सुन्दर फुटबल खेल्ने जर्मनीको वाचा

हिमाल प्रेस १३ चैत २०७९ २०:२७
8
SHARES
सुन्दर फुटबल खेल्ने जर्मनीको वाचा मैत्रीपूर्ण खेलमा पेरुविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै जर्मनीका खेलाडी।

काठमाडौँ- सन् २०१४ मा विश्वकप जितेपछि जर्मन फुटबल लगातार ओरालो लागेको छ। विश्वकपका पछिल्ला दुई संस्करणका समूह चरण कट्न नसकेको जर्मनी युरो २०१६ को अन्तिम १६ बाट बाहिरिएको थियो।

कतार विश्वकपमा जम्मा एक खेल जितेको जर्मनी यतिबेला पुनरुत्थानको अभियानमा छ। प्रशिक्षक हान्सी फ्ल्कि चाहन्छन्, यो अभियानमा समर्थकको साथ रहोस्। उनी के पनि वाचा गरिरहेका छन् भने, जर्मनी अब समर्थकलाई उत्साहित बनाउने शैलीमा खेल्नेछ।

जर्मन टिम जसरी भए पनि जित्नेभन्दा सुन्दर फुटबल खेलेर जित्नेमा केन्द्रित हुने फ्ल्किको भनाइ छ। ‘हो, जितले अवश्य पनि टिमको मनोबल बढाउँछ। तर हामी खेल शैलीले समर्थकको मन जित्न चाहन्छौँ,’ फ्ल्किले भनेका छन्।

फ्ल्किको यस्तो योजनाको परीक्षा मंगलबार राति हुनेछ। किनभने जर्मनीको भेट बेल्जियमसँग हुँदैछ। फिफा विश्राममा जर्मनीको यो दोस्रो खेल हुनेछ। गत शनिबार जर्मनी दक्षिण अमेरिकी टिम पेरुसँग भिडेको थियो। मेन्जको मेवा एरिनामा जर्मनीलाई २–० को जित दिलाउन निकलस फल्कबर्गले दुई गोल गरेका थिए।

बेल्जियमसँगको खेल जर्मन टिमको क्षमता जाँच्ने अवसर हुने फ्ल्कि बताउँछन्। ‘बेल्जियम नयाँ प्रशिक्षकको नेतृत्वमा छ। प्रशिक्षक परिवर्तन भएपछि अवश्य पनि जुनै टिम पनि नयाँ स्वरुपमा हुन्छ। खेलाडीमा फरक जोेस हुन्छ। फेरि पछिल्लो समय बेल्जियमको टिममा स्तरीय खेलाडीको कमी भएको छैन,’ फ्ल्किले भनेका छन्, ‘यसकारण बेल्जियम विश्व फुटबलको बलिया टिममध्येको एक हो। यस्तो टिमसँग प्रतिस्पर्धा गर्दा, हाम्रो टिमको स्तर जाँच हुन्छ।’

बेल्जियम हाल युरो छनोट खेलिरहेको छ। समूह ‘एफ’ मा रहेको बेल्जियमले आफ्नो पहिलो खेलमा गत शनिबार स्विडेनलाई ३–० ले पराजित गरेका थिए। स्विडेनको मैदानमा बेल्जियमलाई सजिलो जित दिलाउन रोमेलु लुकाकु एक्लैले तीन गोल गरेका थिए।

युरो आयोजक भएका नाताले जर्मनीले छनोटमा भाग लिनु पर्दैन। यसकारण जर्मन टिम अर्को जुन–जुलाईमा हुने युरोपेली प्रतियोगिता अगाडि मैत्रीपूर्ण खेलमा मात्र व्यस्त हुनेछ।

प्रकाशित: १३ चैत २०७९ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =