आर्मीका प्रशिक्षक नवीनको स्वीकारोक्ति : टिमको स्तर खस्किँदा उपाधि लक्ष्य कठिन

हिमाल प्रेस २६ चैत २०७९ २२:०४
14
SHARES
आर्मीका प्रशिक्षक नवीनको स्वीकारोक्ति : टिमको स्तर खस्किँदा उपाधि लक्ष्य कठिन सातदाेबाटाेविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै आर्मीका खेलाडी

काठमाडौँ- तीन पटक अग्रता लिए पनि त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगमा आइतबार बराबरीमा रोकिएको छ। आर्मीलाई सातदोबाटो युथ क्लबले आइतबार साँझ ३-३ को बराबरीमा रोकेको हो।

दशथरथ रंगशालामा पहिलो हाफ सकिँदा आर्मी २-१ को स्थितिमा थियो। अर्मीले दोस्रो हाफमा एक गोल थप्यो। तर सातदोबाटोका विलियम ओपोकु एसिडुले ८५ औँ मिनेटमा गोल गरेपछि आर्मी जितबाट वञ्चित भयो।

यो बराबरीपछि आर्मीको अंक तालिकाको मध्यभागमा अड्किएको छ। सात खेलबाट नौ अंक बटुलेको आर्मी आठौँ स्थानमा छ। सात-सात खेल खेलेका मछिन्द्र फुटबल क्लब र संकटा क्लबले पनि नौ-नौ अंक नै बटुलेका छन्। यद्यपि गोल भिन्नतामा संकटा सातौँ र मछिन्द्र नवौँ स्थानमा रहेका हुन्। मछिन्द्रले आइतबार नै संकटालाई २-१ ले हराएको थियो।

उता सातदोबाटोले भने शीर्षस्थानमा उक्लिने मौका गुमायो। आर्मीलाई पराजित गरेको भए सातदोबाटो १५ अंक बटुल्दै पहिलो स्थानमा पुग्ने थियो। तर बराबरीका कारण सातदोबाटोको १३ अंकसहित तेस्रो स्थानमा छ।

शीर्षस्थानमा मनाङ मस्र्याङ्दी छ। ६ खेलबाट १४ अंक बटुलेको मनाङसँग सोमबार थ्रीस्टार क्लबलाई हराएर शीर्षस्थानमाथिको पकड थप बिलयो बनाउने अवसर छ। सात खेलबाट १४ अंक बटुलेको जावलाखेल दोस्रो स्थानमा छ। जावलाखेलले आठौँ खेलमा मंगलबार आर्मीको सामना गर्नेछ।

जिलेप्सीको दुई गोल
खेल सुरु भएको चौथो मिनेटमै कप्तान तथा फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा आर्मी अघि बढेको थियो। जिलेस्पीले जगजित श्रेष्ठले दिएको क्रसमा हेडर गोल गरेका थिए।

राष्ट्रिय टिमका स्ट्राइकर दीपक राज सिंह ठकुरीले २५ औँ मिनेटमा गोल गरेसँगै सातदोबाटो खेलमा फर्कियो। दीपकले गरेको प्रहार आर्मीका सुरोज बस्नेतसँग ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो।

पहिलो हाफ नसकिँदै आर्मीले अग्रता पुनःस्थापित ग¥यो। ६ यार्ड बक्सभित्र सातदोबाटोका पासाङ लामाले बल क्लियर गर्न खोजेका थिए। तर त्यही बेला बल जिलेस्पीसँग ठोक्किँदै गोल भयो।

दोस्रो हाफमा पनि दुवै टिम आक्रामक देखिए। गोल गर्न हतारिएको सातदोबाटोले दोस्रो हाफ सुरु हुनसाथ ‘मुभ’ बनायो। निरज चौधरीले राइट विंगबाट क्रस गरेको बल आर्मीका गोलरक्षक विकेश कुथुले नियन्त्रणम लिन सकेनन्। जसलाई नजिकै रहेका सातदोबाटोका सादोरबेक माट्मुराटोभले पोस्टको दिशा देखाए।

४८ औँ मिनेटमा दोस्रो गोल खाएको आर्मीले चार मिनेटपछि तेस्रो गोल ग¥यो। रक्षक दीपक गुरुङले राइट विंगबाट गरेको क्रस सातदोबाटोका गोलरक्षक अभिषेक बरालले नियन्त्रणमा लिन सकेनन्। जसकारण सातदोबाटो तेस्रो पटक पछि प¥यो।

तर निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा विलियम ओपोकु एसिडुले फ्रिकक गोल गरेपछि सातदोबाटोले जारी सिजनको दोस्रो पराजय भोग्नु परेन।

विदेशी खेलाडीको प्रभाव
सातादोबाटोसँग बराबरी खेलेपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानले रक्षापंक्तिको गल्तीका कारण जितबाट वञ्चित हुनु परेको प्रतिक्रिया दिए। गत सिजनको तुलनामा टिमको स्तर खस्किएको र त्यसको असर रक्षापंक्तिमा पनि परेको नवीनको स्वीकारोक्ति थियो।

‘गएको सिजन आर्मीसँग गोल्डन टिम थियो। त्यसबेलाका सुमन अर्याल र गौतम श्रेष्ठ छैनन्। विकास तामाङ पनि घाइते छन्। यसकारण नयाँ खेलाडीलाई मौका दिइरहेका छौँ,’ नवीनले भने, ‘नयाँ खेलाडीहरू टिमको स्पिडसँग अभ्यस्त त छन्। तर अनुभवको कमीका कारण प्राविधिक गल्ती पनि गरिरहेका छन्। आज त अनुभवी गोलरक्षक विकेशले नै गल्ती गरे।’

नवीनले लिगमा विदेशी खेलाडीको प्रभाव बलियो देखिएको पनि धारणा राखे। आर्मीमा भने विदेशी खेलाडी ल्याउने योजना नरहेको उनको भनाइ थियो। ‘लिगमा सबैजसो टिमको प्रदर्शनमा विदेशी खेलाडीको प्रभाव छ। अब त पुलिसले पनि विदेशी खेलाडी ल्याउँदैछ। आर्मीलाई पनि विदेशी खेलाडीको आवश्यकता त छ। तर त्यसका लगि योजना बनाएका छैनौँ,’ नवीनले भने।

आफ्नो टिमको स्तरमा ह्रास देखिनु र अन्य टिमले पहिलो एघारमै चार विदेशी खेलाडी खेलाउन पाउनुले उपाधि प्रतिस्पर्धा कठिन हुने दिशामा अघि बढेको नवीनले बताए। ‘त्यही पनि अहिलेसम्म त हामी उपाधि होडमै छौँ,’ नवीनले थपे।

गत सिजन लिग उपविजेता बनेको आर्मी यसपालि पहिलो खेलमा संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसपछि च्याम्पियन मछिन्द्रलाई हराएको आर्मीले तेस्रो खेलमा कमजोर एनआरटीसँग ३-३ को बराबरी खेल्यो। विभागीय डर्बीमा नेपाल एपीएफ क्लबसँग पराजय भोगेपछि अप्ठ्यारोमा परेको आर्मीले फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबलाई भने साँघुरो अन्तरमा हराउन सकेकाे थियाे।

उता सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उत्तराद्र्धमा गोल गरेर अंक खोस्न सफल भएकोमा सन्तुष्टि व्यक्त गरे। ‘आफ्नै गल्तीका कारण गोल खाइयो। गोलरक्षकले उच्च मनोबलका साथ खेल्न सकेनन्। त्यही पनि अन्तिममा एक अंक बटुल्न सकियो। यसमा सन्तुष्ट नै छु,’ सनोजले भने।

यही सिजन ए डिभिजन लिगमा डेब्यु गरेको सातदोबाटोले सन्तोषजनक प्रदर्शन गरिरहेको छ। एनआरटीलाई २-१ ले पन्छाएर लिगको सुरुवात गरेको सातदोबाटोले त्यसपछि लगातार दुई खेलमा जित हात परेको थियो। थ्रीस्टार र जावलाखेलसँग पराजय भोगेको सातदोबाटोले कुल चार खेलमा जित दर्ता गरेको छ।

प्रकाशित: २६ चैत २०७९ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =