सातदोबाटोसामु खुल्न सकेन मनाङ

हिमाल प्रेस २९ चैत २०७९ २२:१३
70
SHARES
सातदोबाटोसामु खुल्न सकेन मनाङ

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। सात खेलमा अपराजित मनाङलाई बुधबार साँझ सातदोबाटो युथ क्लबले १-० ले पराजित गर्‍यो। सातदोबाटोका लागि निर्णायक गोल दीपक राज सिंह ठुकरीले गरे।

यही महिना आयोजित प्रधानमन्त्री त्रिदेशीय कपबाट राष्ट्रिय टिममा डेब्यु गरेको दीपकले लिगमा छैटौँ गोल गरेका हुन्। जितपछि सातदोबाटो शीर्षस्थानमा उक्लियो। आठ खेलबाट १६ अंक बटुलेको सातदोबाटो र मनाङबीच अब एक अंकको दूरी स्थापित भएको छ। यो खेलअघि मनाङ शीर्षस्थानमा थियो भने सातदोबाटो चौथो स्थानमा।

दशरथ रंगशालामा मनाङले स्वाभाविक खेल देखाउन सकेन। दुवै हाफमा मनाङमाथि सातदोबाटो हाबी भयो। सोमबार थ्रीस्टार क्लबसँग भिडेको मनाङ एक दिनको विश्रामपछि दशरथ रंगशाला फर्किएको थियो। पर्याप्त आराम नपाएकाले मनाङका खेलाडी शिथिल देखिए।

मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले हारका कारण केलाउँदा थकानलाई समावेश गरे। उनले केलाएका अन्य कारण भने प्राविधिक थिए। ‘सातदोबाटोले आज डिस्ट्रक्टिभ गेम खेल्यो। उसको रणनीति हामीलाई राम्रो खेल्न नदिने थियो। म्यान टु म्यान मार्किङको योजना लिएर मैदान उत्रियो,’ किरणले भने।

किरणको यो प्रतिक्रियामा सातदोबाटोका मुख्य प्रशिक्षक सनाेज श्रेष्ठ सहमत देखिए। ‘उहाँ (किरण) ले भनेको कुरा सही हो। हाम्रो उद्देश्य मनाङलाई खुलेर खेल्न नदिने थियो। विशेषगरी मनाङका डियान (डिवान्डौ नियाङ) लाई निगरानीमा राख्ने हाम्रो रणनीति थियो। यसमा सफल भयौँ,’ सनोजले भने।

दुई प्रशिक्षकले पत्रकार सम्मेलनमा भनेका कुरा मैदानमा पनि प्रस्ट देखिएको थियो। नियमित लेफ्ट ब्याक रन्दिप पौडेललाई बेन्चमा राखेर किरणले ‘ब्याक थ्री (रक्षापंक्तिमा तीन सेन्ट्रल डिफेन्डरको प्रयोग)’ को रणनीति अवलम्बन गरेका थिए। विंगर सुमित श्रेष्ठ र प्रवेश कुवँर विंगब्याकको भूमिकामा थिए। रन्दिप दोस्रो हाफको ६९ औँ मिनेटमा मात्र मैदान प्रवेश गरे। त्यसपछि मनाङ ‘ब्याक फोर’ मा फर्कियो।

‘ब्याक थ्री’ खेलिरहँदा मनाङको मिडफिल्ड चल्न सकेन। सनोजले भनेझैँ मनाङका मुख्य मिडफिल्डर डियान लगभग ओझेलमा परे। उनलाई ‘प्लेमेकिङ’ को भूमिकामा खरो उत्रन दिइएन। जबकि यसअघिका खेलहरूमा डियान मनाङका मुभहरूको सूत्रधार बन्ने गर्थे। उज्वेक फरवार्ड सायिदजामोल डाभ्लाट्जोनोभले पनि आफ्नो स्तर अनुसारको खेल देखाउन सकेनन्। यसअघिका बहुमत खेलमा उनी ‘गेम चेन्जर’ बन्ने गरेका थिए।

‘डिस्ट्रक्टिभ’ रणनीतिको सीमितता हुन्छन्। सातदोबाटोले रणनीति अपनाउँदै गर्दा उसका ‘क्रिएटिभ’ मिडफिल्डर सुदीप गुरुङले साविकको भूमिका निर्वाह गर्न पाएनन्। उनी रक्षापंक्तिलाई सहयोग गर्नमा व्यस्त रहे। यस्तोमा सातदोबाटोका विदेशी खेलाडी विलियाम ओपोकु एसिडेउ खुलेर खेले। उनी जस्तै स्वतन्त्रपूर्वक खेल्ने अर्का खेलाडी थिए, निरज चौधरी।

निरजकै मुभका कारण सातदोबाटोको गोल सम्भव भएको थियो। उनको ‘थ्रु बल’ लाई नियन्त्रणमा लिँदै दीपकले लगभग ‘वान भर्सेस वान’ मा गोल गरे। निरजको पासले मनाङको रक्षापंक्तिलाई छिचोलिसकेको थियो। यस्तोमा दीपकासामु मनाङका गोलरक्षक दीप कार्की मात्र बाधकका रुपमा बाँकी थिए। केही अगाडि आएका दीपलाई दीपकले सजिलै पन्छाए र गोल गरे।

पहिलो दिनबाटै किरणले भन्दै आएका हुन्, ‘मनाङको प्राथमिक उद्देश्य लिग जित्नु होइन।’ उनले खुला रुपमा यसो किन भनेका हुन् भने, मनाङसँग घरेलु फुटबलका ‘स्टार’ छैनन्। मनाङले कम अनुभवी खेलाडी समेटेको छ। अनि प्राविधिक रुपमा अब्बल विदेशी खेलाडी भित्र्याएको छ। यी दुई प्रकारका खेलाडीले मनाङलाई सन्तुलित टिम बनाएका छन्। बुधबारको खेललाई छाड्ने हो भने, मनाङले ‘पासिङ गेम’ पनि खेलेकै हो।

छरिता खेलाडीले भरिएको मनाङले कहिलेसम्म तीव्र गतिमा खेल्न सक्छ? यो चासो लिगको सुरुवातबाटै थियो। यसको कारण हो, युवा खेलाडीको बाहुल्यता। यही चासोलाई प्रश्न बनाएर किरणसामु तेर्साइयो। ‘हामीसँग युवा खेलाडी धेरै छन्। लगातार खेल्नु पर्दा उनीहरू थकित छन्। रन्दिप नै पनि थाकेका छन्। त्यसैकारण उनलाई सुरुवाती एघारमा नराखेको। अरु खेलाडीले आराम पाएका छैनन्। यसले पनि प्रदर्शनमा असर गरेको छ,’ किरणले भने।

किरणले टिमका सिनियर खेलाडीले सातदोबाटोसँग अनुशासित भएर नखेलेको पनि बताए। उनको संकेत आशिष गुरुङ, जीवन गुरुङ, डियान लगायततिर थियो। आशिषले सातौँ र जीवनले ३२ औँ मिनेटमा पहेलो कार्ड खाएका थिए। रेफ्रीसँग भनाभन गरेका डियानलाई ३३ औँ मिनेटमा पहेलो कार्ड देखाइएको थियो। ‘सिनियर खेलाडी नै अनुशासित नहुँदा खेलमा फरक पर्छ। राम्रो माहोल सिर्जना हुन सक्दैन,’ किरणले थपे।

किरणले दोस्रो हाफको अन्त्यतिर अनिष पोमु लिम्बु र निरन्जन मल्ल जस्ता युवा खेलाडीलाई मैदान प्रवेश गराएका थिए। यी दुईसँगै सीमित मौका पाइरहेका अन्य खेलाडीलाई पनि बढीभन्दा बढी खेल अवसर दिने उनको भनाइ थियो। ‘यसो गर्दा रिस्क त हुन्छ। तर हामी रिस्क लिन तयार छौँ,’ किरणको भनाइ थियो।

सुरुका तीन खेल जितेर आफूलाई अब्बल साबित गरेको सातदोबाटोले मनाङविरुद्ध गोलका अवसर सिर्जना गरिरह्यो। त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ८५ औँ मिनेटमा फ्रिकिक गोल गरेर सातदोबाटोलाई एक अंक दिलाएका एसिडेउ आक्रमणको केन्द्र बने। सेन्ट्रल मिडफिल्डबाट उनले दीपक र सारदोरबेक माट्मुराटोभका लागि निकालेका पास साँच्चै आहा भन्न लायकका थिए। उनले बेलाबेलामा टाढैबाट मनाङको पोस्टमा धावा बोले। दोस्रो हाफको ७० औँ मिनेटमा उनले गरेको प्रहार ‘ब्लक’ गर्न मनाङका गोलरक्षक दीपलाई हम्मेहम्मे परेको थियो।

यो सिजन जावलाखेल युथ क्लब र थ्रीस्टारसँग मात्र हारेको सातदोबाटोका लागि मनाङमाथिको जित महत्त्वपूर्ण रहेको स्वाभाविक प्रतिक्रिया सनोजको थियो। ‘आज बटुलेको तीन अंकका कारण हामीलाई आउँदा खेलमा सजिलो हुनेछ,’ सनोजले भने। उनको यो भनाइको संकेत हो, लिगको सर्वाधिक सफल क्लबमाथिको जितले सातदोबाटोको आत्मविश्वास बढेको छ।

लिगमा हाल आठौँ चरणका खेल चलिरहेका छन्। लिग उपाधि दौड र सम्भावित च्याम्पियनबारे अहिल्यै छलफल गर्नु हतार हुन्छ। तर आखिरमा सातदोबाटो औपचारिक रुपमै उपाधि दाबेदार बने, यो जितको महत्त्व त्यतिबेला पक्कै खुल्नेछ। सनोजको हाउभाउले पनि यसको संकेत गरिरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =