इजरायललाई इन्डोनेसियामा खेल्न नदिने भनिएपछि अन्डर-२० विश्वकपको ड्र स्थगित

हिमाल प्रेस १३ चैत २०७९ २१:३५
8
SHARES
इजरायललाई इन्डोनेसियामा खेल्न नदिने भनिएपछि अन्डर-२० विश्वकपको ड्र स्थगित इन्डोनेसियामा हुने अन्डर–२० विश्वकपमा इजरायललाई सहभागी गराउन नहुने मागसहित जकार्तामा प्रदर्शन गरिँदै।

काठमाडौँ- अन्डर-२० फिफा विश्वकपको शुक्रबार हुने भनिएको ‘ड्र’ तत्कालका लागि स्थगित भएको छ। आयोजक इन्डिोनेसियाको बाली प्रान्तका गर्भनरले इजरायललाई युवा विश्वकप खेल्न दिन नहुने अभिव्यक्ति दिएपछि फिफाले ‘ड्र’ स्थगित गरेको हो। आउँदो मे र जुनमा ६ इन्डोनेसियाली सहरमा २० वर्षमुनिको विश्वकप आयोजना हुँदैछ।

इन्डोनेसिया फुटबल संघ (पीएसएसआई) का अनुसार फिफाले बालीमा ‘ड्र’ आयोजना गर्ने तालिका सार्वजनिक गरेको थियो। तर गत साता बालीका गर्भनर वायान कोस्टरले इजरायलबारे अभिव्यक्ति दिएपछि ‘ड्र’ आयोजना नहुने सम्भावना बढेको थियो। अन्ततः आइतबार फिफाले पीएसएसआईलाई ‘ड्र’ नहुने सूचना दिएको थियो। यसको कारण भने फिफाले खुलाएको छैन। न त पीएसएसआईलाई नयाँ मितिबारे केही भनेको छ।

‘ड्र स्थगित भएको छ। यसको औपचारिक कारण हामीलाई बताईको छैन। तर बालीका गर्भनरको अव्यिक्तिका कारण स्थगित गरिएको हुनसक्ने हाम्रो अनुमान छ। इजरायल यो विश्वकपमा भाग लिने टिम हो। सबै टिमको सहभागिताबिना ड्र हुन सक्दैन,’ पीएसएसआईको कार्यसमितिका सदस्य आर्या सिनुलिंगाले आइतबार जकर्तामा आयोजित पत्रकार सम्मेलनमा भने।

इन्डोनेसिया र इजरायलबीच कूटनीतिक सम्बन्ध छैन। प्यालेस्टाइनसँगको द्वन्द्वका कारण इजरायलको छवि इन्डोनेसियामा राम्रो छैन। विश्वमै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको इन्डिोनेसियामा इजरायलको विश्वकप सहभागितालाई लिएर विरोध हुँदै आएको थियो।

इजरायल पहिलो पटक अन्डर-२० विश्वकपमा छानिएको हो। अन्डर-१९ युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेपछि इजरायल अन्डर-२० विश्वकपमा स्वतः छानिएको थियो। इजरायलको यात्रा त्यतिमै रोकिएन, सेमिफाइनलमा फ्रान्सलाई २-१ ले स्तब्ध बनाउँदै फाइनलसम्मै पुग्यो। जहाँ इजरायललाई इंग्ल्यान्डले ३-१ ले पराजित गरेको थियो।

इन्डोनेसियाली सरकारले इजरायलको टिमलाई पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने बताएको छ। इजरायलले खेल्ने सबै खेल हिन्दु बाहुल्य बालीमा खेलाउने योजना छ। ताकि इजरायली टिमको सुरक्षामा खतरा उत्पन्न नहोस्। तर त्यहाँका गर्भनर कोस्टरको अभिव्यक्तिपछि इन्डोनेसियाको यो योजना पनि संकटमा परेको छ।

इन्डोनेसियाले सन् २०२१ मै यो विश्वकप आयोजना गर्नुपर्ने थियो। तर कोभिड-१९ महामारीका कारण प्रतियोगिता यो वर्षका लागि तय भएको हो। कुल २४ टिम सहभागी हुने विश्वकप खेलाउन इन्डोनसियाले जकार्ता, सुराबाया, बान्डुङ, सुराकार्ता, जियानयार र पालेम्बाङ छानेको छ। जियानयार बाली प्रान्तको राजधानी हो।

इजरायलले यो विश्वकप खेल्न नपाए इन्डोनेसियाली फुटबल संघ फिफा प्रतिबन्धको खतरामा पर्ने बताइएको छ। त्यसो भए इन्डोनेसिया विश्वकप २०२६ को छनोटमा पनि सहभागी हुन पाउने छैन।

यस्तो सम्भावित परिस्थितिलाई टार्ने जिम्मेवारी पीएसएसआईका अध्यक्ष एरिक तोहिरको काँधमा छ। उनी इन्टर मिलानका पूर्वअध्यक्ष हुन्। रोचक त के छ भने, फिफा अध्यक्ष जियानी इन्फान्टिनो इटालियन क्लब इन्टरका समर्थक हुन्। तोहिर र इन्फान्टिनोबीच मित्रवत् सम्बन्ध रहेको बताइन्छ। यी अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका सदस्य पनि हुन्।

प्रकाशित: १३ चैत २०७९ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =