बैंक : सुरक्षाको सारथि

प्रसाईंको गलत अभियान : बैंक होइन साना ऋणी मारमा

विवेक विवश रेग्मी १९ चैत २०७९ ९:३६
290
SHARES
प्रसाईंको गलत अभियान : बैंक होइन साना ऋणी मारमा

इटहरी- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा हुनुपर्ने माग राख्दै अभियान चलाइरहेका छन्। अघिल्लो शनिबार धरानस्थित भानुचोकमा गरिएको कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाको ताकेताका कारण घरमा कलह बढेको बताउँदै ऋण मिनाहा गर्न माग गरे।

उनको यस्तो उक्साहटमा ऋणी पनि लागेका छन्। प्रसाईं आफैँले कोशी प्रदेशका विभिन्न सहरमा स्थानीय ऋणीहरूको पहिचान गरेर भेला पार्दै ऋण नतिर्न र आन्दोलनमा होमिन आग्रह गर्दै आएका छन्।

बै‌ंकिङ क्षेत्रले पनि उनको यस्तो उक्साहटले समाजमा नकारात्मक असर पर्ने भन्दै चिन्ता  जनाएको छ। धरानस्थित एक बैंकका शाखा प्रबन्धक भन्छन्, ‘समाजमा यसको असर नकारात्मक पर्छ।’ आममानिस  एक व्यक्तिको उक्साहटमा लाग्न नहुने उनको सुझाव छ। दुर्गा प्रसाईँको अभियानले साना ऋणीलाई समस्यामा पार्ने उनले बताए।

साना ऋणीले भविष्यमा बैंकको ऋण तिर्नुपर्दैन भन्ने मानसिकता बोक्न सक्ने आशंका उनको छ। ‘सबै ठाउँमा समस्या छ यो कुरा आमसर्वसाधारणले बुझ्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर प्रसाईंको अभियान आफू ‘हाइलाइट’मा मात्रै आउने काम पनि हुन सक्छ।’

उनले बैंकले बजारअनुसार ब्याज लिँदै आएको र पछिल्लो समय जग्गा कारोबार नहुँदा पनि लगानी गर्न समस्या भएको बताए। ‘जग्गाको कित्ताकाट नखुल्दा यसको कारोबार छैन, जग्गा कारोबार नभएपछि लगानी गर्न समस्या छ,’ उनले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाले जग्गामा लगानी गर्न छाडेका छन्।’

इटहरीस्थित सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष प्रदीप अधिकारी आर्थिक मन्दीका बेला समस्या भइरहेका बेला प्रसाईंको अभियानले वित्तीय क्षेत्रमा झन् असर परेको बताउँछन्।  ‘प्रसाईंको अभियानका कारण वित्तीय संस्थामा केही असर परे पनि ठूलो असरको कारण भने आर्थिक मन्दी नै हो,’ उनी भन्छन्।

उद्योग, कलकारखाना, व्यवसायमा समस्या हुनु र आममानिसमा पैसा अभावसँगै बजारमा महँगी हुनुले आर्थिक मन्दी देखिएको उनको बुझाइ छ। ‘ठूला बैंकले नै लगानी गर्न नसक्नु एक ठाउँमा समस्या छ,’ उनले भने, ‘त्यससँगै बजारमा कुनै सामान खरिद, बिक्री नभएका कारण लगानी गर्न सक्ने आधार छैनन्।’

उनले बढ्दो बेरोजगारी र उत्पादनमूलक क्षेत्रमा राज्यले लगानी गर्न नसकेकाले आर्थिक मन्दी भएको बताए।

‘लघुवित्तमा तिर्ने पैसा हातको पैसा हो, सानासाना किस्ता तिर्न मानिसले रोजगार गर्नुपर्छ,’ अधिकारीले भने, ‘उदाहरणका लागि एउटा क्रसर उद्योगमा काम गर्ने मजदुरले अहिले क्रसर बन्द भएका कारण काम पाइरहेको छैन, त्यो मानिसले अब कहाँबाट पैसा ल्याएर किस्ता तिर्छ?’

तत्काल आर्थिक अवस्था सुधारका निम्ति सरकारले व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने उनी बताउँछन्। दीर्घकालीन सुधारका निम्ति भन्दा पनि तत्कालका लागि रुग्ण उद्योग, व्यवसाय सञ्चालनमा आउनुपर्ने उनको तर्क छ।

‘वर्तमान समस्या न्यूनीकरण गरी सरकारले उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘अल्पकालीन कार्यक्रम योजना ल्याएर तत्काल कमाउने भन्दा पनि चलायमान र गतिशील बनाउन आवश्यक छ।’

वेस्ट फाइनान्स कम्पनीका शाखा प्रबन्धक मोहन ढुंगेलले बैंकले लगानी गर्न स्वाभाविक हिसाबमा डर हुने बताए।

‘बैंकले पछिल्लो समय धेरै पैसा फिल्टर गरेको छ, निकै छलफल गरेर मात्रै ऋण दिने गरिएको छ,’ ढुंगेल भन्छन्, ‘डर त स्वाभाविक रूपमा भइरहेको छ, लगानी गर्ने बेलामा १० पटक सोचेर लगानी गर्नुपर्ने अवस्था छ।’

अहिले बैंकमा ऋणका लागि आउनेहरूले मेडिकल व्यावसायी दुर्गा प्रसाईंको छत्रछाया पाएको अवस्थामा देवत्करण गर्न सक्ने उनी बताउँछन्। ‘बैंकले लगानी गर्दा धेरैपटक हेरेर, छानेर मात्रै लगानी गर्नुपर्छ भन्ने भइसकेको छ, केही हदसम्म त्रास फैलिएको छ,’ उनले भने, ‘सुनसरीमा लगानी उठाउन समस्या छैन, तर पूर्वी झापामा समस्या छ भन्ने कुराहरू पनि आइरहेका छन्।’

पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाविरुद्ध अभियान चलाइरहँदा कतिपयले भने उनलाई साथ दिइरहेका छन्। तर उनले आफ्नै कुनै स्वार्थका कारण अभियान चलाएको कतिपयको आशंका पनि छ।

‘अहिले अभियान चलाएर पछि राजनीतिक दल खोल्ने वा आफूले धेरै ऋण लिएको कारण केही हदसम्म मिनाहा हुन्छ भन्ने निहीत स्वार्थ पनि हुन सक्छ,’ एक बैंकर भन्छन्, ‘त्यो बाहेक उनले राष्ट्र र राष्ट्रियताको कुरा भनेर अभियान चलाइरहँदा अन्य कतैबाट सञ्चालित छन् कि भन्ने पनि शंकाको विषय हो।’

बलिया बैंक

प्रकाशित: १९ चैत २०७९ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =