च्याम्पियन्स लिग : नापोलीमाथि एसी मिलान हाबी

हिमाल प्रेस ३० चैत २०७९ १०:०५
12
SHARES
च्याम्पियन्स लिग : नापोलीमाथि एसी मिलान हाबी

काठमाडौँ- एसी मिलान च्याम्पियन्स लिग सेमिफाइनलको नजिक पुगेको छ। बुधबार राति क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु प्रतिद्वन्द्वी नापोलीलाई १-० ले पन्छाएसँगै मिलानले १६ वर्षपछि अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो।

सान सिरोमा झरी परेको रात मिलानलाई जिताउन इस्माइल बेन्नासेरले निर्णायक गोल गरे। पहिलो पटक च्याम्पियन्स लिग क्वार्टरफाइनल खेलेको नापोलीविरुद्ध बेन्नासेरले ४० औँ मिनेटमा राफाएल लिआओको पासमा गोल गरेका थिए। अल्जेरियाका यी २५ वर्षीय अट्याकिङ मिडफिल्डरले जारी सिजन दोस्रो पटक गोल गरेका हुन्।

सन् २००७ मा च्याम्पियन्स लिग जितेपछि मिलान सेमिफाइनल पुगेको छैन। तीन सिजन युरोपा लिगमा बिताएपछि गत सिजन मात्र च्याम्पियन्स लिग फर्किएको मिलानले लगातार पाँचौँ खेलमा ‘क्लिनसिट’ राख्यो। मिलानले सन् २००४/०५ पछि पहिलो पटक यस्तो सफलता हासिल गरेको हो।

‘समर्थकसँग खुसीयाली मनाउन पाउँदा म खुसी छु। हुन त च्याम्पियन्स लिग इतिहासमा मिलानको आफ्नै स्थान छ। तर पछिल्लो समय च्याम्पियन्स लिग खेल्ने अवसर पाउन मिलान संघर्षरत थियो। यसकारण आजको दिनमा पाएको सफलता कमालको छ,’ गत सिजन मिलानलाई सिरी ए च्याम्पियन बनाएका प्रशिक्षक स्टिफियानो पिओलीले भने।

सिरी ए को शीर्षस्थानमा रहेको नापोलीले ७४ औँ मिनेटमा आन्द्रे प्रान्क जाम्बो एन्गुएसालाई गुमाएको थियो। मिलानका फुलब्याक थियो हर्नान्डेजलाई धेकेलेको निहुँमा उनलाई दोहोरो पहेलो कार्ड देखाइएको थियो।

आगामी साता हुने दोस्रो लेगमा नापोलीसँग एन्गुएसाबाहेक रक्षक किम मिन जाई पनि हुने छैनन्। दक्षिण कोरियाका किमले तेस्रो पटक पहेलो कार्ड पाएकाले आगामी खेल गुमाउने भएका हुन्। यी दुईको अनुपस्थिति नापोलीका ठूलो घाटा हो। यद्यपि स्ट्राइकर भिक्टर ओसिमेनको आगमनले नापोलीलाई राहत दिनेछ। चोटका कारण कुल तीन खेल गुमाइसकेका उनी मैदान फर्कन तयार छन्।

नापोलीका प्रशिक्षक लुसियानो स्पालेट्टीले एन्गुएसा र किम नहुँदा टिममा असर पर्ने भए पनि उनीहरूको स्थान लिन अरु खेलाडी तयार रहेको प्रतिक्रिया दिए। ‘हामी यस्तो चरणमा पुगेका छौँ जहाँ कुनै पनि खेलाडीको अनुपस्थितिले असर पर्छ। तर त्यस्तो परिस्थितिलाई पार लगाउन हामीसँग अरु खेलाडी छन्। बेन्चमा हुने खेलाडीलाई पनि हामी विश्वास गर्छौ,’ खेलपछि स्पालेट्टीले भने।

दोस्रो लेगमा पनि नापोली पछि परे मिलान सेमिफाइनलमा पुग्नेछ। जहाँ मिलानको भेट सहरी प्रतिद्वन्द्वी इन्टर मिलानसँग हुने सम्भावना छ। इन्टर पहिलो लेगमा बेनफिकालाई पन्छाउँदै सेमिफाइनल नजिक पुगिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =