तानातानमा मधेश, कस्तो बन्ला नयाँ समीकरण?

किरण पौडेल २ जेठ २०८१ ९:५३
302
SHARES
तानातानमा मधेश, कस्तो बन्ला नयाँ समीकरण? नयाँ सरकार गठनका लागि सहकार्य गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीचको छलफलको तस्बिर।

काठमाडौँ- संघीय सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपालको बहिर्गमनपछि मधेश प्रदेशको सत्ता संकटमा देखापरेको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएर संघीय सरकारबाट हटेपछिको मुख्य असर मधेशमा देखिएको हो। मधेशमा जसपा नेपालका सरोज यादव मुख्यमन्त्री छन्।

नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। त्यसैले यादवको सरकार अल्पमतमा परेको छ। यादवले सरकार टिकाउन अन्य दलसँग छलफल जारी राखेका छन्।

यादवले तत्काल सरकार नढल्ने दाबी गर्दै आएका छन्। उनी यसअघि पनि सत्ता संकट टारेको भन्दै अब पनि समस्या समाधान गरेर जाने बताउँदै आएका छन्।

एमाले–माओवादीका नेता भने यादव सरकार ढल्ने दाबी गर्छन्। वैकल्पिक सरकार गठनमा जाने निश्चित भएको उनीहरूको दाबी छ।
‘जसपाको सरकार रहने सम्भावना छैन,’ एमालेका केन्द्रीय कमिटी सदस्य राजकुमार लेखी थारू भन्छन्, ‘अब नयाँ सरकार बन्ने बाटोमा समीकरण गइसक्यो।’

यादवको सरकार अझै एक महिना टिक्छ। अल्पमतमा परेन पनि उनले प्रदेशसभाबाट विश्वासको मत लिुनपर्ने हुन्छ। यो समयभित्र अन्य दलसँग समन्वय गर्न सके सरकार टिक्न पनि सक्छ। सरकार रहने-नरहने काठमाडौँको नेतृत्वमा भर पर्छ। प्रधानमन्त्री र सत्ता साझेदार दलले केन्द्रीय सरकारमा दिने हिस्सासँगै मधेशको गठबन्धनको प्रारूप लिने नेताहरू बताउँछन्।

एमाले-माओवादी सरकारबाट बाहिरिएपछि अर्को समीकरण बन्ने चर्चा थियो। नेकपा एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीबीच नयाँ सरकार गर्ने विषयमा सहमति भएको नेताहरुले बताएका थिए।

मुख्यमन्त्री लिने विषयमा सहमति नहुँदा सहमति अठ्यारोमा परेको छ। ‘त्यो सहमति होइन। हामी (लोसपा) प्रतिपक्षमा थियौँ। अरू पनि प्रतिपक्षमा आएकाले खुसीयाली मनाएका हौँ,’ लोसपाका महासचिव मनीष मिश्र भन्छन्।

कस्तो बन्ला मधेशमा सरकार?

मधेशमा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य शक्ति हुन्। एमाले २५ सिट (सभामुख) सहित पहिलो र कांग्रेस २२ सिटसहित दोस्रो शक्ति हो। जसपा नेपाल १९ सिटसहित तेस्रो शक्तिमा छ।

कांग्रेससहितका अन्य साना दलको एउटा गठबन्धन र एमालेसहितका साना दलको अर्को गठबन्धन बन्ने सम्भावना छ। जसपा नेपालको सरकार टिकाउन कांग्रेस मात्रै भएर पुग्दैन। साना दलको समेत सहयोग चाहिन्छ। जसपा नेपाल एक नहुने सम्भावना पनि छ।

१९ सिटमध्ये नयाँ बनेको अशोक राई नेतृत्वको जसपामा पनि केही सांसद गएको पार्टी स्रोत बनाउँछ। केन्द्र सत्ता समीकरणअनुसार भने एमाले, माओवादी र एकीकृत समाजवादी एकातिर रहने सम्भावना छ।

यहाँ संघमा प्रधानमन्त्रीले महत्त्वपूर्ण स्थान दिए लोसपा पनि गठबन्धनमा जाने सम्भावना छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहिरिएपछि जनमत पार्टी एमालेतिरै मिल्ने सम्भावना छ।

यसो हुँदा नयाँ मुख्यमन्त्रीलाई बहुमत पनि पुग्छ। किनकि मधेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५४ सांसदको समर्थन चाहिन्छ।

कांग्रेस नेतृत्वको गठबन्धन बन्दा उपेन्द्र नेतृत्वको समर्थन चाहिन्छ। यतिले पनि बहुमत भने पुग्दैन। लोसपा र एकीकृत समाजवादीसहितका सांसदको पनि साथ चाहिन्छ। मधेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को दुई, नेपाल संघीय समाजवादी पार्टी (नेससपा) को एक सिट छ।

जता मुख्यमन्त्री, त्यतै गठबन्धन

अहिले मधेशमा साना दल निर्णायक बनेका छन्। ठूला दुई (कांग्रेस–एमाले) एक नहुने भए पनि बहुमत पुग्न साना दलको सहयोग चाहिन्छ। त्यसैले साना दलले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।

मधेशमा सत्ता टिकाउनकै लागि उपेन्द्र पार्टी फुट्दासमेत संघीय सरकारमा रहन चाहन्थे। माओवादी–एमाले असन्तुष्ट भएपछि उनले राजीनामा दिए। यसअघिको एक कार्यकाल उपेन्द्र निकटकै लालबाबु राउतले मधेशको सत्ता चलाएका थिए।

यो प्रदेशसभाको कार्यकालमा समेत अन्य प्रदेशमा मुख्यमन्त्री फेरिरहँदा मधेशमा सरोज यादव मुख्यमन्त्रीमा टिकिरहेका छन्। अब भने उनको कार्यकाल लामो जाने सम्भावना छैन। मधेशका अन्य शक्ति जनमत र लोसपाले पनि मुख्यमन्त्रीको दाबी गरेका छन्।

‘हाम्रो नेतृत्व जसले स्वीकार गर्छ त्यो दलहरुलाई हामी साथमा लग्न तयार हुन्छौँ’, जनमतका प्रवक्ता शरदसिंह यादव भन्छन्, ‘हामीलाई मुख्यमन्त्री जसले दिन्छ। हामी त्यही गठबन्धनलाई सहयोग गर्छौँ।’ यादव कांग्रेस–एमाले जुनै गठबन्धनलाई पनि समर्थन दिन सक्ने दाबी गर्छन्।
लोसपाका महासचिव मनीष मिश्र पनि आफूहरू मुख्यमन्त्री लिने गरी छलफलमा जुटेको बताउँछन्। ‘हामी मुख्यमन्त्री लिएर अघि बढ्ने तयारीमा छौँ,’ उनी भन्छन्, ‘नेतृत्वका विषयमा छलफल भइरहेको छ।’

यसबारे लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पनि छलफल भएको थियो। मन्त्री पदबाट राजीनामा नदिई उपेन्द्र यादवले महन्थलाई भेटेका थिए। महन्थले यसबारे आगामी राजनीतिक समीकरणअनुसार मात्र भन्न सकिने बताएका थिए। उपेन्द्र भने लोसपासँग सहकार्य हुनेमा विश्वस्त छैनन्।

एकै पार्टी रहेको समयमा उपेन्द्रले अन्य नेतालाई पेलेर अघि बढेको गुनासो अन्य नेताहरू गर्दछन्। यही कारण महन्थ ठाकुरलगायतका नेताहरू नयाँ पार्टी गठन गरेर बाहिरिए।

संघीय समीकरण मिले मात्र मधेशको नेतृत्व सुनिश्चित

संघीय सरकारमा कुनकुन दल सामेल हुन्छन् भन्ने विषय मधेशको सत्ताका लागि मुख्य विषय हो। केही दिनअघिसम्म प्रधानमन्त्रीसँग सुमधुर सम्बन्ध रहेका उपेन्द्र अहिले सत्ताबाहिर पुगिसके। अब अन्य दललाई पनि सरकारमा सामेल हुने अवसर छ।

माओवादी निकट स्रोतका अनुसार प्रचण्ड नाउपा, लोसपा र जनमतलाई संघीय सरकारमा भित्र्याउने प्रयत्नमा छन्। यही कारण उनले उपेन्द्रलाई सत्ताबाट हटाए। अहिले अशोक राई नेतृत्वको जसपा पनि संघीय सरकारमा सामेल छ।

संघीय सरकारमा यी शक्ति सामेल भए एमाले–माओवादी नेतृत्वको गठबन्धनकै सरकार मधेशमा बन्ने सुनिश्चित छ। त्यसो नभएमा साना दलले कांग्रेसलाई सहयोग गरेमा कांग्रेस–जसपासहितका दलको सरकार पनि बन्न सक्नेछ।

‘अहिले सरकारमा कसलाई लाने भन्न सकिने अवस्था छैन,’ माओवादी केन्द्रका सचिव गणेश साह भन्छन्, ‘केही दिनमा मात्र भन्न सकिन्छ।’ साह मधेशमा पनि एमाले–माओवादी गठबन्धनकै सरकार बन्नेमा ढुक्क छन्।

संघीय सरकारमा रहेको एकीकृत समाजवादी पनि अन्योलमा देखिन्छ। सरकारमा रहने वा नरहने विषयमा पार्टीभित्र दुईधार छ। सरकार छाडेर बाहिरिनुपरेमा मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने समाजवादीको सम्भावना छ।

‘समाजवादीका बारेमा भन्न सकिने अवस्था छैन,’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘उहाँहरू नहुँदा पनि हाम्रो सरकार ढल्दैन।’ केही दिनअघि मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष यादवसहितका नेताहरू कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन लागेको चर्चा चलेको थियो।

यही कारण जसपा विभाजित भयो। जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र कांग्रेससँग मिल्न लागेको भन्दै पार्टी फुटाएको बताएका थिए। यही कारण प्रचण्ड–उपेन्द्र खटपट बढ्यो र जसपा सरकारबाट बाहिरियो।

वैकल्पिक गठबन्धन बनाउन लागेका माधव नेपाल पनि गठबन्धनमा रहने सम्भावना कम छ। विशेषतः एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सत्ता साझेदार बन्न दिन तयार छैनन्। समाजवादी संघीय सरकारबाट बाहिरिएमा मधेशमा कांग्रेस–जसपा–एकीकृत समाजवादीसहितका दलको गठबन्धन बन्ने सम्भावना छ।

यस्तो बन्‍न सक्छ समीकरण

मधेशमा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य शक्ति हुन्। एमाले २५ सिट (सभामुख) सहित पहिलो र कांग्रेस २२ सिटसहित दोस्रो शक्ति हो। जसपा १९ सिटसहित तेस्रो शक्तिमा छ।

कांग्रेससहितका अन्य साना दलको एउटा गठबन्धन र एमालेसहितका साना दलको अर्को गठबन्धन बन्ने सम्भावना छ। जसपाको सरकार टिकाउन कांग्रेस मात्रै भएर पुग्दैन। साना दलको समेत सहयोग चाहिन्छ। जसपा नेपाल एक नहुने सम्भावना पनि छ।

१९ सिटमध्ये नयाँ बनेको अशोक राई नेतृत्वको जसपामा पनि केही सांसद गएको पार्टी स्रोत बनाउँछ। केन्द्र सत्ता समीकरणअनुसार भने एमाले, माओवादी र एकीकृत समाजवादी एकातिर रहने सम्भावना छ।

यहाँ संघमा प्रधानमन्त्रीले महत्त्वपूर्ण स्थान दिए लोसपा पनि गठबन्धनमा जाने सम्भावना छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहिरिएपछि जनमत पार्टी एमालेतिरै मिल्ने सम्भावना छ।

यसो हुँदा नयाँ मुख्यमन्त्रीलाई बहुमत पनि पुग्छ। किनकि मधेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५४ सांसदको समर्थन चाहिन्छ।

कांग्रेस नेतृत्वको गठबन्धन बन्दा उपेन्द्र नेतृत्व जसपा नेपालको समर्थन चाहिन्छ। यतिले बहुमत भने पुग्दैन। लोसपा र एकीकृत समाजवादीसहितका सांसदको पनि साथ चाहिन्छ। मधेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को दुई, नेपाल संघीय समाजवादी पार्टी (नेससपा) को एक सिट छ।

मधेशमा एकातिर एमाले, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीकै समीकरण बन्ने सम्भावना छ। यो समीकरण संघीय सरकारअनुसारकै हो। यहाँ एमाले २५ (सभामुखसहित), जनमत १३ (उपसभामुखसहित), माओवादी ९, लोसपा ८, नाउपा १, नेससफो १ सहित ५६ सांसद एकातिर हुन्छ।

यहाँ बहुमत पुग्न ५४ सांसद चाहिन्छ। नभएमा दोस्रो समीकरण कांग्रेस २२, जसपा १९ (फुटेको सहित), एकीकृत समाजवादी ७, लोसपा ८, नाउपा १, नेससपा १, राप्रपा १ सहितको समीकरण बन्न सक्छ। यहाँ ५९ सांसद एकातिर रहने सम्भावना छ। जसपा नेपाल विभाजित भएकाले कति सांसद जान्छन् भन्ने टुंगो छैन।

प्रकाशित: २ जेठ २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =