सप्तरीमा जसपाका अध्यक्ष यादव इन्सपेक्टरद्वारा किन कुटिए?

हिमाल प्रेस २१ चैत २०७९ १७:५३
476
SHARES
सप्तरीमा जसपाका अध्यक्ष यादव इन्सपेक्टरद्वारा किन कुटिए?

काठमाडौँ– टिकटक भिडियोको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी र स्थानीय राजनीतिक दलका नेताबीच हात हालाहाल भएको छ। जसपाका जिल्ला अध्यक्ष केदार यादवका नजिकका एक व्यक्तिले टिकटकमा अश्लिल भिडियो राखेको विषयमा विवाद बढेपछि प्रहरीले छलफल राखेको थियो। उक्त विषयमा छलफल हुँदा हुँदै प्रहरी र अध्यक्ष यादवबीच हात हालाहाल भएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुरुमा अध्यक्ष यादवले इन्पेक्टर नविन थापा मगरलाई घचेटेका थिए। त्यसपछि इन्पेक्टर मगरले पनि यादवलाई जिप्रकाको मुद्दा फाँटकक्षबाट बाहिर जान अनुरोध गर्दै घचेटेका थिए।

‘जसपाका एक नेताको छोराले आफ्ना छिमेकीको छोरीको अश्लिल भिडियो बनाउने टिकटकमा राख्ने गरेको रहेछ,’ इन्स्पेक्टर मगरले हिमालप्रेससँग भने, ‘छिमेकी युवतीको वाथरुममा नुहाएको समयको भिडियोहरू उसले टिकटकमा हालेको थाहा पाएपछि युवतीका बाबुले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। हामीले त्यही आधारमा अनुसन्धान गरिरहेका थियौँ। युवकलाई हिजो(सोमबार)नियन्त्रणमा लिएका थियौँ।’

उनले ती युवकले युवतीको तस्बिर, भिडियोहरू विभिन्न टिकटक एकाउन्ट खोलेर हालेको पाइएको पनि जानकारी दिए। थापाका अनुसार आज (मंगलबार) ती युवकलाई म्याद थप गरी साइबर क्राइमअन्तर्गतको थप अनुसन्धान गर्ने तयारी थियो।

प्रहरीले अनुसन्धान गरिरहेको विषयमा जसपाका जिल्ला अध्यक्ष आएर आरोपित युवकलाई छोड्न दबाब दिएपछि विवाद चर्केको हो।

‘उहाँ (केदार यादव) जसपाको अध्यक्ष हुनुहुँदो रहेछ मलाई थाहा पनि थिएन। उहाँ त यो मुद्दा चलाउनुपर्ने विषय नै होइन। के आधारमा पक्राउ गरेर मुद्दा चलाउन लागेको भन्दै मैमाथि जाइलाग्नु भयो,’ मगरले भने, ‘अश्लिल शब्दहरूमा मलाई, प्रहरीलाई गाली गर्न थाल्नु भयो। मैले तपाईं बाहिर जानुस् भनेर अनुरोध गर्दा पनि मान्नु भएन मलाई नै धकेल्दै आउनु भयो। मैले पनि उहाँलाई धकेलेँ। त्यही बेलामा उहाँको निधारमा ठोक्किएछ।’

थापाले केहीबेरअघि जसपाका केही कार्यकर्ताले टायर बालेर प्रदर्शन गरे पनि अहिले अवस्था सामान्य रहेको पनि जानकारी दिए।

प्रकाशित: २१ चैत २०७९ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =