हरुवाचरुवाको अधिकार यात्रा जनकपुरधाममा

हिमाल प्रेस २८ चैत २०७९ १७:४२
6
SHARES
हरुवाचरुवाको अधिकार यात्रा जनकपुरधाममा

जनकपुरधाम- हरुवाचरुवाको अधिकार यात्रा न्यायिक पुनःस्थापनाको मागसहित जनकपुरधाम आइपुगेको छ। चैत २५ गतेदेखि पर्सा र सप्तरीबाट एकैसाथ सुरु भएको हरूवाचरूवाको अधिकार न्यायिक यात्रा ६ बुँदे माग राख्दै मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको हो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन २ गते नेपालमा हरूवाचरूवा प्रथा मुक्त भएको घोषणा गरेपनि व्यवहारमा भने अझै कार्यान्वयन भएको देखिँदैन।  सो प्रथा मुक्त घोषणा भईसक्दासमेत कागजमै सीमित भएपछि उनीहरूले पुनस्र्थापनाको माग गर्दै मधेश प्रदेशमा पाँचदिने अधिकार यात्राको सुरुवात गरेका थिए।

दुई समूहमा विभावन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको छ। उता, वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको राष्ट्रिय हरूवाचरूवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए। दास प्रथाबाट मुक्त हुन राजविराज र वीरगञ्जबाट सुरु गरिएको पैदल अधिकार यात्रा जनकपुरधाममा पुगेर समापन गरिएको उनले बताए।

सरकारले हरूवाचरूवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनर्स्थापनाका लागि लगत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनस्र्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो।

यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन नसकेको मञ्चका अध्यक्ष मण्डलको गुनासो छ।

सरकारले मुक्ति घोषणा गरेपनि मधेश प्रदेशका ८ जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अझै हरूवाचरूवा प्रथा कायम रहेको उनको भनाइ छ।

उनले भने, ‘खाना र औषधि उपचारका लागि हामी ऋणको गैरकानुनी सर्त मान्न बाध्य छौँ। तर, केन्द्रदेखि मधेश सरकार हाम्रो पुनर्स्थापनाको सवालमा मौन छ।’ देशमा संघीयता, लोकतन्त्र, समावेशीकरण र गणतन्त्र आइसक्दा पनि आफूहरुको जीवनमा यसले छुन नसकेको मण्डलको गुनासो छ।

अधिकार यात्राका क्रममा करिव १० हजार बढी हरूवाचरूवा र शुभचिन्तकमा पुगेर संकलन गरिएको माग र उनीहरुको बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिबद्धतासहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्रसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय क्षेत्रमा उनीहरुलाई प्रवेश गर्न दिइएको थिएन।

प्रकाशित: २८ चैत २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =