एसिया ट्राइयाथलन कप प्रतियोगितामा बव हलर र मार्गरेटा विकानोभा विजयी

हिमाल प्रेस १८ चैत २०७९ १६:३४
8
SHARES
एसिया ट्राइयाथलन कप प्रतियोगितामा बव हलर र मार्गरेटा विकानोभा विजयी

पोखरा– एसिया ट्राइयाथलन कप प्रतियोगितामा पुरुषतर्फ लक्जेम्वर्गका बव हलर र महिलातर्फ स्लोभाकियाकी मार्गरेटा विकानोभाले जितेका छन्।

पोखरास्थित लेकसाइडमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ हलरले समग्रमा ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै उपाधि तिजेका छन्। उनले ७.५ किमी पौडी ९ मिनेट ६ सेकेन्ड, २० किमी साइक्लिङ २८ मिनेट १६ सेकेन्ड र ५ किमी दौड १७ मिनेट १३ सेकेन्डमा पूरा गरेका हुन्।

उज्वेकिस्तानका एलेक्सान्ड कुरिसोभ हलरभन्दा २ सेकेन्ड मात्रले पछि पर्दा दोस्रोमा सीमित भए। उनले पौडी ८ मिनेट ५८ सेकेन्ड, साइक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै समग्रमा ५५ मिनेट ५७ सेकेन्ड लगाए।

लक्जेम्वर्गका स्टेफन जाचाउस तेस्रो (५६ मिनेट १ सेकेन्ड) तेस्रो र जापानका क्योटारो योसिकावा (५६ मिनेट ९ सेकेन्ड) चौथो भए।

महिलातर्फ उपाधि विजेता स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ४ मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन्। जापानकी मिनोरी इकेनोले १ घन्टा ५ मिनेट १८ सेकेन्ड दोस्रो र जापानकै चिस्टो नाकाजिमा १ घन्टा ५ मिनेट ३० सेकेन्ड लगाउँदै तेस्रो भइन्।

साउथ एसियन कपतर्फ इलाइट पुरुषतर्फ भारतका आदर्श मुरालीधरन नेर सिनिमोल पहिलो भए। उनले पौडी ११ मिनेट १ सेकेन्ड, साइक्लिङ ३२ मिनेट ५८ सेकेन्ड र दौड १८ मिनेट ४८ सेकेन्ड गरी कुल १ घण्टा ४ मिनेट १६ सेकेन्ड लगाए।

भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका वसन्त थारू तेस्रो भए। विश्वनाथले समग्रमा १ घण्टा ६ मिनेट २५ सेकेन्ड र वसन्तले समग्रमा १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका हुन्।

सोही इभेन्टको महिलातर्फ प्रज्ञा मोहन प्रथम, भारतकी मान्सी मोहित दोस्रो र नेपालकी श्रेवी महर्जन तेस्रो भए। राष्ट्रिय ट्राइयाथलन इलाइट पुरुषमा वसन्त थारू प्रथम भए।

उनले समग्रमा १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरी पूरा गरेका हुन्। दिपेश चौधरी दोस्रो र मौलिक महर्जन तेस्रो भए। दिपेशले समग्रमा १ घण्टा ९ मिनेट १७ सेकेन्ड र मौलिकले १ घण्टा ११ मिनेट ३ सेकेन्डमा दुरी पार गरे। सुसिम चित्रकार १ घण्टा १५ मिनेट ८ सेकेन्ड लगाउँदै सान्त्वना स्थानमा परे।

सोही इभेन्टको महिलातर्फ श्रेवी महर्जन प्रथम (१ घण्टा १८ मिनेट), केशरी थापामगर दोस्रो (१ घण्टा ३२ मिनेट ३१ सेकेन्ड) भए।

साउथ एसियन पुरुष जुनियरतर्फ भारतको वर्चश्व रह्यो। भारतका खुन्द्रापाम नाम्वा पहिलो, पर्थ मिराज दोस्रो र श्रीदाथ सुधीर तेस्रो भए। नेपालका यदु महर्जन चौथो भए। जुनियर महिलातर्फ भारतकी सन्जना सुनिल जोशी पहिलो, नेपालकी श्रेवी महर्जन दोस्रो र भारतकी देविका शर्मा तेस्रो भए।

प्रतियोगितामा १९ राष्ट्रका खेलाडीले भाग लिएका थिए। तीमध्ये ४७ पुरुष र १९ महिला थिए। पुरुषतर्फ नेपालसहित लक्जेम्वर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्यान्ड र भारतका खेलाडी थिए भने महिलातर्फ नेपालसहित जापान, रोमानिया, स्लोभाकिया, उज्वेकिस्तान, मरिसस, अलजेरिया, भारतका खेलाडीले भाग लिएको आयोजक नेपाल ट्राइयाथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका लागि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबार बिहानभर यातायात आवात जावतमा रोक लगाइएको थियो। ट्राइयाथलनअन्तर्गत दुई विधा ७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौडको ट्राइयाथलन र ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौडको दुवाथलन हो। दुवाथलन आइतबार हुनेछ।

४२ सय डलर कुल पुरस्कार राशि रहेको ट्राइयाथलनमा महिला र पुरुष दुवैतर्फ विजेताले मेडल, प्रमाण पत्रका साथ ६ सय ३० डलर प्राप्त गर्ने छन्। दोस्रोले ५ सय २५ डलर, तेस्रोले ४ सय २० डलर, सान्त्वनाले ३ सय १५ डलर र पाँचौंले २ सय १० डलर साथ मेडल र प्रमाण पत्र प्राप्त गर्ने संघका कास्की अध्यक्ष सुमन देवकोटाले बताए।

सन् २०१९ मा तत्कालीन अन्तर्राष्ट्रिय ट्राइयाथलन महासंघ (आइटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरेपछि नेपालमा ट्राइयाथलनको खेलले निरन्तरता पाएको हो।

सन् २०१९ मा सुरु भएको एसिया कप कोरोनाका कारण २ वर्ष हुन सकेन। गत वर्ष पनि यो प्रतियोगिता पोखरामै भएको थियो। त्यसो त सन् २०१३ मा वेगनास तालमा पहिलो पल्ट दक्षिण एशियन च्याम्पियनसिप भए पनि त्यहाँ सडक पूर्वाधार कमजोर भएकोले फेवाताल किनारमा हुन थालेको हो।

नेपालमा असीको दशकमा अन्नपूर्ण ट्राइयाथलन नाममा अन्तर्राष्ट्रिय ट्राइयाथलन भएको थियो। तर लामो समय सुस्ताएको प्रतियोगिता सन् २०१२ मा संघको विधिवत् दर्तासँगै गति लिन थालेको संघ अध्यक्ष श्रेष्ठ बताउँछन्।

प्रकाशित: १८ चैत २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =