महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस २२ चैत २०७९ १९:३०
4
SHARES
महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनमा सर्वसम्मत नेतृत्वका लागि पहल थालेका छन्।

बुधबार काठमाडौँमा वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वका लागि छलफल गरेका हुन्। ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरूको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने, ‘त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु।’

महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ। सबै प्रदेशमा अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। प्रदेशमा भएको सर्वसम्मत नेतृत्व चयनले महासंघमा राम्रो संस्कार विकास गरेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए। वरिष्ठ उपाध्यक्ष ढकाल आगामी ५७औं साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन्।

अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको भन्दै यस्तो अवस्थामा निजीक्षेत्रबीच एकता र सहमतिको ठूलो महत्व रहने ढकालको भनाइ छ। ‘हामी एक भयौ भने मात्र निजीक्षेत्र बलियो हुन्छ,’ उनले भने, ‘हाम्रा माग सम्बोधन गराउन अहिलेको अवस्थामा हामी एक हुनुको विकल्प छैन।’ ‘निजीक्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔँ,’ उनले भने, ‘एकता र सहकार्यबाट समाधान खोजौँ।’

अहिलेको महासंघको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीलाई मिलाउन सकिने उनले बताए।

प्रकाशित: २२ चैत २०७९ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =