठा छोरा मोहनशमशेरका लागि लक्ष्मी निवास (जहाँ हाल सेनाको भैरवनाथ गण छ) र कान्छा छोरा कृष्णशमशेरका लागि शीतल निवास (हालको राष्ट्रपति कार्यालय) हुन्।

सन् १९२३ मा निर्माण सम्पन्न शीतल निवासलाई १९९० सालको महाभूकम्पले ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि जनरल कृष्णशमशेरले उक्त दरबारलाई आधुनिक तरिकाले मर्मतसम्भार गरी त्यसलाई अहिलेको स्वरूप दिएका हुन्। शीतल निवास १४० रोपनी क्षेत्रफलमा फैलिएको छ।

कृष्णशमशेरले राजदूतदेखि विभिन्न उच्च पदमा रहेर सेवा गर्ने मौका पाएका  थिए। प्रधानमन्त्री जुद्धशमशेरले जनरल कृष्णशमशेरलाई आफ्नो सबैभन्दा विश्वासिला सम्झिएर लन्डनस्थित नेपाली राजदूतको जिम्मेवारी दिएका थिए।

दोस्रो विश्वयुद्धमा भारतको सहयोगार्थ पठाइएका नेपाली सेनाको दल प्रमुखमा प्रधानमन्त्रीको हजुरिया जनरल रहेका बहादुरशमशेर दिल्लीमा खटिएपछि कृष्णशमशेरलाई जुद्धशमशेरले आफ्नो हजुरिया जनरलमा नियुक्त गरेका थिए।

दिल्लीबाट बहादुरशमशेर नेपाल फर्किएपछि कृष्णशमशेरलाई प्रधानमन्त्रीले भारतमा खटिएका नेपाली सेनाको दल प्रमुख भई दिल्ली पठाएका थिए।

प्रधानमन्त्री पद्मशमशेरको पालामा समेत कृष्णशमशेरले महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए। उनी प्रधानमन्त्रीका वैदेशिक मामिला हेर्ने मुख्य सहयोगी भएका थिए। यस्तै बहादुरशमशेरले हजुरिया जनरलबाट राजीनामा गरेपछि प्रधानमन्त्री पद्मशमशेरका हजुरिया जनरलसमेत भएर काम गरेका थिए।

यति मात्रै होइन, राणाहरूबीच विभिन्न विषयमा विवाद हुँदै कृष्णशमशेरकै पहलमा सहमति हुने गरेको थियो। मोहनशमशेर, बहादुरशमशेरलगायतको समूहसँग कृष्णशमशेरले २००४ सालको वैधानिक कानुन जारी गर्न दिने एउटा समझदारी कायम गराएर तत्कालीन राजनीतिको सहज निकास निकाल्न मद्दत पुर्‍याएका थिए। कृष्णशमशेरको विवाह राजा त्रिभुवनकी साँहिली दिदी अधिराजकुमारी तारा दिव्यश्वरीसँग भएको थियो।

श्री ३ बाट पद्मशमशेरको बहिर्गमनसँगै मोहनशमशेर प्रधानमन्त्री बने। त्यसपछि कृष्णशमशेरले तत्कालीन सत्ताको दाउपेचमा आफूलाई सहज पाएनन्।

उनले २००६ सालमा आफू रोलक्रमबाट हट्ने र नेपालमा नबस्ने निर्णय गरे। त्यसपछि उनले आफ्नो घर शीतल निवास, त्यहाँका सबै फर्निचर, दुई वटा बग्गी, एउटा मोटरकारसमेत सरकारलाई दिने चाहना व्यक्त गरे। उनको इच्छा आफ्नो दरबारलाई ‘स्टेट गेस्ट हाउस’ का रुपमा सरकारले प्रयोग गरोस् भन्ने थियो। त्यसैले मर्मतसम्भारका लागि तीन लाख २२ हजार ८०२ रुपैयाँसमेत सरकारलाई उपलब्ध गराएका थिए।

२००६ साल असोज २९ गते तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले जनरल कृष्णशमशेरको राजीनामा स्वीकार गरे। साथै उनले उपहारस्वरूप सरकारलाई दिएका दरबारसहित सबै सामान स्वीकार गरे। कृष्णशमशेरले आफ्नो दरबार मर्मतसम्भार खर्चसहित सरकारलाई दान गरेको विषय भारतीय अखबारका समाचार सामग्री बनेका थिए। ‘दी इन्डियन एक्स्प्रेस’ ले १६ जनवरी १९५० को अंकमा छापेको समाचार यस्तो छ :

कृष्णशमशेरले सोही वर्ष पुस ९ मा काठमाडौँ छाडेर बंग्लोर लागे। त्यतिबेला नेपालस्थित भारतीय दूतावास केशरशमशेरले उपलब्ध गराएको रंगमहल (अहिले अस्तित्वमा छैन) मा थियो। हाल भारतीय दूतावास रहेको लैनचौरस्थित भवनमा ब्रिटिस दूतावास थियो।

भारतीय दूतावासले रंगमहलको विकल्पमा दूतावास र राजदूतको आवासका लागि ठूलो दरबार खोजिरहेको थियो। अनि सरकारले शीतल निवास भारतीय दूतावासका लागि उपलब्ध गराएको थियो। यसरी कृष्णशमशेरले नेपाल छाडेको तनि दिनपछि सोही १२ पुसमा भारतीय दूतावास रंगमहलबाट शीतल निवास सरेको थियो। भारतीय दूतावास शीतल निवासमा हुँदा नै २००७ सालमा राजा त्रिभुवनले सपरिवार भारतीय दूतावासभित्र शरण लिएका थिए।

भारतीय दूतावास २०१०/११ सालतिर मात्र हालको लैनचौरस्थित भवनमा सरेपछि नेपाल सरकारले शीतल निवासलाई स्टेट गेस्टहाउस ‘अतिथि गृह’ का रूपमा परिणत गरेको थियो। थुप्रै मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई शीतल निवासले आतिथ्यता प्रदान गरिसकेको छ।

कृष्णशमशेरले नेपालमा इन्जिनियर कलेज खोल्न ८ लाख रुपैयाँ उपलब्ध गराएका थिए। २०११ सालमा नेपालमा आएको बाढीपहिरोबाट क्षति भएपछि गठन गरिएको राष्ट्रिय दुःख निवारण कोषमा कृष्णशमशेर दम्पतीले ५० हजार रुपैयाँ सहयोग गरेका थिए।

जनरल कृष्णशमशेरको दानी व्यक्तित्व यतिमा मात्र सीमित छैन सन् १९३६ मा लन्डनमा राजदूत हुँदा उनले आफ्नी छोरीको सम्झनामा त्यहाँको अक्सफोर्डस्थित अस्पतालमा एउटा शय्या थप गरिदिएका थिए।

राष्ट्रपति भवन शीतल निवास।

२०४६ सालको परिवर्तनपछि शीतल निवासमा परराष्ट्र मन्त्रालय बस्यो। यस्तै २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि २०६५ सालमा मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो।

मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै राष्ट्रप्रमुख (राष्ट्रपति) को कार्यालय र निवासका लागि शीतल निवास प्रयोग गर्न थालियो। अब प्रश्न उठ्छ- दाता कृष्णशमशेरले दान दिने बेला इच्छा गरेझैँ त्यो भव्य दरबार स्टेट गेस्ट हाउसका रूपमा सदुपयोग हुन पायो त?

 

प्रकाशित: ७ भदौ २०७९ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =