तनहुँ-१ मा तीनै प्रतिस्पर्धीको रणनीति : जसरी हुन्छ जोशी समूहको मत तान्ने

विजय नेपाल २४ चैत २०७९ १३:०१
30
SHARES
तनहुँ-१ मा तीनै प्रतिस्पर्धीको रणनीति : जसरी हुन्छ जोशी समूहको मत तान्ने

पोखरा– चुनाव आउन दुई साता बाँकी रहँदा तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा रोचक छ। आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९ जनाको मनोनयन रहे पनि कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।

नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)का सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले जित आफ्नो पक्षमा पार्न चुनावी प्रचार तीव्र पार्दै लगेका छन्।

कांग्रेस उम्मेदवार भट्टराई पार्टीको विरासत जोगाउँदै आफ्नो जित निकाल्ने पक्षमा हुँदा एमालेका खनाल र रास्वपाका डा.वाग्ले कांग्रेसको विरासत भत्काउन चाहन्छन्।

गत ४ मंसिरको आमनिर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। कांग्रेस वरिष्ठ नेतासमेत रहेका उनी राष्ट्रपति निर्वाचित भएपछि यहाँ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

त्यसबेला पौडेलका निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत प्राप्त गर्दै उपविजेतामा सीमित भएका थिए। कांग्रेसविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र चौंथो स्थानमा रहेका रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ ल्याए। चुनावी प्रतिस्पर्धामा रहेका १५ उम्मेदवारमध्ये अन्यले साढे ३ सयभन्दा कम मत प्राप्त गरेका थिए।

समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत कांग्रेसले ल्याएको थियो। कांग्रेसले २० हजार १ सय ५८ मत ल्याउँदा एमालेले १६ हजार ६ सय ८३ र तेस्रो रास्वपाले १२ हजार ७ सय ७३ मत ल्याएको थियो।

कांग्रेसको विरासत रहेको क्षेत्र १ अहिले भने कांग्रेसको निम्ति गोविन्दराज जोशी र रास्वपा टाउको दुखाइ हुन्। जोशीले कांग्रेसको भोट कोट्ने सम्भावना रहेकोले कांग्रेसले आफ्नो भोट जोगाउन हरसम्भव प्रयास गर्नेछ। पार्टी महामन्त्री गगनकुमार थापाले असन्तुष्ट जोशीलाई फकाउन लागिपरेका छन्।

जोशीले गत वैशाखको स्थानीय तह निर्वाचनमा आफ्ना छोरा दीपकराज जोशीलाई व्यास नगरपालिकाको मेयर उम्मेदवार बनाएका थिए। अहिले मनोनयनको दिन तनहुँ आएका कांग्रेस महामन्त्री थापाले रास्वपाविरुद्ध कडा भाषण गर्दै कांग्रेसको भोट जोगाउनुपर्नेमा कांग्रेसलाई सचेत गराएका थिए। पार्टीले जोशीमाथिको कारबाही पनि फुकुवा गरिसकेको हुँदा भट्टराईले समर्थन पाउनेमा कांग्रेस आशावादी छ।

कांग्रेस छाडेर रास्वपा छिरेका डा. स्वर्णिमले कांग्रेसको मत काट्ने भएकोले ‍‍गत आमनिर्वाचनमा पाएको भोटमात्र जोगाउन सके जित सुनिश्चित भएको एमालेको दाबी छ। जोशीलाई कांग्रेससँग मिल्न नदिने रणनीतिमा रहेको एमाले आफ्ना उम्मेदवार पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) समेत रहेका खनाललाई जिताउन कुनै कसर बाँकी राख्ने छैन। उनी मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।

सामाजिक सञ्जालमा बढी देखिने रास्वपाका डा. वाग्ले मतदातासँग भेटमा मुलुकको अर्थतन्त्रमाथि उकास्न आफ्नो ज्ञानसिप खन्याउन पनि नीति निर्माण तहमा जानैपर्ने भएकोले जिताउन अपिल गरिरहेका छन्। त्यसो त उनलाई विवेकशील साझा पार्टीले समर्थन गरेको छ। आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा उनले हासिल गरेको विज्ञताको कदर गर्दै विवेकशीलले आफ्नो उम्मेदवार दर्ता नगरी उनलाई समर्थन गरेको पार्टीका तनहुँ संयोजक नगेन्द्र शर्मा ढुंगानाले बताए।

तनहुँ चुनावका लागि विभिन्न पार्टीले वडा, क्षेत्र र प्रदेशमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरी प्रचार तीव्र पारेका छन्। कांग्रेसका उम्मेदवार भट्टराईले चुनावका बेला रामचन्द्र पौडेलले गरेको प्रतिबद्धता आफूले पूरा गर्ने बताउँदै भोट माग्ने गरेका छन्।

बिहीबार मात्र व्यास १४ को चुनावी प्रचार कार्यालय उद्घाटन गर्दै उनले पञ्चायतकालमा आफू यही ठाउँमा लाठी खाएको भन्दै टुरिस्ट उम्मेदवार एकदुई दिन बसेर बाहिर जाने भएकोले सचेत हुन उम्मेदवारलाई आग्रह गरे। उनलाई पाँचदलीय गठबन्धनले सघाउने निर्णय पनि गरिसकेको छ। माओवादी केन्द्र, नेकपा एकीकृत, जसपा र लोसपासमेतले उनलाई विजयी बनाउन पार्टी पंक्ति परिचालन गरेका छन् । कांग्रेसका ध्रुव वाग्ले जित कांग्रेसको पक्षमा हुने दाबी गर्छन्।

कांग्रेस समर्थक करिब २५ प्रतिशत भोटर काठमाडौं भएकोले आफू शनिबार हुने भेलाको लागि काठमाडौंतिर लागेको वाग्लेले जनाए।

जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। २० चैतको मनोनयनमा दर्ता गरेका ९ उम्मेदवारमध्ये अन्यमा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार हुन्।

तनहुँ क्षेत्र १ अन्तर्गत भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका तथा व्यास नगरपालिकाको वडा १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन्।

यसैबीच, उपनिर्वाचनको लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । तनहुँ १ सहित चितवन क्षेत्र २ र बारा २ मा हुने उपनिार्वचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको हो।

प्रकाशित: २४ चैत २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =