बायर्नको आशा : सजग सिटीविरुद्ध घरेलु मैदानमा पुनरागमन

हिमाल प्रेस २९ चैत २०७९ ९:११
10
SHARES
बायर्नको आशा : सजग सिटीविरुद्ध घरेलु मैदानमा पुनरागमन

काठमाडौँ- म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग क्वार्टरफाइनलको प्रतिस्पर्धा नसकिएको बताएका छन्। पहिलो लेगमा मंगलबार राति बायर्न म्युनिखमाथि ३-० को जित दर्ता गरे पनि ग्वार्डिओलाले आफ्ना खेलाडीलाई नफुर्किन सुझाव दिएका छन्।

‘म बायर्नमा तीन वर्ष रहे। युरोपेली क्लब फुटबलमा बायर्न कति बलियो टिम हो भन्ने थाहा छ। बायर्न जस्ता बलिया टिमसँग खेल्दा एउटा लेग जितेर मात्र पुग्दैन। बायर्नको मैदानमा पनि जित्न पर्छ। किनभने घरेलु मैदानमा बायर्न तीन गोल गर्न सक्ने टिम हो,’ इत्तिहादमा पूर्वक्लमाथि जित हात पारेपछि ग्वार्डिओलाले भने।

बायर्नलाई हराउन एर्लिङ हालान्डले जारी सिजनको ४५ औँ गोल गरे। बाँकी दुई गोल रोड्री र बर्नादो सिल्भाको नाममा रहे। सन् २०१६ मा बायर्न छाड्दै सिटीका प्रशिक्षक बनेका ग्वार्डिओलाले पहिलो पटक पूर्वक्लबको सामना गरेका हुन्।

ग्वार्डिओलाका लागि यो जित थोमस टुकलविरुद्धको बदला पनि हो। किनभने सिटी टुकल नेतृत्वको चेल्सीसँग सन् २०२१ को च्याम्पियन्स लिग फाइनलमा पराजित भएको थियो। चेल्सीमा बर्खास्तीमा परेका टुकल तीन साताअघि मात्र बायर्नको प्रशिक्षकमा नियुक्त भएका हुन्।

बायर्नले सिटीविरुद्ध खराब प्रदर्शन नगरेको टुकलको भनाइ थियो। ‘यो नतिजाले खेलको कथा भन्दैन। किनभने हामी हारको लायक थिएनौँ। यो खेलबाट हामीले केही न केही पाउनु पर्ने थियो। मैले आफ्ना खेलाडीलाई निराश नहुन भनेको छु। उनीहरूले निडर भएर खेले,’ सन् २०१९/२० मा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएका टुकलले भने। त्यो फाइनलमा संयोगवश पीएसजी बायर्नसँग पराजित भएको थियो।

घरेलु समर्थकसामु सिटी पहिलो हाफको २७ औँ मिनेटमा अघि बढेको थियो। बर्नादो सिल्भाको सहयोगमा स्पेनी मिडफिल्डर रोड्रीले सिटीको पहिलो गोल गरेका थिए। दोस्रो हाफको ७० औँ मिनेटमा सिल्भा आफैँले गोल गरे। उनलाई हालान्डले हेडरमार्फत पास उपलब्ध गराएका थिए।

त्यसको ६ मिनेटपछि सिटीले तेस्रो गोल गर्‍यो। यसपल्ट हालान्डले गोल गरे। रक्षक जोन स्टोन्सको क्रसलाई सदुपयोग गर्दै नर्वेका यी युवा स्ट्राइकरले सुन्दर गोल गरेका थिए।

गत सिजन टुकलको पूर्वक्लब बोरुसिया डर्टमन्डमा रहेका हालान्डले सिटीका लागि च्याम्पियन्स लिगका सात खेलमा ११ गोल गरिसकेका छन्। रोचक त के छ भने, यी प्रतिभावान् स्ट्राइकरलाई अनुबन्ध गर्न सिटीले बायर्नलाई पछि पारेको थियो।

पुनरागमनको आशा

सिटी र बायर्नबीचको दोस्रो लेग आगामी मंगलबार राति म्युनिखमा हुनेछ। घरेलु रंगशाला आलियान्ज ऐरिनामा हुने यो खेलमा पुनरागमन गर्ने बायर्नको आशा छ। हारका बाबजुद इत्तिहादमा भएको खेलमा आफू रमाएको टुकलको भनाइ थियो।

‘यो खेल निराशाजनक थिएन। भलै नतिजा हाम्रो पक्षमा आएन। हामीले जसरी खेल्यौँ, त्यो तारिफयोग्य थियो। मेरा खेलाडीहरूले चलाखीपूर्वक खेले। उनीहरू कमजोर देखिएनन्,’ खेलपछि टुकलले एमेजोन प्राइमसँग भनेका छन्।

सिटीसँगको यो हार च्याम्पियन्स लिगमा बायर्नले भोगेको ६ वर्षयताकै खराब हार हो। सन् २०१७ मा बायर्न समूह चरणको खेलमा पीएसजीसँग ३-० ले पराजित भएको थियो। उसो त त्योभन्दा फराकिलो हार बायर्नले सन् २०१४ मा भोगेको हो। सेमिफाइनलको दोस्रो लेगमा स्पेनी क्लब रियल म्याड्रिडले बायर्नलाई ४-० ले पन्छाएको थियो।

बायर्नको प्रशिक्षकका रुपमा टुकलका लागि यो च्याम्पियन्स लिगमा पहिलो र समग्रमा चौथो खेल थियो। बायर्नमा पूर्ण रुपमा अभ्यस्त नभइसकेका टुकलले आफ्ना खेलाडीहरूले ६० औँ मिनेटसम्म गजबको प्रदर्शन गरेको बताए। ‘६० औँ मिनेटसम्म हामीले कमालको खेल्यौँ। हो, गोल भएन तर त्यसका धेरै कारण छन्। जस्तै, खेलाडीहरूमा आत्मविश्वासको कमी। फेरि यस्तो खेलमा भाग्यको साथ पनि चाहिन्छ,’ टुकलले भने।

सिटीले पहिलो गोल गर्न खासै मेहनत गर्नु नपरेको टुकलका जिकिर थियो। ‘रोड्रीको त्यो गोल देब्रे खुट्टाले गरे। न त उनले गोल गर्ने लक्ष्यका साथ प्रहार गरेका थिए,’ टुकलले भने।

बायर्नका कप्तान जोसुआ किमिक टुकलको विचारसँग सहमत देखिए। ‘हामीले ६० औँ मिनेटसम्म ठिकठाक खेलेका थियौँ। त्यसपछि लगातार गोल खायौँ। हारे पनि यो खेलबाट हामीले पाएको सन्देश हो, हामी सिटीकै स्तरमा खेल्दै उसलाई हराउन सक्छौँ। दोस्रो लेगमा पुनरागमन गर्ने आत्मविश्वास हामीसँग छ,’ किमिकको भनाइ थियो।

किमिकका साथी मथ्थिएस डे लिटले पनि बायर्न सेमिफाइनल पुग्न सक्षम रहेको दाबी गरे। ‘नहार्नु पर्ने खेल हारियो। तर हामीसँग यो नतिजा उल्टाउँदै सेमिफाइनल पुग्ने क्षमता छ। फुटबलमा जे पनि हुनसक्छ भन्ने त हामी सबैलाई थाहै छ,’ नेदरल्यान्ड्सका सेन्टरब्याक डे लिटको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =