स्पेनमा चेल्सीकाे अपेक्षित हार

हिमाल प्रेस ३० चैत २०७९ ८:४७
6
SHARES
स्पेनमा चेल्सीकाे अपेक्षित हार

काठमाडौँ- च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गरेको छ। रियललाई बुधबार राति घरेलु मैदानमा जित दिलाउन कप्तान करिम बेन्जेमा र मार्को असेन्सियोले एक-एक गोल गरे।

रोड्रिगोलाई लडाएपछि बेन चिल्वेललाई दोस्रो हाफको ५९ औँ मिनेटमा रातो कार्ड देखाइएको थियो। फ्रान्क लाम्पार्ड नेतृत्वको इंग्लिस टिममा एक खेलाडी कम भएसँगै रियलले एक गोल थप्यो। सर्वाधिक १४ पटक च्याम्पियन्स लिग जितेको रियलले पहिलो हाफको २१ औँ मिनेटमै अग्रता लिएको थियो।

भिनिसियस जुनियरले गरेको प्रहारलाई चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले पूर्ण रुपमा रोक्न नसकेपछि पाएको बललाई बेन्जेमाले ‘वान टच’ मा गोल गरेका थिए। खेलमा दबदबा कायम राखे पनि रियलले दोस्रो गोल गर्न निकै समय पर्खनु पर्‍यो। दोस्रो हाफको ७४ औँ मिनेटमा मात्र रियलले अग्रता दोब्बर बनाउन सक्यो। भिनियिसले दिएको पासलाई १८ यार्ड बक्सबाहिरबाट असेन्सियोले गोलमा परिणत गरेका थिए।

रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले आफ्नो पूर्वक्लबविरुद्ध जित हात पारेपछि सन्तुष्टि व्यक्त गरे। ‘हामी यो नतिजा र प्रदर्शनमा पूर्ण सन्तुष्ट छौँ। तर प्रतिस्पर्धा अझै सकिएको छैन। हामीले स्टामफोर्ड ब्रिजमा अर्को ९० मिनेट काट्नु छ। र, त्यो खेल जित्न चल्सीले हरसम्भव प्रयास गर्नेछ,’ सन् २००९ देखि २०११ सम्म चेल्सीका प्रशिक्षक रहेका एन्सिलोट्टीले भने। एन्सिलोट्टी चेल्सीमा छँदा लाम्पार्ड मुख्य खेलाडीमध्येका एक थिए।

एन्सिलोट्टीले चेल्सीविरुद्ध टोनी क्रुस र लुका मोड्रिच जस्ता पाका मिडफिल्डरलाई मैदान उतारे। लाम्पार्डले थिएगो सिल्भा र एन्गोलो कान्टेलाई पहिलो एघारमा राखेका थिए। सन् २०२१ को सेमिफाइनलमा चेल्सीले रियललाई पन्छाउँदा कान्टेको प्रदर्शन प्रभावशाली थियो।

यी दुई टिम च्याम्पियन्स लिगमा लगातार तेस्रो पटक भिडेका हुन्। गत सिजन च्याम्पियन बनेको रियलले चेल्सीलाई क्वार्टरफाइनलमै पन्छाएको थियो। त्यसअघिको सिजनमा भने चेल्सीले रियललाई सेमिफाइनलमा पराजित गरेको थियो।

दोस्रो लेगमा पनि आफू अनुकूल नतिजा हात पारे रियल १३ सिजनमा ११ औँ पटक सेमिफाइनलमा पुग्नेछ। चेल्सीले भने सन् २०१३/१४ यता जम्मा चार पटक मात्र सेमिफाइनल यात्रा तय गरेको छ।

इंग्लिस प्रिमियर लिगको ११ औँ स्थानमा रहेको चेल्सी स्पेन पुग्नुअघि राम्रो लयमा थिएन। चेल्सीले घरेलु लिगमा पछिल्ला ११ खेलमध्ये जम्मा दुई मात्र जितेको छ। रियलसँगको हारले चेल्सीको जितविहीन यात्रा पाँचौँ खेलसम्म पुगेको छ। चेल्सीले पछिल्ला चार खेलमा त गोल पनि गर्न सकेको छैन। चेल्सी सन् १९९३ यता पहिलो पटक यत्तिका खेलमा गोलविहीन बनेको हो।

गोल गर्न संघर्षरत रहेको चेल्सीसँग भएका एक्लो स्ट्राइकर पियर एमरिक आबुमेयाङ हुन्। जसलाई चेल्सीले च्याम्पियन्स लिगका लागि दर्ता गरेको छैन। यस्तोमा चेल्सीसँग भएको विकल्प भनेको, विंगर र अट्याकिङ मिडफिल्डरलाई फल्स नाइन बनाएर खेलाउने हो।

लाम्पार्डले रियलविरुद्ध जोआओ फिलिक्स र रहिम स्टर्लिङलाई अग्रपंक्तिको जिम्मा दिएका थिए। फिलिक्सले चेल्सीका लागि च्याम्पियन्स लिगमा गोलको खाता खोल्न सकेका छैनन् भने स्टर्लिङले आठ खेलमा तीन गोल गरेका छन्।

‘खेलाडीहरूमा आत्मविश्वासको कमी देखिन्छ। मेहनत गरिरह्यो भने यो समस्या हल हुनसक्छ। कोही खेलाडी गोलबाट भाग्न चाहँदैनन्। उनीहरूलाई हाम्रो साथ चाहिन्छ। कतिपय अवस्थामा प्रेरणा पनि दिनुपर्छ,’ लाम्पार्डले भने।

ग्राहम पोर्टर बर्खास्तीमा परेपछि प्रशिक्षकका रुपमा फेरि एकपटक चेल्सी फर्किएका लाम्पार्डका लागि यो दोस्रो खेल थियो। प्रिमियर लिगमा उल्भरह्याम्पटनसँग १-० को हार भोग्दै चेल्सी बसाइ सुरु गरेको लाम्पार्डका लागि च्याम्पियन्स लिग कठिन परीक्षा हो। यद्यपि उनी दोस्रो लेगलाई लिएर आशावादी छन्।

‘दोस्रो लेग आफ्नो पक्षमा पार्ने चुनौती हाम्रोसामु छ। तर आशा मारेका छैनौँ। हामीले आफूमाथि विश्वास गर्नुपर्छ। स्टाम्फोर्ड ब्रिजमा रियललाई हराउन सकिन्छ भनेर सुरुमा सोच्नु पर्ने मैले नै हो,’ लाम्पार्डले आउँदो बुधबार हुने खेलबारे टिप्पणी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =