दर्शक घटे, रोमाञ्चकारी उस्तै

हिमाल प्रेस २७ चैत २०७९ २२:४९
76
SHARES
दर्शक घटे, रोमाञ्चकारी उस्तै

काठमाडौँ- नेपाली घरेलु फुटबलमा ‘क्राउड पुलर’ मानिने केही खेलमध्येको एक हो, मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीचको भिडन्त। थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसी त यो खेललाई नेपालको ‘एल क्लासिको’ नै मान्छन्। हुन पनि यी प्रतिस्पर्धाको आफ्नै इतिहास छ। यसले ‘क्राउड पुलर’ को मात्र ट्याग भिरेको छैन, उपाधि होडमा महत्त्व राख्ने खेलको पनि परिचय बोकेको छ।

तर सहिद स्मारक ए डिभिजन लिगका पछिल्ला दुई सिजनमा परिस्थिति फरक देखियो। गत सिजनकै कुरा गर्ने हो भने, मनाङ पाँचौँ स्थानमा सीमित हुँदा थ्रीस्टार छैटौँमा अड्कियो। त्यसअघिको सिजन मनाङ र थ्रीस्टार क्रमशः तेस्रो र चौथो स्थानमा रहे। त्यसो भएपछि दुई क्लबबीचको भिडन्तले उपाधि दौडमा निर्णायक भूमिका निर्वाह गरेन।

मनाङ र थ्रीस्टार नयाँ शक्ति मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबभन्दा पछि त परे नै लिगमै उपस्थित हुने दर्शकको संख्या पनि ह्वात्तै घट्यो। कतिसम्म भने मनाङ र थ्रीस्टारबीचको खेलले समेत दर्शक तान्न सकेनन्।

नयाँ सिजनको लिगमा पनि रंगशाला पुग्ने दर्शकको संख्या अपेक्षा गरेभन्दा कम छ। लिगमा सातौँ चरण सकिँदा सबैभन्दा बढी दर्शक थ्रीस्टार र एपीएफ क्लबबीचको खेलले पायो। यो खेल हेर्न दशरथ रंगशाला पुग्ने समर्थकको संख्या थियो तीन हजार।

सोमबार साँझ दशरथ रंगशालामै मनाङ र थ्रीस्टारले १-१ को बराबरी खेल्दा, दर्शक तीन हजार पनि थिएनन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको तथ्यांकअनुसार यो खेल जम्मा २८ सय ३५ ले हेरे।

कुनै समय यस्तो थियो, जब यो खेल हेर्न पुगेका दर्शकले दशरथ रंगशाला लगभग भरिन्थ्यो। अब समय उही रहेन। यद्यपि जति दर्शक सोमबार साँझ दशरथ रंगशालामा थिए, ती निराश बनेनन्। यसको कारण थियो, रोमाञ्चकारी खेल।

खेल पहिलो मिनेटबाटै प्रतिस्पर्धात्मक रह्यो। दुवै टिमका खेलाडी ‘ट्याक्टिकल’ र ‘फिजिकल’ दुवै प्रकारको प्रतिस्पर्धाका लागि तयार देखिन्थे। पहिलो हाफमा आक्रमण बुन्ने मामलामा थ्रीस्टार केही अघि रह्यो। जापानबाट घरेलु लिग खेल्न फर्किएका स्ट्राइकर सन्तोष साहुखलले १२ औँ मिनेटमा गरेको प्रहार रोक्न मनाङका गोलरक्षक दीप कार्कीले मज्जाको डाइभ हान्नुपर्‍यो।

त्यसको १४ मिनेटपछि थ्रीस्टारले फेरि एकपटक डरलाग्दो मुभ बनायो। विंगर आदित्य शाक्यले रक्षक अशोक खवाससँग वान-टु-वान पास खेल्दै आक्रमण बुनेका थिए। उनको प्रहारले गोलको खाता भने खोल्न सकेन।

मनाङले यसपालि लिग जित्ने लक्ष्य बनाएको छैन। मुख्य प्रशिक्षक किरण श्रेष्ठको जिकिर यस्तै छ। मनाङले नाम चलेका घरेलु स्टार खेलाडी अनुबन्ध नगरेकाले पनि किरणको दाबी पत्याउन करै लाग्छ। तर यति हुँदाहुँदै पनि मनाङ खतरनाक टिम देखिएको सत्य हो। यसका केही कारणमध्ये एक हो, सन्तुलित टिम। र सन्तुलन प्रतिभावान् विदेशी खेलाडीका कारण पनि कायम भएको हो।

‘पासिङ गेम’ खेल्ने मनाङ प्राविधिक रूपमा अब्बल देखिन्छ। छोटा कदका छरिता खेलाडीले भरिएको मनाङले कुनै पनि खेल अल्छीलाग्दो पाराले खेलेको छैन। थ्रीस्टारविरुद्ध भने मनाङ आफ्नो स्वाभाविक खेल देखाउनबाट चुक्यो, कम्तीमा पहिलो हाफमा।

बल पाउनासाथ आक्रमण बुन्न हतारिएको थ्रीस्टारविरुद्ध मनाङले पहिलो हाफको ४३ औँ मिनेटमा अग्रता लिने मौका पाएको थियो। यो मौकाको केन्द्र र कारण थिए, स्ट्राइकर कोफी टिमोथी कौडो। थ्रीस्टारका भरपर्दा रक्षक पिटर सेगुनबाट खासेको बल लिएर कौडो १८ यार्ड बक्सभित्र पुगे। तर उनले त्यहाँ न त साथी खेलाडी खोजे, न त समयमै प्रहार गरे। ढिलोगरी उनले आक्रमण त गरे। यद्यपि उनको प्रहारले थ्रीस्टारको रक्षापंक्ति छिचोल्न सकेन।

दोस्रो हाफमा थ्रीस्टारले गोल गर्ने कमसेकम तीन अवसर खेर फाल्यो। ५२ औँ मिनेटमा विराज महर्जनको फ्रिकिकमा योगेश गुरुङले गरेको हेडर, ६६ औँ मिनेटमा अशोक खवासले प्रहार गरेको फ्रिकिक, ७२ औँ मिनेटमा मार्टिन्स कायोडे अजायीले गरेको प्रहार, यी सबै थ्रीस्टारलाई अघि बढाउन सक्ने अवसर थिए।

थ्रीस्टारले ७८ औँ मिनेटमा भने अन्ततः गोल गर्‍यो। गोलको मुभ मनाङका स्ट्राइकर कौडेको गल्तीका कारण सम्भव भएको थियो। ‘एयर बल’ नियन्त्रणमा लिने प्रयास गरिरहेका कौडेलाई थ्रीस्टारका लाकेन लिम्बुले ‘प्रेस’ गरे। रन्दिप पौडेल र सुमित श्रेष्ठ कौडेलाई सघाउन वा उनीबाट बल लिन त्यही राइट विंगमै थिए। तर कौडेबाट आएको बललाइ लाकेनले हेडरमार्फत सन्तोषलाई उपलब्ध गराए।

१८ यार्ड बक्सभित्र पस्दै गरेका सन्तोषले बल पाउन साथ पहिलो टचमा मनाङको पोस्टतिर पठाइदिए। उनको यो प्रहार मनाङका गोलरक्षक दीपले अन्दाज गर्न सकेनन्। सन्तोषले लिगकाे पहिलाे खेलमै गाेल गरेका हुन्।

गोल खाए पनि हार नमानेको मनाङले ८४ औँ मिनेटमा गोल फर्कायो। गोल गर्ने खेलाडी उनै कौडो थिए। लेफ्ट विंगमा रहेका विसन गुरुङले निकै टाढाबाट दिएको त्रसलाई कौडोले हेडर गोलमा परिणत गरे।

‘नेपाली एल क्लासिको’

बराबरीपछि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराजले दिएको सुरुवाती प्रतिक्रया थियो, ‘हामीले गरेको गोलले तीन अंक ल्याउनुपर्ने थियो। तर मनाङले अन्तिममा एक अंक बटुल्ने गोल गर्‍यो।’

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहेका बेला गोल नखाएको भए थ्रीस्टारको १३ अंक हुने थियो। त्यसले थ्रीस्टारलाई अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका चर्च ब्वाइज युनाइटेड तथा सातदोबाटो युथ क्लबको हैसियतमा पुर्‍याउँथ्यो।

‘हामी मैदानमा ओर्लिएको तीन अंक बटुल्ने लक्ष्य बोकेरै हो। तर दुर्भाग्यवश अन्तिममा गोल खाइयो। यद्यपि मैले यो खेललाई अंक गुमाएको खेलका रुपमा हेरेको छैन। किनभने हामी सुधारिएको प्रदर्शन गरिरहेका छौँ,’ मेघराजले भने।

मेघराजले यो खेल लिगकै उत्कृष्ट भएको पनि जिकिर गरे। ‘मैले सबै खेल त हेर्न पाएको छैन। तर मलाई लाग्छ, जारी सिजनकै उत्कृष्ट खेल थियो। म त थ्रीस्टार र मनाङबीचको खेललाई नेपाली एल क्लासिको मान्छु,’ मेघराजले थपे।

थ्रीस्टारले यो सिजनको सुरुवात नेपाल एपीएफ क्लबसँग २-० को हार व्यहोरेर गरेको थियो। दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३-३ को बराबरीमा रोकिएको थ्रीस्टारले तेस्रो खेलमा पुगे पहिलो जित दर्ता गरेको थियो।

खुमलटार युवा क्लबलाई हराएपछि पहिलो पटक तीन अंक बटुलेको थ्रीस्टार पाँचौँ खेलमा फेरि हार्न पुग्यो। यसपालि थ्रीस्टारलाई ललितपुरकै जावलाखेल युथ क्लबले स्तब्ध बनायो। फिफा विश्रामपछि त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर थ्रीस्टारले लयमा फर्कने प्रयास गरेको थियो।

अरूले भन्दा ढिलो टिम निर्माण गरेकाले थ्रीस्टारले नयाँ सिजनको सुरुवात सोचेअनुसारले गर्न नसकेको बताउँछन्, मेघराज। ‘अन्तिम क्षणमा टिम निर्माण गर्नुपर्‍यो। त्यसबेलासम्म खेलाडी अभाव सुरु भइसकेको थियो। त्यसकारण हामीले कम अनुभवी युवा खेलाडीलाई समेट्नुपर्‍यो। करियर अन्त्य गर्न लागेका खेलाडीलाई खेल्न अनुरोध गर्नुपर्ने बाध्यता आइलाग्यो। सन्तोषलाई त अनुरोध गरेरै जापानबाटै फर्कायौँ। जे होस् मेहनत गरिरहेका छौँ। आउँदा खेलमा बलियो बन्दै जाने लक्ष्य छ,’ मेघराजले भने।

‘शारीरिक दुर्ब्लताका कारण समस्या’

मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले फेरि एकपटक आफ्नो टिमको कमजोर पक्षबारे टिप्पणी गरे। उनले यसअघि पनि आफ्ना खेलाडी शारीरिक रुपमा कमजोर र होचा रहेकाले विपक्षी टिमले फाइदा उठाउने बताएका थिए।

किरणले थ्रीस्टारका सन्तोष मनाङका फुलब्याक रन्दिप र विंगर सुमितमाथि शारीरिक रूपमा वर्चस्व कायम गरेकाले गोल खाएको प्रतिक्रिया दिए। ‘शारीरिक रूपमा हामी कमजोर छौँ। आज पनि त्यही देखियो। सन्तोषले फिजिकल्ली डोमिनेट गरे। रन्दीप, सुमितलगायतका खेलाडी शारीरिक रूपमा कमजोर छन्,’ किरणले भने।

शारीरिक रूपमा कमजोर देखिए पनि आफ्ना खेलाडीले समग्रमा गजबको खेल देखाएको किरणको भनाइ थियो। ‘थ्रीस्टार बलियो टिम हो। हाम्रो टिम र खेलाडी थ्रीस्टारका लागि नौला होइनन्। मोफसलको प्रतियोगितामा भिडेकाले पनि थ्रीस्टारलाई हाम्रा खेलाडी कस्ता छन् भन्ने थाहा थियो। त्यहीअनुसार थ्रीस्टारले रणनीति बनायो,’ किरणले भने, ‘तर बल नियन्त्रणमा राख्न, मौका सिर्जना गर्न, पासिङ गेम खेल्न हामी पछि हटेनौँ।’

लिगमा अपराजित दुई टिममध्येको एक मनाङ हाल शीर्ष स्थानमा छ। यद्यपि थ्रीस्टारसँगको बराबरीका कारण दोस्रो स्थानको जावलाखेलसँगको दूरी तीन अंकमा पुर्‍याउने अवसर मनाङले गुमायो। सातौँ चरणका खेल सकिँदा मनाङको १५ अंक छ। जावलाखेलसँग १४ अंक छ।

प्रकाशित: २७ चैत २०७९ २२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =