मधेश : कांग्रेस र लोसपाको बहिष्कारका बीच मुख्यमन्त्री यादवले पाए विश्वासको मत

हिमाल प्रेस ४ वैशाख २०८१ २१:४२
76
SHARES
मधेश : कांग्रेस र लोसपाको बहिष्कारका बीच मुख्यमन्त्री यादवले पाए विश्वासको मत फाइल तस्बिर।

जनकपुरधाम- कांग्रेस र लोसपाले बहिष्कार गरेको मधेश प्रदेशको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्। मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाले बैठकको बहिष्कार गरे पनि विश्वासको मत पाउन सफल भएका हुन्।

मंगलबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस, जनमत र लोसपाले बैठक बहिष्कार गरेपछि ६१ प्रदेशसभा सदस्यहरु उपस्थित थिए। उपस्थित ६१ प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि उनले सदनमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ।

१ सय ७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका ५४ प्रदेशसभा सदस्यहरुको मत आवश्यक थियो। सत्ता गठबन्धनमा रहेका दलहरु जसपा, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री यादवको पक्षमा उभिएका हुन्। प्रदेशसभामा एमालेका सभामुख बाहेक २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ प्रदेशसभा सदस्यहरु रहेका छन्। त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ प्रदेशसभा सदस्य छन्।

त्यस्तै कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ सांसद छन्। यो तीन दलले भने बैठक बहिष्कार गरेका थिए।

सदनमा तोडफोड

मधेश प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले नै तोडफोड गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले विरोध गरिरहँदा सभामुख रामचन्द्र मण्डलले सभा सञ्चालन गर्न खोजेपछि प्रदेशसभा सदस्यहरु तेडफोडमा उत्रिएका थिए। त्यस लगत्तै जनमतका प्रदेशसभा सदस्यहरुलाइ सदन बाहिर निकाल्न सभामुख मण्डलले निर्देशन दिएका थिए।

त्यसपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु समेत बैठक बहिष्कार गरेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए। त्यस्तै लोसपाले समेत प्रतिपक्षीबिना प्रदेशसभा चलाउन खोज्नु लोकतन्त्रका लागि उचित संकेत नरहेको सभा बहिष्कार गरेको थियो।

प्रकाशित: ४ वैशाख २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =