एमालेमा भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव, विष्णु पौडेलले गरे सुरुवात

हिमाल प्रेस १४ चैत २०७९ १०:२३
28
SHARES
एमालेमा भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव, विष्णु पौडेलले गरे सुरुवात भीम रावल र एमाले वार्ता समिति सदस्य विष्णु पौडेल।

काठमाडौँ- नेकपा एमालेमा पूर्वउपाध्यक्ष भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव सुरु भएको छ। पार्टीको आन्तरिक कार्यक्रममा संस्थापन पक्षका नेताहरूले रावलविरुद्ध र रावलले पार्टीविरुद्ध नबोल्ने शीर्ष तहमा सहमति भए पनि दुई पक्षबीच फेरि टकराव देखिएको हो।

टकरावको सुरुवात एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार अछाम पुगेर गरे। एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित कार्यक्रममा उनले रावलविरुद्ध बोलेका थिए।

‘भीम रावलजीले पार्टीको निर्णयविरुद्ध बोल्नुभयो, धेरै पार्टी हितविपरीत बोल्नुभयो,’ उनले भनेका थिए, ‘पार्टीविरुद्ध बोल्नु भनेको पार्टी हितविपरीत हो।’

यस्तै नेता पदमराज जोशीले पनि मन्तव्यका क्रममा रावलको विरोध गरेपछि रावल पक्षधर कार्यकर्ताहरूले नाराबाजी गर्दै मञ्चमा कुर्सीसमेत प्रहार गरेका थिए। त्यसपछि कार्यक्रम बिथोलियो। पछि जोशीले आफूले बोलेका शब्द फिर्ता लिएपछि कार्यक्रम सुचारु भएको थियो।

सो कार्यक्रममा उपाध्यक्ष पौडेलसहित प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत नेताहरू उपस्थित थिए।

यसअघि पनि अछाममा मिसन ग्रासरुट कार्यक्रम एकै जिल्लामा दुईतिर सञ्चालन भएको थियो। अध्यक्ष केपी शर्मा ओलीपक्ष र रावलपक्षले छुट्टाछुट्टै कार्यक्रम राखेका थिए।

एक साताअघि रावल आफैं कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका थिए। उनले एकीकृत समाजवादीका नेता/कार्यकर्ता समेत सहभागी गराएर कार्यक्रम चलाएपछि संस्थापनपक्ष रुष्ट देखिएको छ।

विगतबाटै विवाद

अछामको साँफेबगरमा ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रासरुट कार्यक्रम गरेको थियो। छुट्टाछुट्टै कार्यक्रम गरिएपछि उनीहरूले एकअर्काप्रति आरोपप्रत्यारोपसमेत लगाएका थिए।

एक पक्षले आयोजना गरेको ग्रासरुट कार्यक्रममा सहभागी एमाले नेता भीम रावलले आफू हिजोको जनप्रतिनिधि भएकोले नगर कमिटीले बोलाएर आएको दाबी गरेका थिए।त्यस्तै अर्को पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले आफूलाई पार्टीले अभियानका लागि खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक रहेको दाबी गरेकी थिइन्।

केन्द्रले साँफेबगर नगरपालिकामा अभियान सञ्चालनका लागि पोलिटब्युरो सदस्य गौरी ओलीलाई पठाएकोमा रावल पक्षले मन पराएको थिएन। सो पक्षले रावललाई प्रमुख अतिथि बनाएर छुट्टै कार्यक्रम गरेको थियो।

दुई पक्षले साँफेबगरमै छुट्टाछुट्टै कार्यक्रम गर्दा केही समय तनावसमेत भयो। पछि सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई सामान्य पारिएको थियो।

एमाले अछाम अध्यक्ष चन्द्र बोहराले पार्टीको ब्यानरमा छुट्टै कार्यक्रम गर्ने कार्यविधि विधानविपरीत भएको बताए।

यसैबीच नेता भीम रावलले उपाध्यक्ष पौडेलले आफूमाथि गलत आरोप लगाएको भन्दै आपत्ति जनाएका छन्। उनले यसबारे आज (मंगलबार) धनगढीमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

प्रकाशित: १४ चैत २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =